१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सपना अधुरै छाडेर अस्ताए डा. राई

भुटानी शरणार्थी नेता डा. भम्पा राई भुटान फर्किएर ‘नागरिक’ बन्न चाहन्थे, तर ‘अनागरिक’ भएरै अस्ताए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:३९:oo

भुटानी शरणार्थी नेता डा. भम्पा राईको अन्तिम इच्छा स्वदेश फर्कने थियो । दुई वर्षअघि नयाँ पत्रिकासँगको कुराकानीमा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासले स्वदेश फिर्तीको अन्दोलन कमजोर भएकोमा निराश देखिन्थे । स्वदेश फर्कने सपना पूरा नहुँदै उनी अस्ताएका छन् । भुटानी राजाले देशविहीन बनाएको झन्डै तीन दशकपछि डा. राई ‘अनागरिक’ अवस्थामै अस्ताए । 

भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अगुवा डा. राईको शनिबार राति उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा ७५ वर्षको उमेरमा निधन भएको हो । नेपालीभाषी भुटानीको मायाले शरणार्थी जीवन रोजेर उनको परिवार सन् १९९१ मा नेपाल आएको थियो । भुटानकै पहिलो सर्जन डा. राई अरू नेपालीभाषीजस्तो लखेटिएका होइनन् । उनी भुटानका राजपरिवारको उच्च ओहोदाका डाक्टर थिए । ‘मलाई शरणार्थी हुनुपर्ने बाध्यता थिएन । यी भुटांगेको मायाले भुटानमा बस्न दिएन,’ उनले नयाँ पत्रिकासँग भनेका थिए, ‘उनीहरूलाई स्वदेश फर्कने संकल्प लिएर नेपाल आएँ ।’

भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रियकरण गर्न उनको ठूलो भूमिका छ । डा. राईलगायत नेताको पहलमा दातृ निकाय शरणार्थी शिविरमा पुगेको थियो । डा. राई तीन दशकदेखि दमकमा थिए । उनले भुटानी शरणार्थीको मात्र होइन, दमकका नागरिकको स्वास्थ्य उपचारमा पनि ठूलो योगदान पु¥याएका छन् । भुटानी शरणार्थीको त निःशुल्क जाँच गर्थे नै विपन्न नेपालीको पनि निःशुल्क स्वास्थ्य जाँच गर्थे । निःसन्तान राईकी आमा, बुबा, दिदी र श्रीमती पनि ‘अनागरिक’ भएर यही गुमाए । ‘मैले पनि अनागरिक भएरै मर्नुपर्छ,’ उनले भनेका थिए, ‘तर, इतिहासमा लेखियोस् । अनागरिक भएर मर्नुपर्ने कानुन कसले बनायो ? हामीले जस्तो देशविहीन भएर कसैले बाँच्न नपरोस् । म नेपाली नागरिकता दिए पनि लिन्नँ । मजस्तै स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काइयोस् ।’

भुटानप्रतिको प्रेम डा. राईमा उच्च थियो । उनी दमक–६ स्थित गजुरमुखी क्लिनिकमा काम गर्थे । क्लिनिकमा उनी बस्ने टेबलमा भुटानको झन्डा थियो । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्षसमेत रहेका डा. राई जीवनको अन्तिम क्षणसम्म स्वदेश फिर्तीकै आन्दोलनमा लागिरहे । उनले तीन दशकअघि भुटानबाट आँगनको माटो ल्याएका थिए । भुटानी शरणार्थीको मृत्यु हुँदा उनी पुगेको अन्तिम संस्कारमा त्यही माटो चढाउँथे । उनले पनि आफ्नो मृत्युपछि त्यही माटो चिहानमा राख्न भनेका थिए । ‘देशप्रति असाध्यै माया गर्ने मान्छे । उहाँले मृत्यु हुँदा भुटानको माटो चिहानमा राखिदिनु भन्नुभएको थियो,’ भुटानी शरणार्थी शिविरका पूर्वसचिव युवराज राई भन्छन्, ‘आफ्ना लागि पनि प्लास्टिकमा माटो राख्नुभएको थियो । चिहानमा त्यही माटो चढायौँ ।’

डा. राईले लामो दमकको गजुरमुखी क्लिनिकमा काम गरे । उनी झन्डै तीन दशक दमकमा डेरा गरेर बसे । पछिल्लो महिना उनलाई दमक नगरपालिकाले आवास सुविधा उपलब्ध गराएको थियो । 

 स्वदेश फिर्ती आन्दोलनले योद्धा गुमायो : रिजाल
भुटानी शरणार्थीहरूले स्वदेश फिर्ती आन्दोलनको एक अथक योद्धा गुमाएको शरणार्थी नेता टेकनाथ रिजाल बताउँछन् । ‘मेरो सन्तान भएन त के भयो, देश गुमाए त के भयो मेरो सिंगो समुदाय मसँग छ । उनीहरूलाई देश फर्काउँछु भन्नुहुन्थ्यो । तर, उहाँको संकल्प पूरा नहुँदै बित्नुभयो,’ रिजाल भन्छन्, ‘कतिले यसरी नै जीवन बिताए । अझै कतिले बिताउनुपर्ने हो टुंगो छैन । डा. राईको भुटांगे शरणार्थीप्रतिको प्रेम म वर्णन गर्न सक्दिनँ । उहाँको स्थान कसैले लिएको छैन, लिनै सक्दैन ।’

भुटानी शरणार्थीको प्रेमले नै भुटानको आलिसान जीवन त्यागेर शरणार्थी हुन डा. राई आएको उनका विद्यालयका साथी धनमान तामाङ बताउँछन् । ‘डाक्टरजस्तो मान्छे बुद्धि बिगारेर किन आएको भनेर म सोध्थेँ । हाम्रा दाजुभाइ सबै यतै छन्, मायाले आएको भन्थ्यो । राष्ट्रप्रतिको माया त कति–कति ! तर, के गर्ने देशले यस्तै बनायो,’ तामाङ भन्छन्, ‘दरबारको डाक्टर यो हालतले मर्‍यो ! के गर्ने देशको सेवा त गरेकै हो नि !’

 डा. भम्पाले आफैँ बनाएका थिए आफ्नो कफन
डा. डा. भम्पा राईको अन्त्येष्टि आइतबार किराँत परम्पराअनुसार गरिएको छ । उनले मर्नुअघि आफ्ना लागि कफन आफैँ तयार गरेका थिए । ‘१५ दिनअघि डाक्टरसा’बले अब बिरामी पनि हुन थालेँ के हो के, एउटा बाकस अर्डर दिनुपर्‍यो भन्नुभयो । ३६ हजारमा बाकस पनि अडर दिइयो,’ उनले काम गर्ने गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्रबहादुर कुँवर भन्छन्, ‘शनिबार बाकस तयार भयो । क्लिनिकमा उहाँको रुममा राखियो पनि । बाकस राखेपछि उहाँ साह्रै भएको खबर आयो । विराटनगर लगियो । बोल्दाबोल्दै राति बित्नुभयो ।’

ad
ad