मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format ११:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् अनियमित भएको भन्दै उपभोक्ताले कार्यकक्षमै थुने कर्मचारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

दाङमा विद्युत् अनियमित भएको भन्दै तुलसीपुरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई उपभोक्ताले कार्यालयमा थुनिदिएका छन्। कार्यालयभित्र काम गरिरहेको अवस्थामा तुलसीपुरका केही उपभोक्ताले कार्यालय प्रमुखको कार्यकक्ष र कार्यालय भवनको गेटमा तालाबन्दी गरेका हुन्।

आइतबार बिहान १० बजेतिर उनीहरूले तालाबन्दी गरेका हुन्। लामो समयदेखि विद्युत् अनियमित हुँदा गर्मीले सताउनुका साथै व्यवसाय नै चौपट हुने अवस्था आएपछि तालाबन्दी गर्न बाध्य भएको उपभोक्ताको गुनासो छ। ‘लामो समयदेखि झ्याप्पझ्याप्प विद्युत् जाँदा निकै समस्या हुन थाल्यो,’ तुलसीपुरनिवासी ईश्वरीप्रसाद गैरेले भने, ‘त्यसैले हामीले तालाबन्दी गरेका हौँ ।’

विद्युत् आउने र जाने क्रम नियमित हुँदा आजित भएपछि केही दिनअघि पनि विद्युत् कार्यालयलाई ज्ञापनपत्र बुझाएको तुलसीपुरनिवासी वसन्त गिरीले बताए। उनका अनुसार त्यो ज्ञापनपत्रबारे कुनै चासो नदिएको र विद्युत् अनियमितता भइरहेकाले तालाबन्दी गरिएको हो।

लोडसेडिङ भए पनि त्यसको सूचना जारी गरी तालिका सार्वजनिक गर्नुपर्ने स्थानीय रेसम बस्यालले बताए। ‘विद्युत् नियमित जाने अवस्था रहे त्यसको सूचना जारी गरेर तालिका सार्वजनिक गर्नुपर्ने हो,’ उनले भने, ‘तर, त्यस्तो नहुँदा हामी मारमा परेका छौँ।’ आफ्नो माग पूरा नहुँदासम्म ताला लगाउने उनले बताए।

युवा संघद्वारा ज्ञापनपत्र
विद्युत् नियमित गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ। आइतबार कार्यालयमै पुगेर संघले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष रामप्रसाद चालिसेले छिटो यो समस्या समाधान हुनुपर्ने बताए। त्यसका लागि संघले कर्मचारीदेखि अन्य आवश्यक सहयोग गर्नेसमेत बताए। विद्युत् अनियमित हुँदा उद्योगधन्दा सञ्चालनमा समस्या रहेको छ।

ज्ञापनपत्र बुझ्दै तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्सालले विद्युतकाे यो समस्यामा आफूहरू गम्भीर रहेको बताए। अहिले देशका विभिन्न ठाउँमा चट्याङ्, हावाहुरीलगायतका समस्याले विद्युत् अनियमित हुने गरेको उनले बताए। अन्य ठाउँमा समस्या हुँदा त्यसले तुलसीपुरलाई पनि असर गर्ने उनको भनाइ छ।

तुलसीपुरमा विद्युत् भोल्टेजको समस्या भने नभएको उनले बताए। बबईको च्याटीखोलामा १३२ केभी लाइन तुलसीपुर आएकाले भोल्टेजको समस्या नभएको र विद्युत् अभाव पनि नरहेको उनको दाबी छ। साथै, उनले तुलसीपुरको कृष्णनगर र आँखा अस्पतालको विद्युतकाे समस्या हल गर्न दुईवटा ट्रान्सफर्मर जडानको काम अगाडि बढाउन लागिएकोसमेत बताए।

त्यस्तै, मानपुर, बिजौरी, एयरपोर्ट, फूलबारीको समस्या समाधानका लागि पनि बजेट ल्याउने प्रक्रिया अघि बढेको फर्सालको भनाइ छ।