१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
विजयबाबु शिवाकोटी
२o८१ जेठ ५ शनिबार o७:oo:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नागरिक आक्रोशको दिगो निकास 

ठूला सहरको निर्वाचन परिणामले मत आफ्नो पक्षमा पार्ने स्थापित पार्टीहरूको परीक्षित तरिकालाई मतदाताले बेवास्ता गरेको देखियो

Read Time : > 4 मिनेट
विजयबाबु शिवाकोटी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:oo:oo

पत्रकार रमेशकुमार स्थानीय निर्वाचनमा मत हाल्न आफ्नो गृहजिल्ला रसुवा जाँदा चुनावमा भएका गतिविधिबारे ट्विटरमा यस्तो लेख्छन्, ‘भने अन्यत्रकाले पत्याउँदैनन्, एउटा भोटको २० हजार रुपैयाँसम्ममा किनबेच भएछ, गाउँमा । ६ भोट भएको परिवारले ७५ हजार रुपैयाँसम्म पाएछ । चुनावको दिन पोस्टपेड भुक्तानी, मत दिएको फोटो देखाएर पैसा लिने दृश्य नि देखियो । के हुन खोज्यो गाँठे । (सबै दल नै यस्तो कृत्यमा संलग्न देखिए) ।’ 

पर्सा र बाराका केही स्थानीय तहमा राम्रै प्रभाव भएका र पार्टीको चुनावी अभियानमा त्यहाँ पुगेर आएका एक दलका पदाधिकारीले टेलिफोन संवादमा भने, ‘तराईका जिल्लामा त चुनावनजिक मान्छेहरूका घरमा भातै पाक्दो रहेनछ । सबै भोजभतेरमा जाने र जान नसक्नेलाई घरमै प्लास्टिकका झोलामा खाना ल्याइदिने । माछा र मासु भाग लगाएर घरमै पठाइदिने चलन रहेछ । चुनावमा मतदान गरेपछि खाना त सबैले अपेक्षा गर्दा रहेछन्, कतिले त भोट हाल्न जानुअगाडि सोध्दा रहेछन् । भोजभतेर नै लगाउन नसके पनि जेरी र मुराईचाहिँ दिनैपर्ने रहेछ । त्यतिचाहिँ न्यूनतम अपेक्षा हुँदो रहेछ । हामीले त्यसो गरेनौँ र केही वडामा दुई अंकको मतान्तरले हा¥यौँ । पहाडमा त झनै खराब स्थिति छ, बियर र मासु दिनैपर्ने ।’

उल्लिखित यी दुई दृष्टान्तले चुनावलाई हाम्रो समाजले कसरी हेर्दो रहेछ भन्ने चित्र देखाउँछ । यहाँ उल्लिखित कुरा नयाँ परिघटना होइनन् तर यस परिस्थितिका लागि कुनै अमुक पार्टीको जिम्मेवारीको कुरै होइन, यसले त अहिलेको राजनीतिक प्रणालीमा सक्रिय मुख्य खेलाडीहरूको मनस्थिति र हाम्रा मतदाताको अपेक्षालाई देखाउँछ । यो राजनीतिक दलदलको अवस्थाले हामीले निर्वाचनलाई कस्तो तरिकाले बुझ्दा रहेछौँ र यसको वास्तविक उद्देश्यभन्दा (जनताका लागि निष्पक्ष, अनुचित दबाब र प्रभावमा नपरीकन जनताका प्रतिनिधि छान्ने प्रणाली) कति टाढा रहेछौँ भन्ने पनि देखाउँछ । 

प्रायः देशभरि यस्ता घटना भइरहँदा र काठमाडौं, धनगढी, धरानजस्ता ठूला सहरको परिणामले मतलाई आफ्नो पक्षमा पार्ने स्थापित पार्टीहरूको परीक्षित तरिकालाई बेवास्ता गर्दै मतदाताले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको देखाएको छ । जनकपुरजस्ता अन्य ठाउँमा पनि स्वतन्त्र उम्मेदवारहरूले राम्रो गरेको देखिँदा त्यो सफलताचाहिँ पार्टीबाट उम्मेदवारी नपाएकाहरूले पार्टी संगठन प्रयोग गरी ल्याएको नतिजा जस्तो देखिएको छ । र, गठबन्धनका कारणले तथा आफ्नै पार्टीले नछान्दा केही ठाउँमा पार्टीहरूसँग विद्रोह गरेका घटनाले पनि राजनीतिलाई तरंगित बनाएको छ र त्यसले गर्दा यी दुवै पक्षमा पार्टीहरूलाई पुनर्विचार गर्न यथेष्ट स्थान रहेको छ । 

स्वतन्त्र उम्मेदवारहरूमा धनगढी उप–महानगरपालिकाका गोपी हमाल लामो समयदेखि त्यहाँ व्यवसाय, सामाजिक तथा परोपकारी कार्यहरू गरेर स्थापित व्यक्ति हुन् र अघिल्लो निर्वाचनमा पनि झन्डै जितेका उम्मेदवार हुन् । उनले अघिल्लो पाँच वर्ष मैदानमै खटेर नागरिकसँग अन्तत्र्रिmया गरे र निर्वाचन प्रणालीमा यसपालि आफ्नो अन्तिम संलग्नता हुने भनेकाले पनि उनको पक्षमा निर्णायक मत आउनुको एउटा कारण हुन सक्छ । तर, काठमाडौं महानगरपालिकामा ०७४ र अहिलेको निर्वाचनमा देखिएको मतलाई यहाँका मतदाताको परिवर्तन खोज्ने चाहना र त्यसमा स्थापित राजनीतिक दलहरूलाई नपत्याएको प्रस्टै देखिन्छ ।

अघिल्लोपटकको स्थानीय निर्वाचनमा राजनीतिक पार्टी भए पनि स्वतन्त्र चुनाव चिह्न लिएर लडेका विवेकशील नेपाली पार्टी तथा साझा पार्टी समर्थित उम्मेदवारले त्यसको लाभ लिए । त्यसपछिको संघीय तथा प्रादेशिक निर्वाचनमा ती दुवै पार्टी मिलेर बनेको विवेकशील साझाले त्यसको लाभ लियो । अहिले चाहिँ स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएका बालेन शाहले त्यसको लाभ लिएका छन् । उनले चाहिँ मतदातालाई विश्वास दिलाएको देखियो । त्यसले राजनीतिमा एक खालको तरंग नै ल्यायो । परिणामतः उनी स्थापित दलका स्थापित नेताहरूलाई समेत पछि पारेर काठमाडौंको मेयर बन्न सफल भएका छन् । 

स्थापित तथा प्रभावशाली राजनीतिक दलहरू तथा नयाँ आउन खोजेका विवेकशील आन्दोलनका सबै भंगालोहरूबाट पनि दिक्क भएका नागरिकका लागि अहिलेको विकल्प भनेको स्वतन्त्र उम्मेदवार देखिए । धनगढीमा गोपी हमाल त विवेकशील साझा पार्टीको प्रदेश संयोजकको पद छाडेर मेयरको चुनावमा सहभागी हुन गए । विवेकशील साझाको गति अघिल्लो निर्वाचनबाट स्वाभाविक लयमा गएको भए अहिले त्यो धेरैको आकर्षण बन्ने थियो । त्यसो हुन नसक्नुमा त्यसमा सहभागी सबै र यो पंक्तिकारसमेत आफ्नो हिस्साको दोषी हो । अब विवेकशील साझा त्यो विकल्प बन्न नसक्ने गरी थलिएको छ । त्यसो भए यसको विकल्प के त ? 

प्रभावशाली राजनीतिक दल तथा विवेकशील आन्दोलनका सबै नयाँ भंगालोहरूबाट पनि वाक्कदिक्क भएका नागरिकका लागि अहिलेको विकल्प भनेको स्वतन्त्र उम्मेदवार नै देखिए

नेपाली राजनीतिको मूल समस्या भनेको हाम्रो राजनीतिक पारिस्थितिक प्रणाली नै हो । राजनीतिक नेतृत्व तथा नागरिकले परस्परमा एकअर्काप्रति गर्ने व्यवहार तथा अपेक्षा र उनीहरूप्रति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखाउने सोच र राजनीतिक तथा सामाजिक रूपमा केही कार्यलाई स्वाभाविक ठान्ने (अलिअलि भ्रष्टाचार, चुनावमा आममतदातालाई भोजभतेर गर्ने, चुनावमा उम्मेदवारले इन्तजाम गरेको गाडीमा भोट हाल्न जाने आदि) भन्ने बुझाइले नै अहिलेको राजनीतिले सेवाप्रवाह गर्न नसकेको हो । चुनावमा हुने यी लगानीले विजेतालाई त्यसको सावाँ र प्रतिफल खोज्नु स्वाभाविक हो । त्यसले गर्दा नागरिकका अपेक्षा पूरा हुन कठिन हुन्छ । एक–दुई ठाउँमा अपवाद भए पनि हामीले फड्को मार्ने गरी अगाडि बढ्न नसक्नुमा हाम्रो समाजको राजनीतिक सोच तथा व्यवहार नै मूल कारक हुन् । 

विवेकशील नेपाली अभियानले सुरु गरेको र त्यस बाटामा त्यो अभियानसँग जोडिएर र छुट्टै हिसाबले यस समस्याको गुत्थी पहिल्याउन खोजेका अन्य प्रयास पनि असफल हुनुका कारणको समीक्षा गर्दै अब पारदर्शी रूपमा काम गर्न सक्ने पार्टी स्थापना गर्ने वा भएकालाई अगाडि बढाउँदा त्यो राजनीतिक पारिस्थितिक प्रणालीलाई धक्का पुग्छ । त्यसो गर्नका लागि राजनीतिक दल तथा अभियानलाई सञ्चालन गर्ने वित्तीय पाटोलाई पनि पारदर्शी रूपमा अगाडि बढाउने तथा आम तहबाट योगदान गर्ने किसिमको हुनुपर्छ । त्यसले नै अहिले चलिरहेको राजनीतिक पारिस्थितिक प्रणालीलाई भत्काउन सक्छ र नागरिकहरूको आक्रोशलाई एउटा निकास दिन सक्छ । 

त्यसो नहुने हो भने अहिले स्वतन्त्रहरूले हासिल गर्ने देखिएको सफलता एक अपवादका रूपमा मात्रै रहन सक्छ । उनीहरूले जितेर विभिन्न कारणले सेवा प्रवाहमा सफलता हासिल गर्न सकेनन् भने त्यसले अहिलेको विद्यमान राजनीतिक पारिस्थितिक प्रणालीलाई झन् फाइदा पुग्छ, किनकि नागरिकले उनीहरूको विकल्पको प्रभावकारितामा विश्वास गर्न सक्दैनन् । त्यसले गर्दा स्वतन्त्रमा खडा भएका, स्वतन्त्र भई जितेका उम्मेदवारहरू, यस राजनीतिक प्रक्रियामा संलग्न भएका र हुने चाहना राखी सार्थक हस्तक्षेप गर्न खोज्नेहरूले पनि आफ्ना विचारलाई एउटा सूत्रमा बाँध्दै सांगठनिक संरचना निर्माण गर्नु जरुरी देखिन्छ । त्यस्तो अभियानले आगामी प्रादेशिक तथा संसदीय निर्वाचनमा धेरै हस्तक्षेप नगर्न सक्छ, तर त्यसलाई सुरुवाती बिन्दु मानी अगाडि बढ्दा उपयुक्त हुन्छ । 

कहिलेकाहीँ अपवादलाई नै नियम मानेर अगाडि बढ्न खोज्दा पनि चाँडै दुर्घटना हुन सक्छ । हामीले खोजेको परिवर्तनलाई हासिल गर्ने परिस्थिति बनिसकेको छ कि छैन, त्यसको मूल्यांकन गर्नु पनि उत्तिकै महŒवपूर्ण हुन्छ । सन् २०११ तिर इजिप्टको तहरिर स्क्वायरलाई केन्द्रबिन्दु बनाएर तानाशाह फाल्ने जनक्रान्ति भएको देखेर यता क्रान्ति सुरु गर्न खोज्नेहरूको पनि कमी थिएन । हामी युक्रेन, श्रीलंकाहरूको उदाहरणबाट धेरै पाठ सिक्न खोज्छौँ, हाम्रा सन्दर्भहरू उनीहरूसँग मिलून् कि नमिलून् । यी कुरालाई मनन गर्दै लामो यात्राका लागि तयार रहने हो भने हामीले बनाउने संरचना दिगो राजनीतिक यात्राका लागि जगहरू बन्न सक्छन् । 

राजनीतिक पहलकदमीमा संलग्न हुने हो भने धैर्यशील हुन जरुरी छ किनकि यो कसैले आफ्नो सम्बन्धले सरकारी ठेक्का पारेकोजस्तो वा मेसिन बनाएर कुनै परिणाम निकालेको जस्तो तरिकाले हुने परिवर्तन होइन । यसमा त सामाजिक अन्तत्र्रिmयाको आवश्यकता हुन्छ र मानिसका लामो समयदेखिका स्वभाव तथा संस्कृतिलाई परिवर्तन गर्नुपर्ने हुन्छ । सामाजिक रूपमा संस्कार तथा व्यवहार नफेरिने हो भने राजनीतिक परिवर्तन भए पनि त्यो दिगो नहुन सक्छ ।

हामीले राजनीतिक र सामाजिक विषयलाई सँगसँगै लगे मात्रै हामीले हासिल गरेका सफलता दिगो हुन्छन्, किनकि सकारात्मक सामाजिक तथा राजनीतिक परिवर्तन एउटै रथका दुई पांग्रा हुन् । साथै यो पनि हो कि अल्पकालमा आउन सक्ने सफलताको उपयोग गर्न वा त्यसलाई हासिल गर्न तयार नरहने भन्ने होइन र त्यो गर्न पनि खुला दिलले स्विकार्नुपर्छ । यसरी राजनीतिक तथा सामाजिक सुझबुझसहित अगाडि बढ्न सकिएन भने हाम्रा पहल र नागरिक आक्रोशका परिणाम फगत पानीका फोका साबित हुन सक्छन् र नागरिकहरू नयाँ–नयाँ प्रयोग गर्न बाध्य भई नै रहनेछन् । (लेखक नेपाल विवेकशील पार्टीका प्रवक्ता हुन्)

ad
ad