Skip This
म ९९ प्रतिशत सफल भएँ : प्रेम आले (अन्तर्वार्ता)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:५१:oo
Read Time : > 3 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

म ९९ प्रतिशत सफल भएँ : प्रेम आले (अन्तर्वार्ता)

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५१:oo

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको सचिवालय बैठकले नयाँ मन्त्रीको समेत टुंगो लगाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेका प्रेम आलेसँग करिब आठ महिनामा गरेका काम–कारबाही र पार्टीले फिर्ता बोलाएको विषयमा केन्द्रित रहेर नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरेको गरेको कुराकानी : 

पार्टीले तपाईंलाई मन्त्रीबाट फिर्ता बोलाएको छ, यसलाई कसरी लिनुहुन्छ ? 
म पार्टीको निर्णयमा सहमत छु। सुरुमा हामीलाई पार्टीले ६ महिना कार्यकाल दिने भनेको थियो। त्यसअनुसार मेरो कार्यकाल दुई महिनाअघि नै सकिएको थियो। तर, पार्टीले थप दुई महिना काम गर्नको लागि समय थपिदियो । यसलाई म अवसर र मौकाको रूपमा लिन्छु। मेरो कार्यकाल र पार्टीले फिर्ता पठाएकोप्रति म खुसी नै छु। सहज रूपमा काम गर्ने वातावरण प्रदान गरेकोमा म पार्टीलाई धन्यवाद पनि दिन चाहन्छु। 

पार्टीले मन्त्रीबाट फिर्ता बोलाउने भएपछि तपाईं पार्टी कार्यालय धाउनुभयो, अब पार्टी नै छाड्ने तयारीमा हुनुहुन्छ भन्ने हल्ला सुनिन्छ नि ? 
त्यो हल्ला मात्रै हो। मलाई पार्टीले के नराम्रो गरेको छ र ? मलाई झन् दुई महिना धेरै समय काम गर्न दिएको छ। मलाई त्यस्तो कुनै खालको लगाम लगाएर पार्टीले काममा अवरोध पुर्याएन। र, म एक प्रतिशत पनि दुःखी छैन। पार्टीकै कारण मैले मन्त्री बनेर काम गर्ने अवसर पाएको हुँ। त्यसकारण पार्टीप्रति म सकारात्मक नै छु ।

तपाईंले आठ महिना पयर्टनमन्त्री भएर काम गर्नुभयो, आफ्नो कार्यकाललाई आफैँले मूल्यांकन गर्दा कति नम्बर दिनुहुन्छ ?
मलाई दिइएको हैसियत र जिम्मेवारीअनुसार काम गरेँ। हिजो पार्टीले नै मन्त्री बनायो, आज पार्टीले मजस्ता काम गर्न सक्ने साथीहरूलाई स्थान दिन मसँग सहमति पनि गर्यो। त्यो मान्नुपर्छ। र, मैले अरू साथीहरूलाई पनि स्थान दिनुपर्छ भनेर बुझेको छु। यो निकै राम्रो कुरा हो। वास्तवमा मैले मेरो कार्यकाललाई निकै नै स्मरणीय र प्रभावकारी बनाउन सकेँ। मेरा कामहरूले मेरो नामलाई पनि परिचित बनायो। र, हिजो भएका धेरै बेथितिहरू कम भए। पयर्टन क्षेत्रमा इतिहासमै सम्भवतः राम्रो काम भयो। यसको मूल्यांकन सबैले गरिरहनुभएको पनि होला। मेरो कार्यकाललाई म आफैँले १०० मा ९९ प्रतिशत राम्रो भयो भन्ने ठान्छु । 

तपाईंले मन्त्री बनेर के–के काम गर्ने योजना बनाउनुभएको थियो र के–के पूरा भए ? 
मलाई लाग्छ, म मन्त्री भएपछि धेरै नै काम भए। सायद यति काम गर्न सकिन्छ भनेर मैले सोचेको पनि थिइनँ। तर आँट, साथ र सहयोग मिल्ने हो भने एउटा मन्त्रीले धेरै काम गर्न सक्ने रहेछ। मैले आठ महिनामा गरेका काम कहिल्यै नमेटिने किसिमका छन्। किनभने मैले विगतमा भएको गलत कामलाई सच्याइदिएको छु। शक्तिको आडमा भएको गलत सम्झौताहरू रद्ध गर्ने र कारबाही गर्ने प्रयास गरेको छु। अन्य थुपै नयाँ योजनाका काम अघि सारेको छु। भैरहवा विमानस्थल मेरै कार्यकालमा सम्पन्न भयो। अब अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। त्यस्तै, त्रिभुवन विमानस्थललाई पनि मैले व्यवस्थित पारेँ। यात्रुहरूका दुःख सम्बोधन गरेँ । अन्य पर्यटन, संस्कृति र हवाई क्षेत्रमा थुप्रै सकारात्मक काम भएका छन्। 

आठ महिनाको अवधिमा आफूले गरेकामध्ये सबैभन्दा महत्वपूर्ण काम कुन हो जस्तो लाग्छ ? 
सबैभन्दा महत्वपूर्ण त नारायणहिटी दरबार संग्रहालयको १४ रोपनी जग्गा दुरुपयोग हुनबाट मैले रोकेँ। हिजो भएको बदमासीलाई कारबाहीको दायरामा ल्याएँ। अवैध संरचना भत्काएँ। एउटा ऐतिहासिक ठाउँलाई जोगाउन सकियो। बतास समूहलाई पशुपति धर्मशाला र दरबार संग्रहालयबाट निकाल्ने काम नै ठूलो हो जस्तो लाग्छ। त्यस्तै, क्यासिनोहरूबाट रोयल्टी संकलनको काम भयो। क्यासिनोबाट एक अर्ब ५ करोड राजस्व संकलन भएको छ। त्यस्तै कतिपयको  लाइसेन्स खारेज गरेँ। त्यसबाहेक अन्य थुप्रै काम भएका छन्। मैले गरेका कामको जस पार्टीलाई जान्छ र मलाई यो मौका दिनुभएकोमा पार्टीका श्रद्धेय अध्यक्षज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। 
त्यस्तै मैले नेपाल एयरलाइन्सलाई धेरै नै सुधार गरेको छु। सञ्चय कोषबाट लिएको ऋण घटाएँ। एयरलाइन्स टाँट पल्टने अवस्था थियो । त्यसलाई जेनतेन बनाएँ। कोभिड अवधिपछि नेपाल एयरलाइन्स धेरै नै व्यवस्थित बन्यो । सकेसम्म धेरै उडान तालिका बनाइयो । अझै पनि निजीभन्दा नेपाल एयरलाइन्सकै उडाउन बढाउने कोसिस भइरहेका छन्। र, अब किस्ता तिर्न पनि हामी तयार भएका थियौँ । बाँकी काम अब आउने मन्त्रीज्यूले गर्नुहुनेछ भन्ने आशा लिएको छु। 

तपाईंले बतास समूह, पर्यटक बोर्डका सिइओ, क्यासिनो, होटेललगायतलाई कारबाही त गर्नुभयो, तर उनीहरू न्याय माग्दै अदालत पुगे नि ? 
यो चाहिँ दुर्भाग्य हो भन्नुपर्छ। 

तपाईंले गर्न बाँकी अधुरा काम काम के–के छन् ?  
बाँकी काम पनि धेरै नै छन् । अब पुनः त्यस्तो समय आयो र ठाउँमा पुगियो भने गरिएला पनि । तर मैले जुन काम गर्ने योजना बनाएको छु, ती योजनाअनुसार काम गर्न अब आउने मन्त्रीज्यूलाई आग्रह गर्छु । आउने मन्त्रीज्यूले मेरा अधुरा काममा पनि चासो दिनु हुनेछ भन्ने आशा लिएको छु । 

यसअघि आफ्नो अभिव्यक्तिका कारण तपाईं विवादमा पनि आउनुभयो, मन्त्रीले जस्तोसुकै अभिव्यक्ति दिन वा बोल्न मिल्छ र ?
त्यसो होइन, काम गर्ने बेला सामान्य त्रुटि हुन्छ। म मगरको छोरो हुँ। सामान्य आवेगमा आएर बोलेको हुँ। तर, मैले पदीय दुरुपयोग गरेको छैन। नराम्रो कामको रेकर्ड राखेको छैन। 

उसो भए तपाईं आफ्नो कार्यकाल सफल भएको ठान्नुहुन्छ ?
म आफ्नो कार्यकाल निकै नै उत्साहजनक र फलदायी भएको ठान्छु। वास्तवमा मान्छेको सबैभन्दा पहिलो सर्त इमान्दारिता नै हो। अझ माथिल्लो पदमा बसेको व्यक्ति धेरै नै इमान्दार र जवाफदेही हुनुपर्छ। त्यति गरियो भने आफ्नो काम राम्रो हुन्छ र जनताले पनि राम्रो मूल्यांकन गर्छन् जस्तो लाग्छ। अर्को कुरा मन्त्रीको सचिवालय पनि व्यवस्थित र सक्रिय हुनुपर्छ। पर्यटन मन्त्रालयको सचिवालय सक्रिय नै छ। कर्मचारी उत्साहित र सहयोगी किसिमका छन्। यति भएकोले नै राम्रो काम गर्न सकिएको हो जस्तो लाग्छ ।