१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२o:oo

स्थानीय तह निर्वाचनमा विभिन्न पालिकाबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई माओवादी केन्द्रले प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण आयोजना गरिएको माओवादीले जनाएको छ । प्रशिक्षणमा देशका विभिन्न नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी दुई सय ४७ जनप्रतिनिधि सहभागी छन् ।

स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका केही जनप्रतिनिधि पनि सहभागी रहेको माओवादीले जनाएको छ । काठमाडौंको कुमारी हलमा बुधबारबाट सुरु प्रशिक्षण बिहीबार सकिनेछ । उनीहरूलाई पार्टीका विभिन्न विभागका प्रमुख तथा स्वतन्त्र रहेका विषयविज्ञले प्रशिक्षित गरी समाजवादको आधार तयार गर्न प्रशिक्षण आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । दुई दिनमा स्थानीय सरकार सञ्चालन, बजेट तथा कानुन निर्माण, सेवा प्रवाह, सुशासन, स्वास्थ्य, शिक्षा, विकास निर्माणलगायत विषयमा प्रशिक्षण राखिएको छ । माओवादीले यसअघि ०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई तीन दिन प्रशिक्षण दिएको थियो । 

 कांग्रेसमा दम्भ बढेको छ, एमालेलाई जस्तै ठेगान लगाउनु नपरोस् : प्रचण्ड 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनको परिणामबाट उत्साही कांग्रेसमा दम्भ र अहंकार बढेको जिकिर गरेका छन् । दम्भ र अहंकार नत्यागे एमालेलाई जस्तै ठेगान लगाउने चेतावनीसमेत दिएका छन् । बुधबार प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै प्रचण्डले त्यस्तो चेतावनी दिएका हुन् । स्थानीय निर्वाचनबाट जनताले माओवादीलाई निर्णायक शक्तिका रूपमा जनमत दिएको संकेत गर्दै प्रचण्डले कांग्रेसमा दम्भ र अहंकार पलाए अर्को विद्रोह गर्न पनि तयार रहेको प्रस्ट चेतावनी दिए । ‘हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्यका साथ गरेको हो, तर नेतृत्वमा यति धेरै अहंकार आयो कि हामी विद्रोह गर्ने ठाउँमा पुग्यौँ । अहिले कांग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ,’ प्रचण्डले भने । 

 ओलीको मन रोएकै छ, एमाले चैनमा छैन 
स्थानीय तह निर्वाचनमा माओवादीले सोचेभन्दा राम्रो परिणाम ल्याएपछि एमाले बेचैनीमा रहेको भन्दै प्रचण्डले बाहिर जे बोले पनि अध्यक्ष केपी ओलीको भित्री मन रोएको दाबी गरे । ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन रोएकै छ । एमाले अहिले चैनमा छैन,’ प्रचण्डले भने, ‘वैशाख ३० पछि गुगलमा भेटिन्छ माओवादी भन्नेहरूका अगाडि माओवादी पूरा शक्तिका साथ खडा भएको छ ।’

प्रचण्डले जनतामा माओवादीका नेता पार्टी अरू 
संसद्वादी दलभन्दा पनि कमजोर र खराब हुन् कि भन्ने तहसम्म छाप पर्न थालेको भन्दै गम्भीर बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई सचेत गराए । ‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ । हुन त हामीले दस्तावेजहरूमा क्रान्तिकारी हौँ भन्ने व्याख्या विश्लेषण गरेका छौँ । क्रान्तिकारी विरासतप्रति गौरव पनि गर्छौं,’ प्रचण्डले भने, ‘तर, यता क्रमशः अरू संसद्वादी पार्टी र माओवादीबीचको अन्तर मेटिँदै गएको छ ।

अझ कतिपय अवस्थामा माओवादीका जनप्रतिनिधि अझ कमजोर, खराब हुन् कि भन्ने जनतालाई पर्न गएको छ । विचलनतिर जाने हो कि, व्यक्तिगत स्वार्थतिर जाने हो कि भन्ने जनतालाई चिन्ता छ ।’ प्रचण्डले काठमाडौंमा बालेन्द्र साह र धरानमा हर्क साङपाङले विगतमा माओवादीले जस्तै भिन्न एजेन्डा उठाउँदा जनताले साथ दिएको जिकिर गरे । तर, जनकपुर र धनगढीमा जितेका मेयरहरू भने स्वतन्त्र नभएर पार्टीकै कार्यकर्ता भएको बताए । ‘धनगढी र जनकपुरका निर्वाचित मेयर स्वतन्त्र हुन् पनि, होइनन् पनि । काठमाडौं र धरानमा दुई मान्छेचाहिँ भिन्न ढंगले आए । उनीहरूले माओवादीले जस्तै भिन्न एजेन्डा उठाएका छन्, त्यसकारण जनताले उनीहरूलाई मत दिएका हुन्,’ उनले भने । 

ad
ad