१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o६:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

हवाई यात्रा पनि महँगियो ,कहाँको कति ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२८:oo

नेपाल आयल निगम (एनओसी)ले हवाई इन्धनको मूल्य बढाएपछि हवाई यात्रा पनि महँगिएको छ । आइतबार निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानमा चार सय ४५ रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ । निगमले पछिल्लो १० दिनमा हवाई इन्धनको मूल्य लिटरमै २० रुपैयाँ बढाएर एक सय ६६ रुपैयाँ पुर्‍याएको छ । स्थानीय तह निर्वाचनलगत्तै ३१ वैशाखमा १० रुपैयाँ र ८ जेठमा पुनः १० रुपैयाँ बढाएको छ ।

नयाँ भाडादरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी उडानमा प्रतियात्रु चार सय ४५ रुपैयाँ बढेको छ । बुधबारदेखि काठमाडौं–धनगढी उडानमा प्रतियात्रु अधिकतम हवाई भाडा १५ हजार ६ सय ६५ रुपैयाँ कायम हुनेछ । काठमाडौं–नेपालगन्ज हवाई भाडा तीन सय २५ रुपैयाँ बढेर १२ हजार आठ सय ९५ रुपैयाँ पुगेको छ । काठमाडौं–भद्रपुर उडानमा हवाई भाडा तीन सय रुपैयाँ बढेर ११ हजार नौ सय ३५, काठमाडौं–विराटनगर उडानमा दुई सय ४० रुपैयाँ बढेर नौ हजार तीन सय २५, काठमाडौं–जनकपुर उडानमा एक सय ३० रुपैयाँ बढेर पाँच हजार दुई सय ५० रुपैयाँ हवाई भाडा पुगेको छ ।

यस्तै, काठमाडौं–भरतपुर उडानमा प्रतियात्रु एक सय १० रुपैयाँ हवाई भाडा बढेर चार हजार चार सय ३५ रुपैयाँ पुगेको छ भने काठमाडौं–पोखरा उडानमा एक सय ६० रुपैयाँ बढेर ६ हजार तीन सय पाँच, काठमाडौं–भैरहवा उडानमा दुई सय पाँच रुपैयाँ बढेर सात हजार आठ सय ८०, काठमाडौं–तुम्लिङटार उडानमा एक सय ८५ रुपैयाँ बढेर सात हजार चार सय ६० र काठमाडौं–सिमरा उडानमा ९० रुपैयाँ बढेर तीन हजार सात सय २५ रुपैयाँ हवाई भाडा पुगेको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको हवाई भाडा प्रतियात्रु तीन सय ४० रुपैयाँ बढाएर १३ हजार सात सय ६५ रुपैयाँ तोकेको संघले जनाएको छ । पछिल्लो समय हवाई इन्धनको मूल्य निरन्तर बढ्दा हवाई भाडा पनि बढिरहेको संघले जनाएको छ । संघले फ्युल सरचार्ज, उडान सञ्चालन खर्च, नाफा र प्रतियात्रु दुई सय रुपैयाँ एयरपोर्ट ट्याक्स जोडेर हवाई भाडा तय गर्दै आइरहेको छ ।

ad
ad