मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ८ आइतबार ०९:३१:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झापामा राप्रपाको रणनीतिक जित, काठमाडौं उपत्यकामा पहिलोपटक मेयर

Read Time : > 4 मिनेट
२०७९ जेठ ८ आइतबार ०९:३१:००

०७४ को तुलनामा चार दोब्बर मत बढेको दाबी, प्रदेश र संघीय निर्वाचनमा लाभ लिने रणनीति

राप्रपाले स्थानीय तहको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार चार स्थानीय तहमा प्रमुख, चार तहमा उपप्रमुख, ६५ वडाध्यक्ष र ३६७ वडासदस्य जितेको छ । राप्रपाले तीन नगरपालिकामा मेयर र एक गाउँपालिकामा अध्यक्ष, दुई नगरपालिकामा उपमेयर र दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

यसमध्ये झापाको दमकमा राप्रपाको जित रणनीतिक छ भने काठमाडौं उपत्यकामा पहिलोपटक मेयर पाएको छ । सत्तागठबन्धनसँगको सहकार्यमा दमकमा राप्रपाका राम थापा मेयर बनेका छन् । थापाले १७,५२५ मत पाउँदा एमाले उम्मेदवार गीताकुमारी पौडेल अधिकारी १६,९६६ मतमा सीमित भइन् ।

मेयरमा थापाको जित पार्टीका लागि रणनीतिक रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । दमक एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा पर्छ । एमाले अध्यक्ष ओलीको गृहनगरसमेत रहेकाले गठबन्धनले यसलाई आफ्नो पक्षमा पार्ने रणनीति बनाएको थियो । माडीमा उपमेयर लिएर एमालेस“ग गरेको तालमेलमा भने राप्रपालाई सफलता मिलेन । मेयर भने एमालेले जितेको छ । 

झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका रवीन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । सोही गाउँपालिकामा उपप्रमुखमा लक्ष्मी मैनाली, भद्रपुर नगरपालिकाको उपप्रमुखमा राधा कार्की, नवलपरासीस्थित रामग्राम नगरपालिकाको उपप्रमुखमा सम्झना चौधरी र रूपन्देहीस्थित रोहिणी गाउँपालिकाको उपप्रमुखमा शिवकान्ति हरिजनले जितेका छन् । 

 मोहन श्रेष्ठ, प्रवक्ता, राप्रपा

राप्रपा महाधिवेशनपछि नयाँ नेतृत्व (राजेन्द्र लिङ्देन)प्रति बढेको आशा र विश्वासका कारण स्थानीय तहमा विगतको भन्दा गुणात्मक सुधार भएको छ । राप्रपाले अहिले विनागठबन्धन विजय हासिल गरेको हो । दुई शक्तिशाली गठबन्धनको बीचमा रहेर प्रतिकूल अवस्थामा पनि राप्रपाले लोकप्रिय जनमत बढाउन सफल भएको छ । अघिल्लो चुनावमा भन्दा हामीले चार दोब्बरभन्दा बढी जितेका छौँ । अहिलेको भोट पार्टीको पुँजीका रूपमा रहन्छ ।

राप्रपाले ०७४ को स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकासहित पाँच स्थानीय तहमा प्रमुख तथा तीन तहमा उपप्रमुख जितेको थियो । नेपालगन्जमा मेयर, झापाको हल्दिबारी र गौरीगन्ज गाउँपालिकामा अध्यक्ष तथा झापाको कचनकवलमा उपाध्यक्ष र धादिङको रुवी भ्याली गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष दुवै राप्रपाले जितेको थियो । बाग्लुङ, डोल्पा र बेनी नगरपालिकामा राप्रपाले अघिल्लोपटक उपमेयर जितेको थियो ।

यसपटक हल्दिबारीबाहेक विगतमा जितेका स्थान राप्रपाको पकडबाट बाहिर पुगेका छन् भने नयाँ ठाउँमा राप्रपाले खाता खोलेको छ । यसपटक राप्रपाले काठमाडौं उपत्यकामा खाता खोलेको छ । शंखरापुर नगरपालिकामा एक मेयर, तीन वडाध्यक्ष र १२ जना वडासदस्य जितेको छ । काठमाडौंमा ०४९ पछि भएका निर्वाचनमा राप्रपाले अहिलेसम्म नगरपालिकामा जित्न सकेको थिएन । ०५४ को स्थानीय निर्वाचनमा बज्रयोगिनी र इचंगु स्वयम्भू गाविस राप्रपाले जितेको थियो, तर नगरपालिकामा पञ्चायतयता काठमाडौं उपत्यकामा उसको पहिलो जित हो । 

अघिल्लोपटक जितेको हल्दिबारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षबाहेक राप्रपाले ३ वडाध्यक्ष जितेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको घर रहेको हल्दिबारी–१ राप्रपाले जितेको छ । यसपटक राप्रपाले भद्रपुर नगरपालिकामा उपमेयरसहित दुई वडा जितेको छ । यसपटक राप्रपाले अहिलेसम्म ६५ स्थानीय तहको वडामा जितेको छ । यीमध्ये पाँच वडामा वडाध्यक्ष मात्रै आएका छन् भने बाँकी ५८ वडामा प्यानलसहित राप्रपा विजयी भएको छ । 

प्रवक्ता श्रेष्ठका अनुसार झापा, सुनसरी, मोरङ, काभ्रे, काठमाडौं, नवलपुर, धादिङ, नवलपरासी, रुपन्देहीमा राप्रपाले वडामा जित हासिल गरेको छ । वडा जितेका स्थानीय तहमा ओमसतिया नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका हुन् । जुम्ला र दैलेखमा राप्रपाले सदस्य मात्रै जितेको छ । 

नेपालगन्ज उपमहानगरपालिकामा मेयर हारेको राप्रपाले वडा नम्बर २, ८ र ११ मा अध्यक्ष जितेको छ । पार्टी महामन्त्री धवलशमशेर राणाले उम्मेदवारी छाड्नु, उम्मेदवार छनोटमा ढिलाइ हुनु र नयाँ उम्मेदवार हुनुका कारण नेपालगन्जमा मेयर जित्न नसकिएको एक राप्रपा नेताले जानकारी दिए । राप्रपाबाट कपिलवस्तुस्थित शिवराज नगरपालिकामा मेयर अजय थापाले जितेका छन् । विगतमा राप्रपामा रहेका उनी पछि कांग्रेस प्रवेश गरेका थिए भने चुनावको मुखमा उनी राप्रपा प्रवेश गरेका थिए । उनी ०७३ को राप्रपा महाधिवेशनमा थिए भने ०७४ मा कांग्रेस प्रवेश गरेका थिए । यही वैशाख १० गते राप्रपामा पुनः उनको प्रवेश भयो । पार्टी प्रवेश भएको भोलिपल्ट उनी राप्रपाबाट उम्मेदवार भए ।

हेटौँडामा मेयरको टिकट लिएर गएका नेता मधु अधिकारीलाई विस्थापित गराएर राप्रपाले दीपकबहादुर सिंहलाई मेयरको टिकट दिएपछि असन्तुष्टि सुरु भएको थियो । अधिकारीले मेयरको टिकट नपाएपछि पार्टी छाडेर एकीकृत समाजवादी पार्टी प्रवेश गरे । सिंह हेटौँडामा अतिथि उम्मेदवारका रूपमा पार्टीभित्र चिनिएका थिए । 

राप्रपाले विगतभन्दा एक स्थानीय तहमा प्रमुख कम जिते पनि समग्रमा विगतको भन्दा धेरै वडामा जित हासिल भएको पार्टी प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘राप्रपा महाधिवेशनपछि नयाँ नेतृत्व (राजेन्द्र लिङ्देन)प्रति बढेको आशा र विश्वासका कारण स्थानीय तहमा विगतको भन्दा गुणात्मक सुधार भएको छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘राप्रपाले अहिले विनागठबन्धन विजय हासिल गरेको छ । दुई शक्तिशाली गठबन्धनको बीचमा रहेर प्रतिकूल अवस्थामा पनि राप्रपाले लोकप्रिय जनमत बढाउन सफल भएको छ । अघिल्लो चुनावमा भन्दा हामीले चार दोब्बरभन्दा बढी जितेका छौँ ।’ 

राप्रपाले यसपटक अधिकांश ठाउँमा उम्मेदवारी दिएको तथा सुशासन र भ्रष्टाचारविरोधी एजेन्डा अघि सारेका कारण आकर्षण विगतमा भन्दा बढेको श्रेष्ठको दाबी छ । ‘आफ्ना उम्मेदवार नउठाएर कमल थापाले विगतमा गर्नुभएको गल्ती हामीले गरेका छैनौँ,’ श्रेष्ठले भने, ‘स्थानीय मन्दिरमा कसम खाएर राप्रपाका उम्मेदवारले सुशासनप्रति प्रतिबद्धता जनाएका छन् । गठबन्धनको चुनौतीमाझ राप्रपाले हासिल गरेको उपलब्धि महत्वपूर्ण छ ।’ 

राप्रपाले हारेका ठाउँमा पनि सम्मानजनक मत प्राप्त गरेको श्रेष्ठको विश्लेषण छ । ‘ठूलो मतान्तरले हाम्रा साथीहरू हार्नुभएको छैन,’ श्रेष्ठले भने, ‘स्थानीय तहको निर्वाचनमा ठूला पार्टीको गठबन्धनले जनप्रतिनिधि र पार्टी छान्न पाउने मतदाताको अधिकार कुण्ठित ग¥यो । यसको असर हामीलाई पनि परेको हो । जसरी पनि निर्वाचन जित्न उनीहरूले साधनस्रोतको दुरुपयोग गरे, फरक दलका उम्मेदवारलाई दबाब दिने, मतदातालाई प्रभावित पार्ने काम भयो ।’ गठबन्धन नभएको अवस्थामा कम्तीमा पनि ३० स्थानीय तहमा सिट जित्ने राप्रपाको मूल्यांकन थियो । 

राप्रपाले जित्न सक्ने ठाउँमा पनि मिहिनेत गरेको, तर समयको चापका कारण मिहिनेत पनि पर्याप्त हुन नसकेको मूल्यांकन गरेको छ । दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा गर्नुपरेको भए ३० भन्दा बढी स्थानीय तह जित्ने राप्रपाको अपेक्षा थियो । ‘७५२ स्थानीय तहमा एमाले र कांग्रेस नेतृत्वका गठबन्धन आमनेसामने भए, झापाको कचनकवलमा एमाले र कांग्रेसको अनौठो गठबन्धनका कारण राप्रपाले नेतृत्व गुमायो,’ प्रवक्ता श्रेष्ठले भने, ‘गठबन्धनका कारण नेपालगन्ज उपमहानगरपालिका, हेटौँडा उपमहानगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको रोहिणी नगरपालिका, ओम सतिया गाउँपालिका, देवदह नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, कैलालीको कैलारी गाउँपालिका, झापाका कन्काई र भद्रपुर नगरपालिका, सिराहाको मिर्चैया नगरपालिकालगायतमा हार खायौँ ।’ 

अहिलेको भोट पार्टीको पुँजीका रूपमा रहने श्रेष्ठले बताए । ‘यसकै जगमा उभिएर प्रदेश र संघीय निर्वाचनको तयारीमा हामी जान्छौँ,’ उनले भने । पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको असर निर्वाचनमा नपरेको उनको भनाइ थियो । ‘राप्रपा नेपालले उम्मेदवारी दिएको भए कतिपय ठाउँमा फरक पर्ने थियो । तर, उहाँको बहिर्गमनको असर कत्ति पनि परेको देखिएन,’ श्रेष्ठले भने । 

कमल थापाको राप्रपा नेपाल सांकेतिक उपस्थितिमा सीमित

कमल थापा नेतृत्वको राप्रपा नेपालले ३० चैतमा एमालेसँग चुनावी तालमेल गर्ने सहमति गरे पनि स्थानीय तहको निर्वाचनमा कार्यान्वयन भएन । राप्रपा नेपालले आफ्नै चुनावचिह्न ‘तीर’मा न्यून स्थानमा उम्मेदवारी दिएको थियो । राप्रपा केन्द्रसँग त्यसको समग्र तथ्यांक छैन ।

पाँचथरलगायतका केही ठाउँमा न्यून संख्यामा सूर्य चिह्नबाट राप्रपा नेपालका प्रतिनिधिले वडामा जितेका छन् । निर्वाचन अभियानमा राप्रपा नेपाल कहीँ पनि देखिएन । ‘हामीले एमालेसँग सुरुमा सैद्धान्तिक रूपमा सहमति ग¥यौँ, तर व्यावहारिक पक्षलाई ध्यान दिएनौँ । सुरुमै यति सिटमा तालमेल गर्ने भन्ने लेनदेनका विषय तय गरेपछि निर्वाचनमा गएको भए केही स्थान सुरक्षित हुने रहेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने, ‘हामीले स्थानीय तहमा मागेका ठाउँ प्राप्त गर्न सकेनौँ । ढिलो पनि भइसकेको थियो । तर, एमालेसँग लामो समय सहकार्य गर्ने रणनीति भएको हुनाले यसले फरक पर्दैन ।’ 

करिब तीन दर्जन स्थानमा राप्रपा नेपालले तीर चुनावचिह्नमा उम्मेदवार उठाए पनि अहिलेसम्म कसैले जितेका छैनन् । ‘एमालेसँग सहकार्य पनि एमालेलाई फाइदा हुने गरी भएको छ, राप्रपा नेपाललाई शून्य लाभ भयो,’ राप्रपा नेपालका अर्का नेताले नयाँ पत्रिकासँग भने, ‘हामी स्थानीय चुनावमा सांकेतिक रूपमा मात्रै सहभागी भएका हौँ । अपेक्षा पनि थिएन, परिणाम पनि आएन ।’