
प्रतिवेदनको निष्कर्ष
फुटबल खेलाडी र मुख्य प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । शुक्रबार एन्फाको आधिकारिक वेभ पोर्टलमा प्रतिवेदनका केही अंश सार्वजनिक गरिएको छ ।
खेलाडी र प्रशिक्षक विवादले चर्को रूप लिएपछि एन्फाले नेपाली सेनाका पूर्वरथी भिक्टर राणाको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्वअन्तर्राष्ट्रिय खेलाडी विदुर विष्ट सम्मिलित समिति गठन गरेको थियो । समितिले १० दिन लगाएर २८ पृष्ठको प्रतिवेदन मंगलबार एन्फालाई बुझाएको थियो । प्रतिवेदनमा खेलाडी, व्यवस्थापक, एन्फा सचिवालय र मुख्य प्रशिक्षक गरी तीन पक्षको कमजोरी औँल्याएको छ ।
समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अलमुताइरीलाई परिवर्तन गर्न सिफारिस भएको प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई तत्काल नहटाउन र एएफसी कप छनोटपछि कतारसँग परामर्श गरेर निष्कर्ष निकाल्न एन्फालाई सुझाव दिएको छ । ‘एएफसी कप छनोटपछि कतार फुटबल संघसँग छलफल गरी प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रशिक्षकले दायराभन्दा बाहिर गएर खेलाडीको निजी जीवनमा समेत हस्तक्षेप गरेको प्रतिवेदनमा उल्लेख छ । समितिले प्रशिक्षक अलमुताइरीले बारम्बार अपशब्द शब्द प्रयोग गरी खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्कन बाध्य बनाएको जनाएको छ । खेलाडीले संयमता गुमाएर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेर गल्ती गरेको समितिको ठहर छ । छानबिन समितिले खेलाडी बन्द प्रशिक्षणबाट भागेको पक्षमा सत्यता नरहेको, बरु प्रशिक्षक अलमुताइरीले नौजना खेलाडीलाई बारम्बार अमर्यादित भाषामा निस्केर जानु भनेपछि खेलाडीहरू बाध्य भएको निष्कर्ष निकालेको छ ।
मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्थाका कारण उत्तेजित र तनावमा देखिएको प्रतिवेदनमा भनिएको छ । सामाजिक सञ्जालमा बारम्बार विवाद तथा अनावश्यक टीकाटिप्पणी कार्यले राष्ट्रिय टोलीमा स्वच्छ वातावरण नपाएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, समितिले घटनाको दोषीका रूपमा व्यवस्थापकलाई पनि मानेको छ । घटना हुँदा व्यवस्थापक घटनास्थलमा नभएको र जिम्मेवारीसमेत वहन गर्न नसकेको प्रतिवेदनमा भनिएको छ । समितिले जिम्मेवारी वहन गर्न नसक्ने व्यक्तिलाई राष्ट्रिय टोलीको व्यवस्थापकबाट हटाएर नयाँ नियुक्त गर्नसमेत सुझाव दिएको छ ।
कप्तान किरणसहित ११ सिनियर खेलाडी बाहिर
एन्फाले आसन्न एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा शुक्रबार गरेको छ । एसियन कप छनोट खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक अलमुताइरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरेका छन् ।
अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १३ वैशाखमा १० खेलाडीले विद्रोह गर्दै बन्द प्रशिक्षण छाडेका थिए । प्रशिक्षण छाड्नेमा रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुमन लामा, सुमन अर्याल र दिनेश राजवंशी रहेका छन् ।
छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहका छनोट खेलहरू कुवेतमा आयोजना हुनेछन् । नेपालले ८ जुनमा जोर्डनसँग खेल्नेछ । नेपालले ११ जुनमा कुवेतको सामना गर्नेछ । नेपालले १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुनेछन् ।
नेपाली टोली
गोलरक्षक : दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षापंक्ति : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकाश बुढाक्षत्री, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनील बल, सुरजज्यू ठकुरी
स्ट्राइकर : आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनीष डाँगी, नवयुग श्रेष्ठ