१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ६ आइतबार ११:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सिन्धुपाल्चोकका चार पालिकामा कांग्रेस, तीनमा माओवादी र एकमा एमाले विजयी  

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:१३:oo

घोषित परिणामअनुसार कांग्रेसले भोटेकोसी, बाह्रबिसे, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका जितेको छ । माओवादीले बलेफी, जुगल र चौतारा साँगाचोकगढी नगरपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका जितेको छ । जारी मतगणनामा सुनकोसी र मेलम्चीमा कांग्रेस, लिसंखुपाखरमा माओवादी र पाँचपोखरी थांपालमा एमाले अगाडि छ । 

हेलम्बुमा कांग्रेस
कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका हेल्मो समुदायका नेता निमाग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिका अध्यक्षमा दोस्रोपटक जित हासिल गरेका छन् । उपप्रमुखमा कांग्रेसकी अप्सरा लामिछाने विजयी भइन् । शेर्पाले पाँच हजार तीन सय ९६ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका दावा लामाले चार हजार ६ सय तीन मत ल्याए । उपप्रमुखमा लामिछानेले पाँच हजार दुई सय १४ मत प्राप्त गरिन् । प्रतिस्पर्धी एमालेकी गंगा अर्यालले चार हजार ६ सय ७१ ल्याइन् ।

भोटेकोसीमा कांग्रेस
कांग्रेस महाधिवेशन प्रतिनिधि पासाङ नोर्बु लामाले भोटेकोसी गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका छन् । उपप्रमुखमा कांग्रेसकै देछेन शेर्पा विजयी भइन् । निवर्तमान अध्यक्ष माओवादी केन्द्रका राजकुमार पौडेललाई तेस्रो बनाउँदै लामाले जित निकाले । लामाले दुई हजार ६ सय पाँच मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले दुई हजार ४८ मत ल्याए । उपप्रमुखमा शेर्पाले दुई हजार सात सय १२ मत प्राप्त गरिन् । प्रतिस्पर्धी एमालेकी सुन्तली लामा श्रेष्ठलेले दुई हजार पाँच सय ५३ ल्याइन् । श्रेष्ठ ०७४ मा पराजित भएकी थिइन् । 

बलेफीमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
यता बलेफी गाउँपालिकामा माओवादी केन्द्रका गंगाबहादुर तामाङ ‘प्रवेश’ले चार हजार ६ सय ६६ मत ल्याएर अध्यक्षमा विजय प्राप्त गरे । कांग्रेसका सुवास तिमल्सिनालाई पराजित गर्दै प्रवेशले जित निकालेका हुन् । प्रतिद्वन्द्वी तिमल्सिनाले चार हजार एक सय पाँच मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी सरु तामाङले विजय प्राप्त गरिन् । तामाङले चार हजार तीन सय ९४ मत ल्याइन् । प्रतिस्पर्धी एमालेकी सपना थापाले तीन हजार ६ सय ३३ मत प्राप्त गरिन् । 

बाह्रबिसेमा कांग्रेस
नगरपालिकामा कांग्रेसका बालकृष्ण बस्नेत मेयरमा निर्वाचित भएका छन् । बस्नेतले एमालेका निवर्तमान मेयर निम्फुञ्जो शेर्पालाई पराजित गरेर जित निकाले । बस्नेतले सात हजार सात सय २८ र शेर्पाले पाँच हजार चार सय ३३ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकी मञ्जु तामाङ विजयी भइन् । उनले एमालेकी निवर्तमान उपमेयर सुशीला पाख्रिनलाई पराजित गरेर जित निकालिन् । तामाङले ६ हजार नौ सय ७७ मत र पाख्रिनले पाँच हजार नौ सय ९० मत ल्याइन् । 

चौतारा साँगाचोकगढीमा माओवादी र समाजवादी
सिन्धुपाल्चोक सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनले विजय प्राप्त गरेको छ ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा मेयरमा र एकीकृत समाजवादीकी नेतृ सीता थापा उपमेयरमा निर्वाचित भएका हुन् । सापकोटाले ११ हजार ७२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका इन्द्र नेपालले ६ हजार सात सय ८५ मत ल्याए । उपमेयर थापाले नौ हजार सात सय २६ मत ल्याइन् । प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ६ हजार आठ सय ७७ प्राप्त गरिन् ।

इन्द्रावतीमा एमाले विजयी
नेकपा एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्ष झम्क नेपाल इन्द्रावती गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी शोभना तामाङ विजयी भएकी छिन् । नेपालले सात हजार एक सय २७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका विकास लामाले ६ हजार एक सय ६८ मत ल्याए । लामा कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति हुन् । ०७४ मा कांग्रेसका वंशलाल तामाङले जितेका थिए । विजयी नेपाल तामाङसँग पराजित भएका थिए । उपाध्यक्षमा शोभनाले ६ हजार पाँच सय सय १३ मत प्राप्त गरिन् । प्रतिस्पर्धी कांग्रेसकी दया मिश्रले ६ हजार चार सय ७० ल्याइन् ।

त्रिपुरासुन्दरीमा कांग्रेस 
नेपाली कांग्रेस सिन्धुपाल्चोक सचिव भक्तध्वज बोहरा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी गीता नेपाल विजयी भइन् । नेपाल कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । बोहराले चार हजार दुई सय २९ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले तीन हजार दुई सय ६७ मत ल्याए । उपाध्यक्षमा नेपालले चार हजार एक सय सय ५६ मत प्राप्त गरिन् । प्रतिस्पर्धी एमालेकी सविता श्रेष्ठले तीन हजार आठ सय ८९ ल्याइन् ।

जुगलमा माओवादी-कांग्रेस गठबन्धन विजयी
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा माओवादी र कांग्रेसको गठबन्धन सफल भएको छ । अध्यक्षमा माओवादीका रेशम स्याङ्बो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्बोले एमालेका जयबहादुर लामालाई एक हजार एक सय ५७ मतान्तरले पराजित गरे । स्याङ्बोले पाँच हजार पाँच सय ७२ र लामाले चार हजार चार सय १५ मत प्राप्त गरे । 

उपाध्यक्षका उम्मेदवार श्रेष्ठले चार हजार सात सय ६८ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेकी सुनिता थापाले तीन हजार सात सय सात मत ल्याइन् । एमाले अध्यक्षका उम्मेदवार लामाले चुनावको केही दिनअघि कांग्रेस छोडेका थिए । ०७४ चुनावमा उनी एमालेका होमनारायण श्रेष्ठसँग पराजित भएका थिए । 

ad
ad