१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गुल्मीका केन्द्रीय नेताले आफ्नो पालिकामा बिरासत गुमाउँदै

पुराना जनप्रतिनिधीको कतै जित कतै हार 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:३८:oo

गुल्मीको रूरू क्षेत्र गाउँपालिका नेकपा एमालेको किल्ला हो । जुन पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो । कांग्रेस-माओवादीको चुनावी गठबन्धनबीच एमालेले स्थानीय तह निर्वाचनको फेस गर्‍यो । गठबन्धनको तर्फबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र एमालेको तर्फबाट हिमाल श्रेष्ठबीच निकै प्रतिस्पर्धा चल्यो । तर, अन्ततः गठबन्धनका तर्फबाट ज्ञवालीले प्रमुखमा श्रेष्ठलाई पराजित गरे ।

ज्ञवालीको पाँच हजार आठ सय १७ र श्रेष्ठको चार हजार पाँच सय ४० मत रहेको छ । दुई सयदेखि एक हजारसम्म लिड हुने एमालेका पकड क्षेत्रमा समेत झिनो मतान्तर हुँदा श्रेष्ठलाई ज्ञवालीले एक हजार दुई सय ७७ बढी मतले पराजित गरेका थिए । जसका कारण नयाँ शक्तिका रूपमा माओवादी केन्द्रका यदु ज्ञवालीले रूरू क्षेत्र गाउँपालिकाको नेतृत्व पाए । एमालेले रूरूमा उपाध्यक्षसहित बहुमत वडामा विजय हासिल गरेको छ । पालिकाबाहेक प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्ने गुल्मीदरबार, चन्द्रकोट, कालीगण्डकी र रेसुंगा एमालेले गुमाएको छ ।

नेकपा एमालेका नेता गोकर्ण विष्ट
पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको इस्मा गाउँपालिकामा पनि कांग्रेसले प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेको छ । एमालेलाई तीन–चार सय मतले अग्रता दिलाउने वडाहरूको निराशापूर्ण मतका कारण तीन दशकदेखि वर्चश्व कायम राखेको इस्मा एमालेले गुमाएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा एसीलाई एक सय २५ मतान्तरले पराजित गरे । खड्काको पाँच हजार पाँच सय ८९ र एसीको पाँच हजार चार सय ६४ मत रहेको छ । उपप्रमुखमा कांग्रेसकै पार्वती कुँवरले एक कार्यकाल राम्रो काम गरेकी विमला खत्रीलाई सात सय ८८ को ठूलो मतान्तरले पराजित गरेकी छिन् । कुँवरले पाँच हजार नौ सय नौ र खत्रीको पाँच हजार एक सय २१ मत रहेको छ । पूर्वमन्त्री गोकर्ण विष्टको पालिकासँगै मदाने, मालिका र रेसुंगा एमालेले गुमाएको छ ।

नेपाली कांग्रेस नेता डाक्टर चन्द्र भण्डारी
कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको छत्रकोट गाउँपालिकामा एमालेका रामप्रसाद पाण्डेय विजयी भए । उनले गठबन्धनका अनन्तराम पौडेललाई ६ सय ३८ मतान्तरसहित पराजित गरे । पाण्डेयको ६ हजार पाँच सय ८६ र पौडेलको पाँच हजार नौ सय ४८ मत रहेको थियो । उपप्रमुखमा एमालेकी सावित्रा ज्ञवालीले गठबन्धनका गुमानसिंह पुनमगरलाई पराजित गरिन् । ज्ञवालीको ६ हजार चार सय ७२ र पुनको पाँच हजार एक सय २४ मत रहेको छ । भण्डारी र पौडेलको गाउँबाटै गठबन्धनमा सोचेको मत नआएपछि कांग्रेसवृत्तमा चर्को आलोचना भइरहेको छ । कांग्रेसले गत स्थानीय तहमा विजयी सत्यवती गाउँपालिका गुमाएको छ । धुर्कोटमा एमाले–कांग्रेस गठबन्धनबीच एकीकृत समाजवादीसँग तालमेल गरेको कांग्रेसले एउटा वडामा चित्त बुझाउनुपरेको छ । ठूलो कसरत र गठबन्धनबीच पनि मुसिकोट कांग्रेसले गुमाउनुपरेको छ । कांग्रेस रेसुंगा, इस्मा, मदाने, गुल्मीदरबार र कालीगण्डकीमा विजयी भएको छ । 

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री
सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीको पालिका मदाने हो । मदानेमा समाजवादीका कुनै उम्मेदवार थिएनन् । समाजवादीले धुर्कोट र मुसिकोटमा उपप्रमुख पाएको थियो । तर, धुर्कोटमा उपप्रमुख चन्द्र सुनार दुई हजार पाँच सयभन्दा बढी र मुसिकोटको उपप्रमुख श्रीराम महत ६ सय ८८ मतान्तरसँगै पराजित भएका छन् । 

तीन पालिकामा चित्त बुझाउँदै गुल्मी एमाले
स्थानीय पालिकाको आधारमा गुल्मीमा एमाले तेस्रो दल बनेको छ । अहिलेसम्म कांग्रेसले पाँच, माओवादी चार र एमाले तीन पालिकामा विजयी भएका छन् । एमाले मुसिकोट नगरपालिका, छत्रकोट र सत्यवती गाउँपालिकामा विजयी भएको छ । त्यसबाहेक एमालेका केन्द्रीय नेताले आफ्नो पालिका त गुमाए नै त्यसबाहेक गत स्थानीय तहमा विजयी पालिकाहरू पनि गुमाइरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा विजयी भएका रेसुंगा नगरपालिका, इस्मा, मालिका, मदाने र रूरू गुमाइसकेका छन्  भने उपाध्यक्षसहित बहुमत वडा पाएको चन्द्रकोटमा अहिले उपाध्यक्षसहित सोचेका वडा पनि जित्न सकेन । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वडा जितेको मालिकामा अहिले पराजित हुने स्थिति आयो ।

रेसुंगामा चार, इस्मामा दुई वडा, मदानेमा उपाध्यक्षसहित तीन वडा, धुर्कोटमा उपाध्यक्षसहित चार वडा, गुल्मीदरबारमा तीन, रूरूमा उपाध्यक्षसहित पाँच र कालीगण्डकीमा केही वडामा एमाले विजयी भएको छ । यो अवस्थाले आसन्न प्रदेश र संघको निर्वाचन अझै चुनौतीपूर्ण रहेको छ । नेतृत्वको तानाशाही प्रवृत्ति, गुटबन्दी र अन्तर्घात मौलाएको भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्ता निराश भएका छन् । त्यो मात्रै नभएर पार्टी नेतृत्वको कार्यशैली र जिल्लाको स्थितिको कारण नेकपा एमालेका जिल्ला सदस्य कृष्ण भण्डारीले पदबाट राजीनामा दिएका छन् । दुई प्रभावशाली नेता र दुई केन्द्रीय सदस्य भएको जिल्लामा एमालेको निराशाजनक मतले पार्टीमा चर्को आलोचना र असन्तुष्टि रहेको छ ।

पुराना जनप्रतिनिधिको हारजित
एक कार्यकाल धुर्कोट गाउँपालिका प्रमुख भएका नेकपा माओवादी केन्द्रका भूपाल र कालीगण्डकी गाउँपालिकामा कांग्रेसका बेदबहादुर थापामगर पोख्रेल पुन: निर्वाचित भए । तर, सत्यवती गाउँपालिकामा एक कार्यकाल प्रमुख भएका कांग्रेस नेता पारिश्वर ढकालले अहिले पराजय भोगे । त्यस्तै, एक कार्यकाल मालिका गाउँपालिका प्रमुख भएका रितबहादुर थापा पनि अहिले पुरानै प्रतिस्पर्धी माओवादीका देवीराम अर्यालसँग पराजित हुनुपर्‍यो । इस्मा गाउँपालिका उपप्रमुख विमला खत्री, चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्याल, कालीगण्डकीमा तारा थापा र मदाने गाउँपालिका उपप्रमुख सोही पदमा अहिले पनि चुनावी मैदानमा थिए । तर, मदाने गाउँपालिका उपप्रमुखमा खड्का मात्रै विजयी भइन् । 

 

ad
ad