१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:५३:oo
Read Time : > 5 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

बागीविरुद्ध ठूला दल कठोर

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:५३:oo

बागी उम्मेदवारी दिने एमालेका ६५, कांग्रेसका ४७, माओवादी ३८ र एकीकृत समाजवादीबाट एक गरी १५१ जना कारबाहीमा

स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेविरुद्ध ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी कठोर भएका छन् । उनीहरूले विभिन्न जिल्लामा पार्टीहितविपरीत क्रियाशील भएको भन्दै नेता–कार्यकर्तालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेका छन् । बागी उम्मेदवारी दिने र तिनलाई सघाउनेमाथि कारबाही गर्नेमा एमाले अगाडि छ । उसले विभिन्न जिल्लामा गरी ६५ जनालाई कारबाही गरेको छ । एमालेले अधिकांश स्थानीय तहमा एक्लै र केहीमा राप्रपासँग तालमेल गरेको छ । सत्तारूढ गठबन्धनमा आबद्ध कांग्रेसले बागी उम्मेदवारी दिने र तिनलाई सघाउने ४७ जनालाई कारबाही गरेको छ । माओवादी केन्द्रले ३८ र एकीकृत समाजवादीले एकजनालाई पार्टीबाट निष्कासित गरेको छ ।

चितवनमा पूर्वसांसदसहित पाँचजना पार्टीबाट निष्कासित
कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँचजनालाई पार्टीबाट निष्कासित गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका चितवनका पाँच नेता–कार्यकर्तालाई निष्कासन गरको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार कारबाहीमा पर्नेमा श्रेष्ठ, शम्भुप्रसाद अर्याल, सूर्य बस्नेत, आनन्दराज राउत र डा. केशव पौडेल छन् ।

यस्तै, कांग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने तीनजना नेतालाई कारबाही गरेको छ । उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको कांग्रेसले जनाएको छ । कारबाहीमा पर्नेमा सन्तवीर तामाङ, राजेन्द्र राई र चन्द्रबहादुर थापा छन् ।

कांग्रेस लमजुङले पार्टीको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुईजनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र छन् । दुवैलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले जानकारी दिए । 

कांग्रेस सल्यानले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका दीपेन्द्र विष्टलाई कारबाही गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका विष्ट कारबाहीमा परेका हुन् ।

मकवानपुरमा एमालेको कारबाही, कांग्रेसको चेतावनी मात्रै
स्थानीय तहको निर्वाचनमा पार्टीको हित र निर्णयविपरीत क्रियाकलाप गरेको भन्दै एमाले मकवानपुरले ६ जनालाई पार्टीबाट निष्कासन गरेको छ । एमालेले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौँडा–५ का विशालराज महत, हेटौँडाका अक्कलबहादुर क्षेत्रीलाई बागी उम्मेदवारी दर्ता गरेको भन्दै पार्टीबाट निष्कासन गरेको हो । 

हेटौँडा–१९ का रत्नबहादुर ब्लोन, रमेश पौडेल र हेटौँडा–७ का धन थापालाई पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको एमाले मकवानपुरले जनाएको छ । पार्टी विधानको धारा ८० (६) अनुसार ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए । कांग्रेस मकवानपुरले भने बागी उम्मेदवारी दिने र पार्टीको हितविपरीत काम गर्नेलाई हालसम्म कारबाही प्रक्रिया अघि बढाएको छैन । कांग्रेस मकवानपुरको अनुशासन समितिले विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक, समर्थक, बागीको प्रचारप्रसारमा संलग्न रहने कार्यकर्ता र पार्टीको निर्णय र हितविपरीत काम गर्नेलाई कारबाही गर्ने चेतावनी मात्र दिएको छ । 

कांग्रेसद्वारा धादिङमा ६ जनामाथि कारबाही
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र समर्थक पाँचजनालाई कांग्रेस धादिङले कारबाही गरेको छ । केन्द्र र जिल्लाको आग्रहलाई बेवास्ता गर्दै आफ्नो उम्मेदवारी कायमै राखेका नीलकण्ठ नगरपालिकाकी कल्पना अधिकारी, नेत्रावती डबजोङ गाउँपालिकाका टेकजंग लामा, खनियावास गाउँपालिकाका फूलबहादुर तामाङ र सरिता तामाङलाई पार्टीको सदस्यबाट निष्कासन गरिएको कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिए । 

झापामा तीन दलले गरे कारबाही
झापामा ठूला राजनीतिक दलले बागी उम्मेदवार र उसका प्रस्तावक तथा समर्थकलाई कारबाही गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले बागी, बागीका समर्थक र प्रस्तावकलाई कारबाही गरेका हुन् । कांग्रेसले भीमकुमार नेम्वाङ, विनोदकुमार दाहाल, दीपेन्द्रकुमार नेवार, गान्धारी मिश्र, ईश्वर श्रेष्ठ र शिवशंकर बस्नेत गरी ६ जनालाई कारबाही गरेको हो ।

एमालेले बुद्धशान्तिमा उपाध्यक्षकी उम्मेदवार योगमाया पराजुली, काजी श्रेष्ठ, रोहित तोलांगी, तिलक न्यौपाने, नेत्रप्रसाद दाहाल, डिल्ली घिमिरे, बलबहादुर तामाङ, दिलीप भण्डारी, श्यामसुन्दर ओली र परशुराम घिमिरे गरी १० जनालाई पार्टीबाट निष्कासन गरेको छ । माओवादी केन्द्रले बागी उम्मेदवारी दिने वीरेन्द्र तिवारी र लक्ष्मीप्रसाद तिवारीलाई निलम्बन गरेको छ । 

कालीकोट र जाजरकोटमा दुईजना निष्कासित
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार डम्बरबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसीलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । उनलाई समर्थन गर्ने र प्रस्तावक तथा चुनाव प्रसारप्रचारमा लागेकालाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए । 

त्यस्तै, जाजरकोटको जुँनिचादे गाउँपालिकामा माओवादीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुर्गबहादुर शाहीलाई पार्टीबाट निष्कासित गरिएको छ । 

गोलबजारमा माओवादीका बागी उम्मेदवार कारबाहीमा
माओवादीले सिरहाको गोलबजार नगरपालिका प्रमुखमा बागी उम्मेदवारी दर्ता गरेका रामचन्द्र महतोसहित ६ जनालाई कारबाही गरेको छ । गोलबजार नगरपालिकामा माओवादीबाट मेयरमा बागी उम्मेदवार बनेका महतो, उपप्रमुख उम्मेदवार बास्ना मोक्तान, वडाध्यक्ष उम्मेदवार कमल स्याङ्वो, समर्थक र प्रस्तावक रहेका पुजन सिंह, प्रमोद सिंह र प्रवेश लामा कारबाहीमा परेका छन् । 

बागी उम्मेदवारी दिने र सघाउने २६ जना पार्टीबाटै निष्कासित
उदयपुरमा एमाले, कांग्रेस र माओवादी केन्द्रले पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिने र सघाउने २६ जनालाई कारबाही गरेका छन् । कांग्रेसले आठ, एमालेले सात र माओवादीले ११ जनलाई कारबाही गरेको हो । कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीका अनुसार कारबाही पर्नेमा प्रशान्त राई, कृष्णबहादुर थापा, बालकृष्ण थापा, मनकुमारी भुजेल, रमिला राई, माधव रास्कोटी, शर्मिला मगर र तिलकबहादुर खपांगी मगर छन् । 

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार कृष्णप्रसाद बराल, भीमबहादुर अधिकारी, यदु ढकाल, सवित्रा थापा, होमबहादुर किराती, कमलध्वज राईलगायत कारबाहीमा परेका छन् । एमालेले भीमकुमारी राउत, वसन्त पौडेललगायत सातजनालाई कारबाही गरेको उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले बताए ।

मेयरका स्वतन्त्र उम्मेदवार पार्टीबाट निष्कासित 
कैलालीमा एकीकृत समाजवादीले गोदावरी नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका टेकबहादुर विकलाई कारबाही गरेको छ । विक सो पार्टीको गोदावरी नगर कमिटी अध्यक्ष हुन् । सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कैलालीका १३ वटै तहमा चुनावी तालमेल गरेका छन् । गोदावरीको उपमेयरमा गठबन्धनका तर्फबाट समाजवादीले रत्ना कडायतलाई उम्मेदवार बनाएको छ । 

एमालेले अनुशासनविपरीत काम गरेको भन्दै जिल्ला सदस्यसहित सातजनालाई कारबाही गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको नीतिविपरीत उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य नेत्र मैनाली, जगतराम चौधरी, गोदावरी नगर कमिटी उपाध्यक्ष बलबहादुर चौधरी, घोडाघोडी नगर कमिटी सदस्य सञ्जय चौधरी, बर्दगोरिया गाउँ कमिटी सदस्य पदम बुढा थापा, गोदावरी नगरपालिका–४ का निवर्तमान वडाध्यक्ष प्रेम भण्डारी र सदस्य रामबहादुर मल्ललाई पार्टीको सदस्यबाट निष्कासन गरिएको हो । 

न्यौपाने पार्टीबाट निष्कासित
माओवादी केन्द्र प्रदेश १ ले पार्टीहितविपरीत कार्य गरेको आरोपमा पाँचजनालाई कारबाही गरेको छ । माओवादीले विराटनगर महानगरपालिकामा उपमेयरमा बागी उम्मेदवारी दिएकी नमिता न्यौपानेसहित अमरलाल यादव, भुवनेश्वर यादव, योगेन्द्र यादव र मोहम्मद रजि अहमदलाई कारबाही गरेको हो । यसअघि नै माओवादीले १४ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो । कारबाहीमा पर्नेमा केपी बराल, भीमबहादुर अधिकारी, यदु ढकाल, सावित्रा थापा, होमबहादुर राई, भीमबहादुर राई, कमध्वज राई, तिलक राई, दुर्गा बुर्जामगर, रामप्रसाद बराल, सन्तोष सुवेदी, सीताराम श्रेष्ठ, राम विष्ट र जीवन ताम्लिङ रहेको माओवादी केन्द्र प्रदेश १ समिति अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए ।

कञ्चनपुरमा १९ जना कारबाहीमा
कञ्चनपुरमा कांग्रेस, एमाले र माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कारबाही गरेका छन् । कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहका अनुसार पुष्पकमल पण्डित, कैलाश चन्द, श्रवण राना, लक्ष्मी मल्ल, शिवलाल राना, उपेन्द्र मल्ल, पानबहादुर ओड, चम्पा थापा, पार्वती रानामगर, मानसिंह साउद र रामचन्द्र बोहरा गरी ११ जना कारबाहीमा परेका हुन् । 

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख कर्णबहादुर चन्दका अनुसार विष्णुराम उपाध्याय, मनोज बोहरा, भोजराज पाण्डे, लालबहादुर चौधरी, पतिराम चौधरी र कोपिला चौधरी गरी ६ जनालाई पार्टीबाट निष्कासनका लागि जिल्लामा सिफारिस गरिएको छ । 

माओवादीले बागी उम्मदेवारी दिने दुईजनालाई कारबाही गरेको छ । माओवादी कञ्चनपुरका संयोजक खेम पाण्डेका अनुसार राजुराम सार्की र झकरराज जोशीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको छ । 

दोलखामा ६ जना पार्टीबाट निकालिए
कांग्रेस दोलखाले पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी सभापति बर्मा लामाका अनुसार कारबाहीमा पर्नेमा ईश्वरराज कार्की, नानीकाजी तमाङ, कृपाध्वज कार्की, संगीता विक, इन्दिरा कार्की र नवराज उप्रेती छन् ।

रुपन्देहीमा १५ बागी उम्मेदवारमाथि कारबाही
स्थानीय निर्वाचनमा पार्टीहितविपरीत गतिविधि गरेको भन्दै एमाले लुम्बिनीले ६ जनालाई कारबाही गरेको छ । एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार कारबाहीमा पर्नेमा कुमार मधु बेल्वासे, रामबहादुर रावल, दिनेश रावल, टीकाबहादुर गुरुङ, सञ्जय गुप्ता र बाबुलाल यादव छन् । 

रुपन्देहीमा पार्टी निर्णयविरुद्ध बागी उम्मेदवारी दिएका १५ जनालाई एमालेले कारबाही गरेको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार कारबाहीमा पर्नेमा हरिबहादुर तामाङ, तोलराज विक, पदम थापा, इन्द्रजित यादव, बेचुराम जयसवाल, रामशंकर चाई, अनिता हरिजन, कान्छा कोहार, नन्दकिशोर कुर्मी, पशुपतिनाथ यादव, बबिता आचार्य, श्रीप्रसाद श्रेष्ठ, नरेन्द्रप्रताप सिंह, हरि पाण्डे र हरि पौडेल छन् । 

बाँकेमा नौजना निष्कासित
पार्टीको नीति र निर्देशनविपरीत उम्मेदवारी दिने नौजनालाई एमाले बाँकेले कारबाही गरेको छ । पार्टी निर्देशनविपरीत बागी उम्मेदवारी दिने उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले बाँके उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए । कारबाहीमा पर्नेमा विजय चन्द, विकास काउचामगर, पदम ओली, खुमानन्द काफ्ले, मातृका बर्मा, हीरामान श्रेष्ठ, रमजान अन्सारी, मदनराज शर्मा र हितेश भारती छन् ।

लमजुङबाट शान्ता कमली, खोटाङबाट केदार लाफा, विराटनगरबाट गणेश लम्साल, बाँकेबाट विश्वराज पछल्डङ्ग्या, बुटवलबाट विष्णु घिमिरे, सल्यानबाट मीना बुढाथोकी, दोलखाबाट श्याम खतिवडा, कञ्चनपुरबाट मोहन विष्ट, उदयपुरबाट विदुर कटुवाल, धनगढीबाट तेजराज भट्ट, सिराहाबाट सुरेन्द्रकुमार कामती, सुर्खेतबाट रमेश रावल, झापाबाट चिरञ्जीवी घिमिरे, धादिङबाट अर्जुन श्रेष्ठ, मकवानपुरबाट सुदीप शिवाकोटी
 

ad
ad