१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

ढोरपाटन नगरपालिका : गठबन्धनबाट मेयर उम्मेदवार अर्यालका यस्ता छन् योजना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:१७:oo

ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन्। गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रका प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गरेका हुन्।

‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम, पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर उनी चुनावी प्रचारप्रसारमा होमिएका छन्। मेयरका प्रत्याशी अर्यालले आफूसँग स्पष्ट भिजन भएको दाबी गर्दै ढोरपाटनवासीले आफूलाई नै विजयी गराउने विश्वास व्यक्त गरे। 

‘०५७ देखि म पार्टीको मूल प्रवाहमा रहेर काम गरिरहेको थिएँ,’ उनले भने, ‘दुई दशकभन्दा लामो समयको ध्यान र एकाग्रताले पनि पार्टीले विश्वास गरेको हुन सक्छ, पार्टीले गरेको विश्वासलाई यथार्थमा बदल्नका लागि विशेष योजनाको साथ आएको छु।’

दुई दर्जनभन्दा बढी सामाजिक संस्थामा सक्रिय रहेर आफूले विगत १५ वर्षदेखि काम गर्दै आएकाले ढोरपाटनवासीले आफूलाई नै चयन गर्ने उनको विश्वास छ। 

उम्मेदवार अर्यालले अन्य प्रतिस्पर्धीको तुलनामा आफ्नो भिजन उत्कृष्ट भएको बताउँदै भावी योजना र खाकाले ढोरपाटन नगरको मुहार फेरिने दाबी गरे। उनले यसअघिका नगरप्रमुखले गरेका गलत कामबाट मुक्ति पाउनका लागि भए पनि नगरवासीलाई आफूलाई मतदान गर्ने बताए। 

प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ। देशकै एक मात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरू सिकार गर्न आउने गर्छन्।

पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना भएकाले देशकै उत्कृष्ट बनाउन आफूले उम्मेदवारी दिएको अर्याल बताउँछन्। नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने उनको योजना छ।

धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकास लागि आफू गुरुयोजनाको साथ आएको उनको भनाइ छ। उक्त गुरुयोजनामा नगरभित्र जडीबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिने उनको प्रतिबद्धता छ।

यस्तै, ढोरपाटनको वनमा कुहिएर गएका काठ व्यवस्थापनका लागि मात्र चारवटा काठ उद्योग स्थापना गर्न सकिने अर्यालले बताए। त्यसमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुई हजारजनालाई रोजगारी दिन सकिने अर्यालले बताए। 

आफू निर्वाचित भएका नगरमा रहेका नाै वडाका हरेकमा १० देखि १२ जना गरी एक सयजनालाई रोजगारी उपलब्ध गराउने योजनाले अर्यालले ल्याएका छन्। 

उम्मेदवार चन्द्र अर्यालले आफ्नो घोषणापत्रमा स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने घोषणा गरेका छन्।  नगरभित्रै रहेको निसिभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने योजना आफूले बनाएको उनले बताए। 

यस्तै, अर्यालले प्राविधिक शिक्षालाई जोड दिने, विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। हरेक वर्ष गरिब, विपन्न, जेहेनदार, दलित र असहाय १० विद्यार्थीलाई इन्जिनियर र पाँच विद्यार्थीलाई एमबिबिएस पढाइने उनको प्रतिबद्धता छ। 

अर्यालले हरेक वडामा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य इकाइ स्थापना गर्ने महत्त्वाकांक्षी योजनासमेत बनाएका छन्। 

नगरप्रमुखको उम्मेदवार अर्यालले कृषि क्षेत्रमा आफूले नयाँ क्रान्ति गर्ने गरी योजना बनाएको बताए। किसानलाई यान्त्रीकरण गर्दै व्यावसायिक कृषिका लागि आधुनिक र उच्चस्तरको प्रविधि भित्र्याएर उत्पादन र लागत बढाउने उनको प्रतिबद्धता छ।

यस्तै, नगरभित्र कुनै किसानले दूध उत्पादन गरेर बेचेमा उसलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने अर्यालको आश्वासन छ। यति मात्र नभई नगरभित्रै उत्पादन गरे मासु बेच्नेलाई प्रतिकेजी १० रुपैयाँ अनुदान नगरपालिकाले दिने उनको तयारी छ। कृषिलाई जीविकोपार्जनबाट व्यावसायिकतर्फ रूपान्तरण गर्न नसकेसम्म नगरवासीको जीवनस्तर माथि उठाउन नसकिने उनको बुझाइ छ।

अर्यालले गएको पाँच वर्षमा स्थानीय सरकारले एउटा पनि राम्रो काम नगरेको आरोप लगाए। ०७४ को स्थानीय तह निर्वाचनबाट नेकपा (एमाले)का देवकुमार नेपाली नगरप्रमुखमा विजयी भएका थिए। नगर सरकारले पाँच वर्षीय कार्यकाल अपारदर्शी, त्रुटिपूर्ण र अव्यावहारिक भएको उनको आरोप छ।

स्थानीय तह निर्वाचन २०७४ लाई हेर्दा ढोरपाटन नगरपालिकाका निवर्तमान मेयर देवकुमार नेपालीले कुल मतदाताको २२.४५ प्रतिशत मत प्राप्त गरेका थिए। सो समयमा नगरमा ११ हजार नाै सय ९० मतदाता रहेकोमा नेपालीले दुई हजार ६ सय ९२ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन शेरचनले एक हजार नाै सय ४६ मत पाएका थिए।

त्यसैगरी, राष्ट्रिय जनमोर्चाले एक हजार नाै सय मत ल्याउँदा माओवादी केन्द्रले एक हजार चार सय मत ल्याएको थियो। गत स्थानीय तह निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा पाँच हजार ६ सय ४० नयाँ मतदाता थपिएका छन्। 

नगरको प्रमुखमा अर्याल र एमालेका तर्फबाट निवर्तमान मेयर नेपाली चुनावी मैदानमा छन्। सत्तागठबन्धनले अर्यालको पक्षमा मत माग्दा एमाले आफ्नो बिरासत छोड्न चाहँदैन। नेपालीलाई राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको पनि समर्थन छ।

ad
ad