मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख १९ सोमबार
  • Monday, 31 August, 2026
२o७९ बैशाख १९ सोमबार o८:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक अलमुताइरीद्वारा  खेलाडीलाई कारबाही नगर्न आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १९ सोमबार o८:४८:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण छाडेर गएका १० खेलाडीलाई कारबाही नगर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेका छन् । प्रशिक्षक अलमुताइरीले आइतबार खेलाडीबीचको विवाद सम्बन्धमा एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई जानकारी गराउँदै उनीहरूलाई कारबाही नगर्न आग्रह गरेका हुन् । 

कारबाही नगर्न भने पनि बाहिरिएका १० खेलाडीलाई वन्द प्रशिक्षणमा समावेश नगराउने निर्णय उनले लिएका छन् । अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ती खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए । खेलाडीहरूले बन्द प्रशिक्षणमा रहँदा होस्टेलमा राम्रो सुविधा नभएको र आफूहरूलाई होटेलमा राख्नुपर्ने माग प्रशिक्षक अलमुताइरीसमक्ष राखेका थिए ।

साथसाथै, खेलाडीले आफूहरूलाई प्रशिक्षक अलमुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको दाबीसमेत गरे । उनीहरूले गत बिहीबार पत्रकार सम्मेलन गरी प्रशिक्षककै निर्देशनमा आफूहरूले बन्द प्रशिक्षण छाडेको दाबी गरेका थिए । अलमुताइरीले एन्फाका महासचिव तुलाधरलाई पत्र लेख्दै खेलाडीले खबर नगरी क्याम्प छोडेको बताएका छन् । 

१० खेलाडीले क्याम्प छाडेपछि अलमुताइरीले गत शुक्रबारदेखि थप १७ खेलाडीलाई प्रशिक्षणमा डाकेर तयारी गरिरहेका छन् । ‘मलाई जानकारी नदिई खेलाडीहरूले क्याम्प छाडेका हुन्,’ महासचिव तुलाधरलाई बुझाएको पत्रमा भनिएको छ, ‘युवा खेलाडीहरूमा तातो रगत बगिरहेको छ, अहिलेको अवस्था सिर्जना हुनुको पछाडि यही नै हो ।’ 

अलमुताइरीले आफू खेलाडीले गरेको पत्रकार सम्मेलनले निकै दु :ख लागेको बताएका छन् । ‘खेलाडीले ममाथि लगाएको आरोपका लागि माफी दिन्छु, कृपया एन्फाले ती खेलाडीहरूलाई कुनै किसिमको कारबाही नगर्न आग्रह गर्छु,’ अलमुताइरीले पत्रमा भनेका छन् । फुटबलमा जस्तो विवाद आए पनि नेपालको राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा काम गर्न इच्छुक रहेको उनले स्पष्ट पारेका छन् ।

 ‘म जस्तो अवस्थामा पनि नेपालको राष्ट्रिय टोली सम्हाल्न तयार छु,’ उनले भने, ‘नेपालको राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार हो ।’ आसन्न एसियन कप छनोटमा जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवार आफूले लिने अलमुताइरीले बताएका छन् ।