१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ७ सोमबार १२:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, कोही छैनन् ढुक्क

Read Time : > 3 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:२४:oo

मनोनयनपत्र दर्ता भएसँगै सिन्धुपाल्चोकमा स्थानीय तहका उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ।

दुई स्थानीय तहमा कांग्रेस र चार स्थानीय तहमा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रलाई पाँच स्थानीय तहमा केही सहज छ। तालमेल गरेका ६ मध्ये पाँच स्थानमा माओवादीबाट प्रमुख पदमा उम्मेदवारी परेको छ। तर, कुनै पनि दल अहिले नै ढुक्कचाहिँ छैनन्।

०७४ को चुनावमा १२ मध्ये सात सिट एमालेले जितेको थियो। पार्टी फुटको असरले कमजोर बनेको एमाले यसपटक कुनै पनि तहमा ढुक्क छैन। तीन सिट जितेको कांग्रेसका लागि केन्द्रको गठबन्धन नीतिबमोजिम नचलेकाले स्थिति अनुकूल छैन। नयाँ पार्टी एकीकृत समाजवादीसँग तालमेल गरेकाले चुनावी परिणामप्रति माओवादी केन्द्र पनि ढुक्क छैन। राप्रपा र अन्य साना दलको अवस्था निकै कमजोर छ।

०७४ लाई फर्केर हेर्दा
बाह्रबिसे नगरपालिकमा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त हुने निश्चित छ। ०७४ मा निवर्तमान मेयर निम्फुञ्जो शेर्पाले एमालेबाट चार हजार नाै सय २९, कांग्रेसका बालकृष्ण बस्नेतले चार हजार सात सय ११ र माओवादी केन्द्रका बुद्धराज बस्नेतले दुई हजार पाँच सय ७६ मत ल्याएका थिए। बाह्रबिसे एमालेमा फुटको त्यति असर परेको छैन। माओवादीको आधार थोरै बढेको छ भने कांग्रेसको मत करिब स्थिर छ। तीनैजना उम्मेदवार पुरानै हुन्।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका अमानसिंह तामाङले सात हजार सात सय २९ मत ल्याएका थिए। एमालेले पाँच हजार आठ सय ६ र कांग्रेसले चार हजार एक सय ७४ मत ल्याएको थियो। निवर्तमान मेयर अमानसिंह तामाङ अहिले बागी उम्मेदवार छन्। उनले उम्मेदवारी फिर्ता नलिए माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटालाई जित्न मुस्किल छ।

यता, मेलम्ची नगरपालिकामा एमालेका डम्बर अर्यालले आठ हजार ६ सय ७८ मत ल्याएर जितेका थिए। अहिले एमाले फुटको असर सबैभन्दा बढी मेलम्चीमा परेको छ। कांग्रेसका आइतमान तामाङले सात हजार ३३ र माओवादी केन्द्रका श्याम खड्काले चार हजार आठ सय २० मत ल्याएका थिए। अहिले एकीकृत समाजवादी र माओवादीबीच गठबन्धन छ। एकीकृत समाजवादीका नानीराम चौलागाईं मैदानमा छन्। यहाँ पनि त्रिपक्षीय भिडन्त हुने निश्चित छ।

भोटेकोसी गाउँपालिकामा माओवादी केन्द्रका राजकुमार पौडेलले दुई हजार पाँच सय ७३ मत ल्याएर जितेका थिए। कांग्रेसले दुई हजार पाँच सय ४५ र एमालेले एक हजार नाै सय ४८ मत ल्याएको थियो। हाल प्रतिस्पर्धामा रहेका पौडेल, कांग्रेसका पासाङ नोर्बु लामा र एमालेका अमृत खड्काबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ। त्रिपुरासुन्दरी गाउँपालिका गत निर्वाचनमा एमालेले जितेको थियो। विजयी भूपेन्द्र श्रेष्ठले दुई हजार नाै सय आठ मत ल्याएका थिए। टिकट नपाएपछि चुनावको मुखमा श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन्। कांग्रेसका भक्तध्वज बोहराले दुई हजार सात सय सात र माओवादीका विष्णुकुमार श्रेष्ठले एक हजार चार सय चार मत ल्याएका थिए। एमालेको प्रमुख नै कांग्रेस प्रवेश गरेको र ०७४ मा पनि कडा प्रतिस्पर्धी भएकाले यो पालिकामा कांग्रेसको अवस्था मजबुत छ।

बलेफी गाउँपालिकामा एमालेका केदार क्षेत्रीले तीन हजार दुई सय ३१ मत ल्याएका थिए। उनी अहिले कांग्रेसमा छन्। प्रतिस्पर्धी माओवादी केन्द्रले तीन हजार ५७ मत ल्याएको थियो। कांग्रेसले दुई हजार पाँच सय ४६ ल्याएको थियो। प्रमुख नै कांग्रेस प्रवेश गर्नु र एकीकृत समाजवादीसँग तालमेल गरेकाले यो पालिकामा माओवादी मजबुत छ।

यता जुगल गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन छ। ०७४ मा एमालेका होमनारायण श्रेष्ठले दुई हजार सात सय १८, कांग्रेसका जयबहादुर लामाले दुई हजार पाँच सय ३७ र माओवादीका रेशम स्याङ्बोले दुई हजार चार सय ४५ मत ल्याएका थिए । यसपटक कांग्रेसका जयबहादुर लामा चुनावको मुखमा एमाले प्रवेश गरेर मैदानमा उत्रेका छन्। यहाँ गठबन्धनका स्याङ्बो र एमालेका लामाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

लिशंखुपाखरमा एमालेका कमल नेपालले दुई हजार सात सय १८, माओवादीका राजु लामाले दुई हजार पाँच सय ३१ र कांग्रेसका नोर्बुवांगेल लामाले दुई हजार २६ मत ल्याएका थिए। यहाँ पनि त्रिपक्षीय भिडन्त हुने अवस्था छ। सुनकोसी गाउँपालिकामा कांग्रेसले चार हजार तीन सय ६०, एमालेले तीन हजार नाै सय ४४ र माओवादी केन्द्रले एक हजार ६ सय ३० मत ल्याएको थियो। कांग्रेसबाट श्रवणकुमार जिसी नै दोहोरिएका छन्। एमालेबाट व्यापारी टपिन्द्र तिमल्सिना र माओवादीबाट जनयुद्धकी पूर्वछापामार कृष्णकुमारी कुँवर प्रतिस्पर्धामा छन्। इन्द्रावती गाउँपालिकामा कांग्रेसले पाँच हजार तीन सय ६५, एमालेले पाँच हजार एक सय ६५ र माओवादीले दुई हजार पाँच सय ८९ मत ल्याएका थिए। यहाँ कांग्रेस र माओवादीबाट नयाँ अनुहार आएकाले त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना छ।

त्यसैगरी, हेलम्बु गाउँपालिकामा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था छ। यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ। विगतलाई हेर्दा यहाँ माओवादी निकै कमजोर देखिन्छ। कांग्रेसका निमाग्याल्जेन शेर्पाले चार हजार नाै सय ४५, एमालेबाट हस्तबहादुर पण्डितले तीन हजार दुई सय १३ र माओवादीका भरत थापाले पाँच सय ९४ मत पाएका थिए। ०७४ लाई हेर्दा यहाँ कांग्रेस धेरै बलियो छ।

पाँचपोखरी थांपाल गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ। ०७४ मा एमालेका टासी लामाले तीन हजार आठ सय ८५ मत ल्याएर विजय प्राप्त गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार ३९, कांग्रेसले दुई हजार दुई सय ९८ र माओवादी केन्द्रले एक हजार सात सय ३६ मत पाएको थियो। यहाँ माओवादी केन्द्र, एमाले र राप्रपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था छ।

ad
ad