मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १५ बिहीबार १६:१३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले बढ्ने प्रक्षेपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १५ बिहीबार १६:१३:००

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तथ्यांक विभागले चालू आवमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो।

आव ०७८/७९ को राष्ट्रिय लेखा तथ्यांक प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको बताए। उनले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको जानकारी दिए। विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो। बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो।

कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (२.४२ प्रतिशत) हुन पुगेको थियो। कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष भने ३.९३ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ। गत वर्ष प्रारम्भिक अनुमान भने ४ प्रतिशतभन्दा आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो। विभागले प्रक्षेपण गरेको चालू आवको वृद्धि एसियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो।

तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ। चालू आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो।

निर्देशक अधिकारीका अनुसार नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ। यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर एक हजार तीन सय ७२ डलर पुगेको छ। चालू आवको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ। गत वर्ष प्रतिव्यक्ति आय एक हजार एक सय ९१ डलर थियो। गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी एक सय ८१ डलर बढेको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष जिडिपीको आकार तीन खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको निर्देशक भण्डारीले बताए। नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ४१ खर्ब पाँच अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष  ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो।