१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आजदेखि सात आन्तरिक विमानस्थल १८ घन्टा सञ्चालन हुने

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:१९:oo

चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल १८ घन्टा खुला, टिआइएमा बढ्दै गइरहेको हवाई चाप व्यवस्थापन गर्न सहज हुने अपेक्षा, यात्रुलाई पनि सहज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गइरहेको एयर ट्राफिक कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने आन्तरिक विमानस्थलहरू १८ घन्टा खुला गरेको छ । बढ्दो हवाई चाप व्यवस्थापन गर्न तराईका सात विमानस्थलको सञ्चालन अवधि ६ घन्टा थपेर १८ घन्टा पुर्‍याइएको हो । 

झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, बाराको सिमरा, भैरहवाको गौतमबुद्ध, नेपालगन्ज र धनगढी विमानस्थल दैनिक १८ घन्टा सञ्चालनमा आउने क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘राति १२ बजेसम्म विमानस्थल सञ्चालन गर्दा हवाई चाप व्यवस्थाप गर्न सहज त हुन्छ नै, सँगसँगै जहाज डिले हुने समस्या पनि कम हुन्छ र उडान पनि थप्न सकिन्छ’ उनले भने, ‘अहिले त्रिभुवन विमानस्थलमा चाप बढेपछि नयाँ स्लट दिन समस्या भइसकेको छ ।’

बढ्दै गइरहेका हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर तराईका विमानस्थलको सञ्चालन अवधि बढाएको उनको भनाइ छ । अहिले पनि वायुसेवा कम्पनीहरूले प्रतिकूल मौसम, ट्राफिक जामलगायतका कारणले नियमित तालिकाभित्र उडान गर्न नसके राति १० बजेसम्म पनि उडान गरेर यात्रुलाई सेवा दिँदै आइरहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि २४सै घन्टा सञ्चालन हुँदै छन् । पोखरा अन्तर्राष्ट्रय विमानस्थल निर्माण भएपछि २४सै घन्टा सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए । पोखरा विमानस्थलमा अहिले रात्रिकालीन उडान हुँदैन ।‘विमानस्थलको सञ्चालन अवधि थपिएपछि उडान डिले भएर यात्रुले सास्ती भोग्नुपर्ने अवस्था कम हुनेछ,’ उनले भने, ‘आन्तरिक उडान व्यवस्थापनमा पनि सहज हुनेछ ।’ कोभिडपछि आन्तरिक हवाई यात्रु ह्वात्तै बढेका छन् भने अन्तर्राष्ट्रिय यात्रु र उडान पनि बढ्दै गइरहेका छन् । जसले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दै गइरहेको छ ।

अहिले त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक चार सय २० फ्लाइट उडान अवतरण हुन्छन् । आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुले हवाई यात्राका लागि विमानस्थलमा चार घन्टासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । उडान डिले हुँदा अन्तर्राष्ट्रिय जगत्मा पनि राम्रो सन्देश गइरहेको छैन । ‘मान्छे बसको यात्रा छाडेर हवाई यात्रा गर्न खोज्नु सहजताका लागि हो, समय पनि बचत होस् भन्ने चाहना हुन्छ’ उनले भने, ‘अहिले ट्राफिक कन्जेसनका कारण विमानस्थलमै घन्टौँ कुर्नुपर्ने हुन्छ ।’ अन्तर्राष्ट्रिय विमानस्थल २४सै घन्टा र आन्तरिक विमानस्थलहरू १८ घन्टासम्म सञ्चालन भएपछि धेरै हदसम्म एयर ट्राफिक व्यवस्थापन हुने क्यानको अपेक्षा छ ।

पछिल्लो समय हवाई यात्रु वार्षिक करिब १० प्रतिशतले बढिरहेको क्यानका महानिर्देशक अधिकारीको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुल यात्रु व्यवस्थापन क्षमता ९२ लाख रहेको छ । जब कि, सन् २०१८ मै हवाई यात्रु ७२ लाख पुगिसकेका थिए । ‘वार्षिक १० लाख यात्रु बढिरहेका थिए, यदि कोभिड नआइदिएको भए २०२१ मै त्रिभुवन विमानस्थल स्याचुरेसनमा पुगिसकेको हुन्थ्यो’ उनले भने, ‘हामीले नयाँ स्लट दिन सक्ने अवस्था हुने थिएन ।’ कोभिडले आन्तरिक यात्रु र उडान बढेपछि अन्तर्राष्ट्रिय उडान स्वात्तै घटेको थियो, जुन क्रमशः बढ्दै छ । हवाई यात्रु बढ्नु सुखद पक्ष रहेको बताउँदै उनले पर्यटन क्षेत्र तंग्रिँदै गइरहेका वेलामा विमानस्थल सञ्चालन अवधि बढाउँदा थप राहत पुग्ने विश्वास व्यक्त गरे ।

यातायातको सुविधा पनि बढाउनुपर्ने
विमानस्थल सञ्चालन अवधि बढाउँदा नियामक निकाय क्यान, वायुसेवा र यात्रु सबैलाई सहज हुने वायुसेवा कम्पनीका प्रतिनिधिहरूले बताए । तर, रात्रिकालीन उडानमा सबैभन्दा ठूलो समस्या विमानस्थलदेखि गन्तव्यसम्म पुग्ने यातायातकै हुने यति एयरका प्रवक्ता सुदर्शन बर्ताैलाले बताए । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण पनि विमानस्थल रातभर खुला गर्ने भएपछि एयरपोर्टमा यातायातको सुविधा पनि बढाउनुपर्ने बताउँछन् । ‘मौसम प्रतिकूलता र त्रिभुवन विमानस्थलको एयर ट्राफिक जामका कारण कतिपय अवस्थामा तोकिएको समयभित्र उडान नहुँदा रातरात पनि उडान गरिरहेका थियौँ, अब १२ बजेसम्म विमानस्थल खुला हुने भएपछि यात्रु हेरेर उडान विस्तार गर्नेछौँ’ कर्णले भने ।

‘विमानस्थल १८ घन्टा खुला भयो भनेर मात्र उद्देश्य पूरा हुँदैन’ यति एयरका प्रवक्ता बर्तौलाले भने, ‘विमानस्थलमा झरेर घर जान सहज यातायात छैन, एयरपोर्टका ट्याक्सीले प्लेनको भन्दा बढी भाडा लिन्छन्, रातिसम्म एयरपोर्टमा सार्वजनिक सवारी चल्नुपर्छ, सुरक्षा व्यवस्था पनि चुस्त हुनुपर्छ ।’ अहिले उडान थप्नका लागि सहजै स्लट पाउने अवस्था छैन, विमानस्थल सञ्चालन अवधि बढाएपछि नयाँ स्लट पाउने वायुसेवा कम्पनीहरूको विश्वास छ । ‘अहिले पनि अन्तिमका उडान फुल अकुपेन्सी नहुँदा फ्लाइट मर्ज गर्नुपर्ने अवस्था छ, 

आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अप्रेसन फ्लाइट

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अप्रेसन फ्लाइट उडान गर्ने भएको छ । बिहीबार दिउँसो ३ बजे काठमाडाैंबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित उच्च पदस्थ अधिकारीहरू लिएर निगमको वाइडबडी जहाजले अप्रेसन फ्लाइट गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

दिउँसो ३ बजे काठमाडौंबाट उडेको जहाज ३ः४५ मा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विमानमा पर्यटनमन्त्री, पर्यटनसचिव सञ्चारकर्मीलगायत दुई सय ६० जना रहनेछन् । विमानस्थलमा अवतरणपछि अवलोकन कार्यक्रम रहेको छ । साँझ ५:४५ मा विमान काठमाडाैं फर्किने कार्यक्रम तय भएको दाहालले बताए । निगमको ३:३० एयरबसले परीक्षण उडान गर्नेछ । थाइल्यान्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो । 

जजिरा एयलाइन्सले २ जेठदेखि साताको तीन दिन कुवेतबाट भैरहवा उडान गर्ने गरी अनुमति लिइसकेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा शिलान्यास गरिएको विमानस्थल निर्माण सम्पन्न भएको हो ।

ad
ad