१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
राजनीतिक ब्युरो नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:१७:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनावी मैदानमा नेता

Read Time : > 6 मिनेट
राजनीतिक ब्युरो नयाँ पत्रिका
नयाँ पत्रिका नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:१७:oo

७५३ स्थानीय सरकारको नेतृत्व छान्न सोमबार उम्मेदवारी दर्ताको प्रक्रिया सकिएको छ, ठाउँअनुसार स्थानीय वेशभूषा र बाजागाजासहित उम्मेदवारहरूले निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन्, ३० वैशाखमा हुने निर्वाचनबाट वडासदस्यदेखि प्रमुखसम्मका ३५ हजार २२१ जनप्रतिनिधि चयन हुनेछन्

  • डोल्पाको ठूलो भेरी नगरपालिकामा एमाले कार्यकर्ताबीच नै तनाव
  • गोरखा नगरपालिकामा कांग्रेस कार्यकर्ताबीच आपसमै झडप, काभ्रेको नमोबुद्ध नगरपालिकामा कांग्रेसका उम्मेदवार रोशन पाण्डेमाथि हातपात
  • सिन्धुपाल्चोकको साँगा चौतारा नगरपालिकामा माओवादी कार्यकर्ताबीच नै झडप

स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ता प्रक्रिया सोमबार सकिएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयनको समय तोकेको थियो । आगामी ३० वैशाखमा देशभरका सात सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि निर्वाचन हुँदै छ । 

आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट तथ्यांक संकलन गरेर वेबसाइटमा अपडेट गर्ने क्रम जारी राखेको छ । राति २:०० बजेसम्म देशभर एक लाख २३ हजार ४५५ जनाको उम्मेदवारी अपडेट भएको छ । 

आयोगले गत ४ चैतमा उम्मेदवारको मनोनयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । पहिलो दिन आइतबार ११ हजार ५९७ उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । निर्वाचनका लागि ७९ दल दर्ता छन् । 

आयोगका निर्वाचन सूचना सम्प्रेषण अधिकारी तुलसीराम श्रेष्ठका अनुसार उम्मेदवारी मनोनयन दर्ताको सूची सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्नेछ । सूची सोमबार रातिसम्म नै प्रकाशन हुने गरी आयोगले काम गरिरहेको, तर धेरै चाप भए मंगलबार बिहानसम्ममा प्रकाशन हुने उनले बताए । यसले निर्वाचन कार्यतालिकामा असर नगर्ने उनको भनाइ छ ।

आयोगले १२ वैशाखमा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ । यसबाहेक १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । 

छिटफुटबाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता 

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मुलुकभर छिटफुटबाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोकको साँगा चौतारा नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गर्ने क्रममा माओवादी कार्यकर्ताबीच झडप भएको छ । पार्टीभित्रकै दुई पक्षबीच झडप हुँदा सोमबार नगरपालिकास्थित निर्वाचन कार्यालय दिनभरजसो तनावपूर्ण बन्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै अश्रुग्यास नै प्रहार गर्नुपर्‍यो । साँझ भने वातावरण नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । 

त्यस्तै, डोल्पास्थित ठूलो भेरी नगरपालिकामा उम्मेदवारी दर्ता गर्ने क्रममा नेकपा एमाले कार्यकर्ताबीच विवाद भयो । विवाद झडपमा परिणत हुन सक्ने देखिएपछि प्रहरीले सुरक्षा प्रबन्ध कडा तुल्याएको थियो । दुई पक्षबीच विवाद हुँदा नगरपालिकास्थित निर्वाचन कार्यालय दिनभरजसो तनावग्रस्त बन्यो । साँझसम्म अवस्था सामान्य बनेको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै, गोरखास्थित गोरखा नगरपालिकामा पनि उम्मेदवारी दर्ता गर्ने क्रममा कांग्रेस कार्यकर्ताबीच विवाद भयो । अवस्था नियन्त्रणमा लिन त्यहाँ पनि प्रहरीले बल प्रयोग गर्नुप¥यो । प्रहरीका अनुसार गोरखामा कांग्रेस कार्यकर्ताबीच नै विवाद भएको थियो । प्रहरीको हस्तक्षेपपछि अवस्था सामान्य बनेको प्रहरीको भनाइ छ । 

मधेसमा भने सबै निर्वाचन मुकाममा उम्मेदवारी दर्ता शान्तिपूर्ण ढंगले भएको छ । हालसम्म मधेसबाट तनावको कुनै सूचना नआएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । उनले भने, ‘छिटफुटबाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा सामान्य तनाव देखिएका छन् । मधेसका सबै क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएको सूचना आएका छन् ।’

काभ्रेस्थित नमोबुद्ध नगरपालिकामा उम्मेदवारी मनोनयनकै क्रममा कांग्रेस कार्यकर्ताबीच आइतबार बेलुका झडप भएको थियो । झडपबाट मेयरका प्रत्याशी रोशन पाण्डे घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । उनलाई कांग्रेस कार्यकर्ता तथा मेयरका अर्का प्रत्याशी कुन्साङ लामा समूहले कुटपिट गरेको थियो । घाइते पाण्डेको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

दुई गाउँपालिकामा एकीकृत समाजवादी र एकमा एमालेका अध्यक्ष निर्विरोध

डोल्पाका तीन गाउँपालिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेपछि दुई गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी र एक गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध भएका हुन् । काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङको मात्रै उम्मेदवारी परेको छ । उनीहरू दुवै एकीकृत समाजवादीका हुन् । डोल्पाकै सेफोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार धावासम्डुक गुरुङ निर्विरोध भएका छन् । डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका पेमा वाङ्जु गुरुङसहित ६ जना वडाध्यक्ष निर्विरोध भएको उपमहासचिव प्रकाश ज्वालाले बताए । सेफोक्सुन्डो गाउँपालिकाको वडा नं. १, ३, ५, ६, ७ र ९ का अध्यक्षमा एमालेका उम्मेदवारहरू निर्विरोध भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । यस्तै, चितवनको इच्छाकामना गाउँपालिका– १ बाट दलित महिला सदस्यमा एमालेकी दुर्गा सार्की प्रजा निर्विरोध भएकी छिन् ।

मनाङको नासों गाउँपालिकाका वडा नंं. ५ को अध्यक्षमा थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तारादत्त बडूले जानकारी दिए । तीनैजना कांग्रेसका उम्मेदवार हुन् । मनाङकै ङिस्याङ गाउँपालिका– ९ को वडाध्यक्षमा माओवादीका उम्मेदवार च्योल्पा गुरुङ निर्विरोध भएका छन् । सदस्यहरूमा स्वतन्त्र उम्मेदवार अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित सदस्यमा सुस्मिता सेन्चुरी पनि निर्विरोध भएका छन् । त्यस्तै, रोल्पाको सुनछहरी गाउँपालिका– १ को महिला सदस्यमा माओवादीकी बाना राना निर्विरोध भएकी छिन् । 

महानगर–उपमहानगरमा जो दोहोरिन खोज्दै छन्

जो अन्तिम समयमा दल बदलेर उम्मेदवार बने 

झापाको कन्काई नगरपालिकामा आइतबार एमाले परित्याग गरेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार बनेका छन् । ललितपुर उपमहानगर– १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले मनोनयनकै दिन एमाले परित्याग गरेर सोही वडामा माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट अर्कैले टिकट पाएपछि माओवादी प्रवेश गरेर उनले टिकट लिएका हुन् । माओवादीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया एमाले प्रवेश गरेर पुनः मेयरको उम्मेदवार बनेका छन् । जसपाबाट एमाले प्रवेश गरेका शिवशंकर साह (हीरा) जनकपुरमा मेयरको उम्मेदवार बनेका छन् । जनकपुरमै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी रुना झाले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् । दल अदलबदल गरेर पुनः पुरानै पदमा उम्मेदवारी दिने उम्मेदवारको संख्या ठूलो रहेको छ । एमालेले वीरगन्ज र नेपालगन्जमा तथा जसपाले वीरगन्जको मेयरको टिकट नवप्रवेशीलाई दिएको छ ।

८० प्रतिशत मतपत्र छापियो : निर्वाचनमा २० हजारभन्दा बढी पर्यवेक्षक 
निर्वाचन आयोगले ८० प्रतिशत मतपत्र छापिसकेको छ । हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार थान मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी छ । निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । काठमाडौंसहित ६ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाइ गरिनेछ । ती तहका मतपत्र पनि पुरानै डिजाइनअनुसार हुनेछ । निर्वाचन पर्यवेक्षणका लागि कुल ६८ संस्थाले आयोगबाट अनुमति लिइसकेका छन् । ती संस्थाबाट करिब २० हजारभन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ । आवश्यक जाँच गरी आयोगले पर्यवेक्षकहरूलाई पर्यवेक्षण गरिने मतदानस्थलसमेत तोकी परिचयपत्र जारी गर्नेछ । 

विप्लव नेतृत्वको नेकपा पनि चुनावमा

विप्लव नेतृत्वको नेकपाले पनि स्थानीय निर्वाचनमा भाग लिएको छ । केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भाग लिने विषयमा सहमति नबनेपछि नेकपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको छ । यद्यपि, एउटा समूहले भने चुनावमा भाग लिने विषयमा आपत्ति जनाएको छ । केन्द्रीय सदस्य अनिल शर्मा विरहीले देशैभरि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरिएको बताए । ‘देशैभरि उम्मेदवारी दर्ता भए पनि कति संख्यामा उम्मेदवारी दर्ता भयो भन्ने तथ्यांक उपलब्ध भइसकेको छैन, कहाँ–कहाँ दर्ता भयो भन्ने तथ्यांक आउन समय लाग्छ,’ उनले भने । उनका अनुसार इलाम, झापा, धनुषा, उदयपुर, सर्लाही, रौतहट, मकवानपुर, चितवन, पोखरा, नुवाकोट, धादिङ, काठमाडौंलगायतका जिल्लाका स्थानीय तहहरूमा उम्मेदवारी दिएको छ । 

एमालेका पाँच प्रदेश सांसद मेयर उम्मेदवार

एमालेले प्रदेश सांसदलाई पनि चुनावमा उतारेको छ । बागमतीका सांसदद्वय केशव स्थापित काठमाडौंको र विजय सुवेदी भरतपुरको तथा गण्डकीका सांसद कृष्ण थापा पोखराको मेयर उठेका छन् । त्यस्तै, प्रदेश १ का सांसदद्वय काजीमान कागते इलामको सूर्योदय र गोपालमान बुढाथोकी झापाको मेचीनगर नगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् । 

थरीथरीका तालमेल

सत्तागठबन्धन : कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा संयुक्त तालमेलमा छन् । देशैभर तालमेल गर्ने भनिए पनि कतिपय जिल्लामा पूर्ण र कतिपयमा आंशिक तालमेल भएका छन् । केही जिल्लामा भने आपसमा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै गठबन्धनमा रहेका दलहरूले आ–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन् । धेरै जिल्लामा गठबन्धनका पाँच दलबीच पनि सहमति जुट्न सकेको छैन । कतिपय जिल्लामा कांग्रेस र माओवादी, कतिपयमा माओवादी र एकीकृत समाजवादी तालमेल गरेर अघि बढेका छन् । केही स्थानीय तहमा गठबन्धनभित्रकै दलले एक्लै पनि उम्मेदवारी दिएका छन् ।

विपक्षी गठबन्धन : एमाले, राप्रपा नेपाल, परिवार दल र लोसपाको विपक्षी गठबन्धनले विभिन्न ठाउँमा संयुक्त उम्मेदवारी दिएका छन् । एमालेले चितवनमा राप्रपासँग भिन्दै तालमेल गरेको छ । वीरगन्जमा एमालेका मेयर र लोसपाका उपमेयर उठेका छन् । बुटवलमा एमालेले जनमुक्ति पार्टीसँग तालमेल गरेको छ । तनहुँमा एमालेले कांग्रेसका गोविन्दराज जोशीको समूहसँग तालमेल गरेको छ । 

राप्रपा दुवै गठबन्धनमा : राप्रपा आफ्नो अनुकूलता हेरी जिल्लाअनुसार सत्तापक्ष र विपक्षी गठबन्धनमा सहभागी भएको छ । चितवनमा राप्रपाले एमालेसँग तालमेल गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुरमा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गरेका छन् । जब कि एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध सत्तारूढ गठबन्धन र राप्रपाबीच तालमेल भएको छ ।

कांग्रेस–एमालेको गठबन्धन : झापामा कांग्रेस र एमालेले कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध तालमेल गरेका छन् । पूर्वी रुकुमको सिस्नेमा पनि माओवादीविरुद्ध कांग्रेस र एमालेबीच तालमेल भएको छ । 

राप्रपा–लोसपा गठबन्धन : सप्तरीको राजविराज नगरपालिकामा राप्रपा र लोसपाले तालमेल गरेका छन् । 

कांग्रेस–एमाले र नेकपा गठबन्धन : रोल्पाको सुनछहरी र माडी गाउँपालिकामा कांग्रेस र एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तालमेल गरेका छन् । 

मेयर–उपमेयरमा ३० वर्षमुनिका उम्मेदवार

जसको टिकट अन्तिममा खोसियो 

एमालेले शनिबार पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई उठाउने निर्णय गरेको थियो । तर, सोमबार कृष्ण थापाले उम्मेदवारी दर्ता गराएका छन् । पौडेलको सार्वजनिक आलोचना भएपछि एमालेले उम्मेदवार फेर्‍यो । त्यस्तै, इलाम नगरपालिकामा पनि एमालले सुरुमा नरेन्द्रनाथ भट्टराईलाई मेयरको टिकट दिएको थियो । तर, असुन्तष्ट समूहले पार्टी कार्यालयमै तालाबन्दी गरेर विरोध जनाएका थिए । त्यसपछि भट्टराईको टिकट खोसेर धीरेन चेमजोङलाई उम्मेदवार बनाइएको छ । 

कांग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा केशवराज पाण्डेलाई प्रदेश समितिले एकल सिफारिस गरे पनि अन्तिममा उनको टिकट खोसिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको चासोमा पाण्डेको टिकट खोसेर केन्द्रीय संसदीय बोर्डबाट इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, गोरखा नगरपालिकामा कांग्रेसको तर्फबाट विश्वदेव श्रेष्ठले पाएको मेयरको टिकट पुनः राजनराज पन्तलाई दिइएको छ । कार्यकर्ताले असन्तुष्टि जनाएपछि गण्डकी प्रदेश समितिले पन्तलाई अन्तिममा टिकट दिएको हो । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख बन्न मेयरबाट राजीनामा दिएका अमानसिंह तामाङले पनि टिकट पाएनन् । मेयरमा उठ्न तयार उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । चौतारा साँगाचोकगढीको मेयरको टिकट माओवादीले कृष्णप्रसाद सापकोटालाई दिएको छ । विवाद बढेपछि माओवादी कार्यकर्ताबीच झडपसमेत भएको थियो । पोखरामै कांग्रेसले तल्लो कमिटीबाट सर्वसम्मत उम्मेदवार अगाडि सारिएका सुरेन्द्रमान बिजुक्छेको सट्टा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो हस्तक्षेपमा उपमेयरमा कोपिला रानाभाटको उम्मेदवारी दर्ता भएको छ ।

ad
ad