१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:२९:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पहिलो दिन ठूला दलको उम्मेदवारी नै परेन

सत्तागठबन्धनभित्र धेरै जिल्लामा अझै सहमति जुटेन, एमालेमा पनि केही ठाउँ किचलो, आइतबार उम्मेदवारी दर्ता गर्ने अधिकांश साना दल र स्वतन्त्र मात्रै

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२९:oo

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको पहिलो दिन आइतबार ठूला दलहरूले उम्मेदवारी दर्ता गराएनन् । साना दल र स्वतन्त्रको मनोनयन भने उल्लेखनीय छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी दर्ता भएको छ । पालिकाका मेयर र अध्यक्ष पदमा नौ सय ७३, उपमेयर र उपाध्यक्षमा चार सय ९४, वडाध्यक्षमा दुई हजार आठ सय २६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ ।

हामीले जे सोचेर उम्मेदवारी मनोनयन दर्ताको समय दुई दिन दिएका थियौँ, त्यसअनुसार मनोनयन दर्ता भएन । हाम्रो पद्धति नै अन्तिम समयमा काम गर्ने भयो । त्यसले गर्दा आयोगलाई मनोनयनको दोस्रो दिन धेरै चाप हुने देखियो ।

शालिग्राम 
शर्मा पौडेल, प्रवक्ता, निर्वाचन आयोग

 

पहिलो दिन ठूला दल सुस्त,  साना दल र स्वतन्त्रको मनोनयन

आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको पहिलो दिन ठूला दल सुस्त देखिएका छन् । पहिलो दिन ठूला राजनीतिक दलका प्रतिनिधिले मनोनयन दर्ता नगराए पनि साना दल र स्वतन्त्रको मनोनयन भने उल्लेखनीय छ । निर्वाचन आयोगका अनुसार आइतबार पहिलो दिन ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । पालिकाका मेयर र अध्यक्ष पदमा नौ सय ७३, उपमेयर र उपाध्यक्षमा चार सय ९४, वडाध्यक्षमा दुई हजार आठ सय २६ जनाको उम्मेदवारी परेको छ । 

निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ । ३० वैशाखमा एकै चरणमा २३ हजार दुई सय २१ जनप्रतिनिधि चयन गर्न निर्वाचन हुँदै छ । सोहीअनुसार देशका सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु भएको थियो । 

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी विभिन्न पदमा देशैभरबाट सो संख्यामा उम्मेदवारी दर्ता भएको हो । प्रवक्ता पौडेलले आयोगले सोचेअनुरूप उम्मेदवारी दर्ता नभएको बताए । ‘हामीले जे सोचेर उम्मेदवारी मनोनयन दर्ताको समय दुई दिन दिएका थियौँ, त्यसअनुसार मनोनयन दर्ता भएन,’ पौडेलले भने, ‘हाम्रो पद्धति नै अन्तिम समयमा काम गर्ने भयो । त्यसले गर्दा आयोगलाई मनोनयनको दोस्रो दिन धेरै चाप हुने देखियो ।’

ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दिने तयारी गरेका छन् । पाँचदलीय सत्तागठबन्धनभित्र सिट बाँडफाँडमा समस्या देखिएपछि साझा उम्मेदवार चयनमा देखिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले पनि धेरै जिल्लामा आइतबार मात्रै उम्मेदवार टुंग्याएको छ । विगतका स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको थियो । तर, एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालयसमेतले कार्यचाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेको आयोगले बताएको छ । कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । 

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, मेयर र उपमेयर पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाध्यक्ष र वडासदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेस गर्नुपर्नेछ । दलित महिला वडासदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत एक हजार पाँच सय, वडाध्यक्षले एक हजार र वडासदस्यले पाँच सय धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसंख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । 

आयोगले सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, १५ वैशाखमा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेदवारी
काठमाडौं महानगरपालिकाको मेयरमा १६ र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै, १३ वडाध्यक्ष र सात वडासदस्यले समेत उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा स्वतन्त्रतर्फ नौजनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका तर्फबाट सातजनाको उम्मेदवारी परेको छ । मेयरमा १२ पुरुष र चार महिलाले उम्मेदवारी दिएका छन् । मेयरमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मंगोल नेसनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्र रूपमा राजन कार्की, रविकान्त मानन्धर, बालेन्द्र शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा (श्रेष्ठ) र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद पद त्यागे 
एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन् । स्थापितले आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । सभामुख श्रेष्ठले स्थापितको राजीनामा स्वीकृत गरिसकेका छन् । बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा स्थापित भौतिक पूर्वाधार विकासमन्त्री थिए । उनले सोमबार काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गर्ने जनाएका छन् ।

भरतपुर महानगर मेयरमा ११ जनाको मनोनयन
भरतपुर महानगरपालिकाको मेयरमा ११ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ राजनीतिक दल र पाँच स्वतन्त्र उम्मेदवारले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा तीनजनाको उम्मेदवारी परेको छ । नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट टेकबहादुर पुनमगर, मौलिक जिरोकिलो पार्टीबाट विनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी परेको छ । उपमेयरमा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर र मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट सुष्मा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । 

विराटनगर महानगरमा मेयरमा तीनजनाको उम्मेदवारी दर्ता
विराटनगर महानगरपालिकामा मेयरका लागि तीनजनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा अरुणकुमार मण्डल, स्वतन्त्रबाट उमेशकुमार यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका छन् । मेयरसहित विभिन्न राजनीतिक दलका ५६ जनाले महानगर प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा १८ र सदस्यमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउने राजनीतिक दलमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील साझा पार्टी, पिछडा वर्ग, निषाद, दलित, जनजाति पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

पोखरा महानगरको मेयरमा ११ को उम्मेदवारी
पोखरा महानगरपालिकामा पहिलो दिन मेयरमा ११ र उपमेयरमा चारजनाको मनोनयन दर्ता भएको छ । साना र स्वतन्त्र उम्मेदवारले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोविन्द गुरुङ, मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मंगोल नेसनल अर्जनाइजेसनका प्रेमबहादुर गुरुङ र नेपाल जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दर्ता गराएका छन् । यसैगरी मेयरका लागि स्वतन्त्र उम्मेदवार खडकराज पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बाँस्तोला र किसानसिंह गुरुङले मनोनयन गराएका छन् । उपमेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चिना दवाडी, सचेत नेपाली पार्टीका सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ र स्वतन्त्र सोममाया विकले मनोनयन दर्ता गराएका छन् । पोखरामा पहिले दिन ४७ जनाको उम्मेदवारी परेको छ ।

दमकमा राप्रपासहितको सत्तागठबन्धन
 झापाको दमक नगरपालिकामा सत्तागठबन्धनले भागबन्डा टुंग्याएको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपासहितको सत्तारूढ गठबन्धन बनेको हो । दमकमा राप्रपाले मेयर र कांग्रेसले उपमेयर लिने सहमति भएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए । कांग्रेसले उपमेयरसहित चारवटा वडा र माओवादीले चारवटा वडा पाउने सहमति भएको उनले बताए । राप्रपाले मेयरसहित वडा नम्बर १ र ७ को अध्यक्ष लिने भएको छ । कांग्रेसले उपमेयरसहित वडानम्बर ३, ४, ५, र १० तथा माओवादीले २, ६, ८ र ९ को वडाध्यक्ष लिने भएको छ । एकीकृत समाजवादी र जसपालाई पनि समेटेर अघि बढ्ने सहमति भएको बस्नेतले बताए । यसअघि ०७४ को निर्वाचनमा राप्रपाबाट राम थापा दोस्रो स्थानमा थिए । यसपटक पनि राम थापा नै राप्रपाबाट उम्मेदवार बन्नेछन् । गठबन्धनका अरू दलले उम्मेदवार टुंगो लगाएका छैनन् । दमकमा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन दल एकजुट भएका हुन् । दमकको मेयरका लागि एमालेले गीता अधिकारीको मनोनयन दर्ता गराएको छ । उनी यसअघि दमक नगरपालिकाकी उपमेयर थिइन् । 

कटारी नगरपालिकामा एमालेको बागी उम्मेदवार
 उदयपुरको कटारी नगरपालिकामा एमालेबाट निर्वाचित निवर्तमान उपमेयर भीमकुमारी राउतले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले प्रदेश १ सचिवालय सदस्यसमेत रहेकी राउतले पार्टीबाट टिकट नपाएपछि आइतबार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकी हुन् । राउतको समर्थक युवराज कार्कीले पार्टीले मेयरको टिकट नदिएपछि स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएको बताए । ‘उहाँ (भीमकुमारी राउत) महिलाबाट मेयर पदका लागि योग्य हुनुहुन्थ्यो, एमालेले उहाँलाई टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।’ एमाले उदयपुरले कटारी नगरपालिकामा निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी)लाई मेयर र गीता खड्कालाई उपमेयरको टिकट दिएको छ । 

सुर्खेतमा कांग्रेस संस्थापनइतरको छुट्टै भेला
 स्थानीय तह निर्वाचनको मनोनयन दर्ताकै दिन कांग्रेस सुर्खेतमा संस्थापनइतर पक्षले छुट्टै भेलाको गरेको छ । भेलाले जिल्लामा रहेका वडादेखि पालिकासम्म आफूहरूलाई ४० प्रतिशत उम्मेदवार नदिए कुनै पनि पद नलिने निष्कर्ष निकालेको छ । कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको ठहर गरेको छ । 

याे पनि

विवादित जिल्लामा सत्तागठबन्धनले बाँडफाँड गर्न आज अन्तिम कोसिस गर्ने

दुई जिल्लामा मात्रै एमालेको उम्मेदवारी दर्ता, केही ठाउँमा विवाद

ad
ad