१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार o६:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

माओवादी र एकीकृत समाजवादीले टुंग्याए, कांग्रेसमा विवाद 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o६:३९:oo

पाँचदलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसमा महानगर र उपमहानगरका लागि मेयर–उपमेयरका उम्मेदवार टुंग्याउन सकस परेको छ । पार्टीको आन्तरिक शक्तिसन्तुलनअनुसार मेयर–उपमेयर टुंग्याउने प्रयास भए पनि शनिबार रातिसम्म शीर्ष नेतृत्वमा सहमति जुटेको छैन । जब कि आइतबार उम्मेदवारी मनोनयनको कार्यसूची छ । 

तल्लो तहबाट सिफारिस भएका नाममा पार्टीभित्र सन्तुलन मिलाएर टुंग्याउन बिहीबारदेखि नै आन्तरिक छलफल थालेको कांग्रेसमा संस्थापन र इतर समूहको विवाद छ । शीर्ष तहमा सहमति नभएपछि शुक्रबार कार्यसम्पादन समिति बैठक बस्न सकेन । शुक्रबार स्थगित बैठक शनिबार पनि बस्न सकेन । अर्को बैठक आइतबारका लागि बोलाइएको छ । 

कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार शुक्रबार सिफारिस नामबारे छलफल भएको थियो । ‘महानगरका मेयर–उपमेयरका सम्बन्धमा सिफारिस भएर आएका नाम बैठकमा प्रस्ताव भए र छलफल भयो,’ उनले नयाँ पत्रिकासँग भने, ‘शीर्ष तहमा सहमतिपछि कार्यसम्पादन समिति बैठकले अन्तिम टुंगो लगाउनेछ ।’

बैठकमा सहभागी एक नेताका अनुसार नेताहरूबीच काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहको र भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति जुटेको छ । तर, विराटनगर महानगरपालिकाको विषय पेचिलो बनेको छ । विराटनगरको विषयमा सभापति देउवा र संस्थापनइतरबीच विवाद छ । विराटनगरमा सभापति देउवाले अमृत अर्याल र इतर समूहको नतृत्व गरिरहेका नेता शेखर कोइरालाले नागेश कोइरालालाई अगाडि सारेका छन् । नेता कृष्ण सिटौला भने वर्तमान मेयर भीम पराजुलीकै पक्षमा देखिएका छन् । 

ललितपुरमा वर्तमान मेयर चिरिबाबु महर्जन र प्रेमकृष्ण महर्जनको नाममा पनि सहमति बन्न सकेको छैन । शीर्ष नेताबीच सहमति भएपछि नाम कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेर अन्तिम रूप दिने कांग्रेसको तयारी छ । यसका लागि सभापति देउवाले नेताहरूसँग छलफल जारी रुाखेका छन् । सत्तागठबन्धनबीच कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरको मेयर र भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकामा उपमेयर दिने गरी सहमति बनेको छ । त्यस्तै, उपमहानगरतर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, नेपालगन्ज, धनगढी र तुलसीपुर उपमहानगरपालिकाको मेयर र जितपुर–सिमरा, घोराही, हेटौँडा र जनकपुर उपमहानगरपालिकाको उपमेयर पाएको छ । 

पाँचदलीय गठबन्धनमा एक महानगर र दुई उपमहानगरमा प्रमुख पाएको माओवादीले पनि उम्मेदवार टुंग्याएको छ । माओवादीले भरतपुरको मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाउने भएको छ । उनी यसअघि पनि भरतपुर महानगरको मेयर थिइन् । ललितपुर महानगरको उपमेयरमा बाबुराम बज्राचार्य उम्मेदवार बन्दै छन् । माओवादीले जितपुर–सिमराको मेयरमा राजन पौडेल, घोराहीको मेयरमा हेमराज पोखरेललाई उम्मेदवार बनाउने माओवादी निर्णय छ । यसबाहेक धनगढीको उपप्रमुखमा शान्ति अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धरानको उपमेयरमा कसलाई उम्मेदवार बनाउने विषय अझै टुंगिएको छैन ।

एक महानगर र एक उपमहानगरमा प्रमुख तथा एक महानगर र तीन उपमहानगरमा उपमेयरमा पाएको एकीकृत समाजवादीले पनि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले पोखराको प्रमुखमा धनराज आचार्य र काठमाडौंको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । हेटौँडा उपमहानगरको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय गरेको एकीकृत समाजवादीले इटहरीको उपमेयरमा केशव विष्ट र बुटवलको उपमेयरमा चिनबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तुलसीपुरको उपमेयरका लागि उम्मेदवार टुंग्याउन बाँकी छ । 

विवेकशीलका काठमाडौंका उम्मेदवार तय 
विवेकशील साझा पार्टीले काठमाडौं महानगरको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने भएको छ भने उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । गत २८ चैतमा विवेकशील साझाले काठमाडौं महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंग्याएको थियो ।

पूर्वएमाले र एमालेबीच प्रतिस्पर्धा
स्थानीय निर्वाचनमा एमाले र एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीबीच पनि प्रतिस्पर्धा हुँदै छ । गठबन्धनका तर्फबाट पोखरा महानगरको प्रमुखमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं महानगरको उपप्रमुखमा पनि यी दुई दल नै भिड्नेछन् । उपमहानगरतर्फ हेटौँडामा एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ भने इटहरी र बुटवल उपमहानगरको उपमेयरमा पनि यिनै दुई दलका उम्मेदवार मैदानमा उत्रनेछन् ।

ad
ad