मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ९ शुक्रबार १९:४३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विपन्नताका कारण काबुलमा युवाद्वारा आत्महत्या

Read Time : < 1 मिनेट
२०७९ बैशाख ९ शुक्रबार १९:४३:००

अफगानिस्तानको काबुलमा २० वर्षीय युवा स्पिन गुलले सोमबार आफैँलाई आगो लगाए, उपचारको क्रममा उनको बिहीबार मृत्यु भयो । श्रीमती, चार छोराछोरी र हजुरआमासँगै बस्दै आएका उनको आत्महत्याको कारण गरिबी र विपन्नता रहेको खुलेको छ । तालिबानले अफगानिस्तानमा शासन लिएपछि विपन्नताका कारण युवाहरूले आत्महत्या गर्ने क्रम सुरु भएको र उनी पछिल्लो व्यक्ति रहेको स्थानीय सञ्चारमाध्यम खामा न्युजले जनाएको छ । 

‘अफगानिस्तानमा शासन व्यवस्था परिवर्तनपछि अत्यन्तै विपन्नताका कारण मेरो नातिले आत्महत्या गरेको हो, अरू केही कारण छैन,’ गुलकी हजुरआमाले भनेकी छिन् । गुलले गाढामा काम गर्दै आएका थिए । ‘विगत केही वर्षदेखि परिवारको एक मात्र कमाउने व्यक्ति उनी आफैँ थिए र उनले केही समयदेखि मानसिक सन्तुलन पनि गुमाएका थिए’ स्थानीय मिडियाले लेखेका छन् ।

उनका भाइ नाता पर्ने जाजाईका अनुसार गुल ग्र्याजुएट थिए र सहयोगका लागि सबैलाई बिन्ती गर्दै आएका थिए । अफगानिस्तान तालिबान सरकार (इस्लामिक इमिरेट्स)को आन्तरिक मन्त्रालयले स्पिन गुलले कमजोर आर्थिक अवस्थाका कारण आत्महत्या गरेको नभएको जिकिर गरेको छ । उनले मानसिक समस्याका कारण आत्महत्या गरेको सरकारको दाबी छ । तर, परिवारका सदस्यले भने आर्थिक विपन्नताका कारण उनले मानसिक सन्तुलन गुमाएर आत्महत्यासम्म पुगेको बताएका छन् । 

‘अफगानिस्तानका मानिसहरू दशकहरूमा सबैभन्दा खराब मानवीय र आर्थिक अवस्थाबाट गुज्रिरहेका छन्, यहाँको आधाभन्दा बढी जनसंख्यालाई जीवन बचाउने सहायता चाहिएको छ, नभए भयावह अवस्था आउन सक्छ,’ काबुलस्थित सहायता एजेन्सीका अधिकारीहरूले बताउँदै आएका छन् ।