१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:३१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फरक स्वरूपमा नेटवर्किङ व्यवसाय, तालिमपछि रोजगारीका नाममा ठगी धन्दा

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

कञ्चनपुरमा एक इन्स्टिच्युट रोजगारी दिन्छु भन्दै युवायुवतीलाई ठगी गरिरहेको पाइएको छ। कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रा.लिको महेन्द्रनगरस्थित शाखाले युवायुवतीहरूलाई झुक्याएर ठगी गरिरहेको पाइएको हो।

भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकमा रहेको शाखाले बेरोजगार युवायुवतीलाई जागिर दिन्छु भन्दै तालिम दिने र फिल्डमा खटाएर रोजगारी नदिएर ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन्। पैसा तिरेर तालिम लिएर फिल्डमा खटिएका युवायुवती यतिबेला घरको न घाटको भएका छन्। चर्को शुल्क असुलेर इन्स्टिच्युट एकातिर तोकिएको समयसम्म तालिम नदिएको र अर्कोतिर तालिमका लागि ग्राहक खोज्न गाउँगाउँमा पठाएर काम गर्न नसकेको भन्दै पैसा नदिएर श्रम शोषणसमेत गरिरहेको पीडितहरूले बताएका छन्।

गाउँगाउँमा तालिमका लागि फारम भर्न लगाएर इन्स्टिच्युट उनीहरूलाई तालिम र आफूहरुलाई पारिश्रमिक नदिएपछि पीडितहरू पैसा फिर्ता लिन दैनिक कार्यालय धाउने गरेका छन्। 

भीमदत्त नगरपालिका–सालघारीकी किरण उराबले अफिसमै रोजगारी दिन्छु भन्दै १० हजार पाँच सय रुपैयाँ लिएर सामाजिक परिचालकको तालिम दिएको तर, अहिलेसम्म रोजगारी नदिएको गुनासो गरिन्। ‘मेरो भर्खरै विवाह भएको थियो। संस्थाले उतिखेरै तालिम दिएर रोजगारी दिन्छु भन्ने सूचना जारी गरेअनुरूप मैले पनि तालिम लिएको हुँ,’ उनले भनिन्, ‘न काम दियो, न पैसा फिर्ता दियो।’ विवाहमा आएको दक्षिणाका सबै पैसाले तालिम लिए पनि संस्थाले रोजगारी भने नदिएको उनले बताइन्। आफूजस्तै अन्य व्यक्ति पनि ठगिएर बिचल्लीमा परेका उनले बताइन्। 

भीमदत्त नगरपालिका–१० तिल्केनीकी प्रेरणा बमले सात दिन तालिम लिएपछि रोजगारी दिने आवश्वास दिएपनि अहिलेसम्म रोजगारी नदिएको बताइन्। ‘रोजगारी दिन्छौँ भन्दै त्यो संस्थाका कर्मचारीले आवेदन फारम भराए, फारम भरेको पाँच सय माग्यो, त्यसपछि तालिमका लागि १० हजार माग्यो,’ प्रेरणाले भनिन्, ‘दश हजार दिएर जागिर मिल्छ भनेपछि घरबाट पैसा मागेर तालिम लियौँ, तर रोजगारी दिएन।’ 

सो संस्थाले सातदिने तालिम भने पनि पाँच दिन मात्रै तालिम दिएको पनि प्रेरणाले बताइन्। ‘सामाजिक सहजकर्तामा जागिर दिन्छौँ भनेर तालिम दियो। तालिममा फारम कसरी भर्ने, गाउँका मान्छेसँग कसरी बोल्ने जस्ता विषयमा जानकारी दियो,’ उनले भनिन्, ‘त्यसपछि फिल्डमा खटायो, करिब दुई महिना काम गर्यौँ। अहिलेसम्म तलब दिएको छैन।’ उनले २ महिनामा १४ जनाको फारम भरेको बताइन्। ‘संस्थाले भनेअनुसार सीपमूलक तालिम सिकाउँछौँ भनेर १४ जनाको फारम भरेकी छु,’ उनले भनिन्, ‘प्रत्येक व्यक्तिबाट ५ सय रुपैयाँ लिएको थिएँ। त्यो सबै रकम संस्थामा दिएँ। तर, संस्थाले अहिलेसम्म उनीहरूलाई तालिम पनि दिएको छैन।’

यता, बेदकोट नगरपालिका–६ मुसेपानीकी शान्ति चौधरीले पनि सामाजिक सहजकर्ताको तालिम लिइन्। शान्तिबाट पनि महुन्याल एजुकेसनले सामाजिक सहजकर्ताको तालिमका लागि १० हजार मागेको थियो। तालिमपछि उनले संस्थाले सिलाइकटाइसम्बन्धी तालिम दिन्छ भनेर १३ जनाबाट पैसा उठाइन्। सबै पैसा उनले संस्थालाई बुझाइसकेकी छिन्। ‘संस्थाले गाउँमा सिलाइकटाइसम्बन्धी तालिम दिन्छौँ भनेर फारम भर्नुभन्यो,’ उनले भनिन्, ‘त्यहीअनुसार फारम भरेर पैसा संस्थालाई बुझाएँ। तर, संस्थाले उनीहरूलाई तालिम दिएको छैन।’ सो संस्थाबाट उराव, चौधरी र बमजस्तै अन्य थुप्रै युवायुवती ठगिएका छन्।

महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रालिले भने कसैलाई नठगेको दाबी गरेको छ। कन्सल्टेन्सीका केन्द्रीय कार्यालयका प्रमुख अन्दाज बाब्लीले तालिम लिनेहरूको संख्या थोरै भएकाले तालिम दिन नसकेको बताए। ‘हामीले ३०-३५ जनालाई सामाजिक सहजकर्तामा नियुक्त गरेका हौँ,’ उनले भने, ‘एकजनाको फारम भरेबापत २ सय रुपैयाँ दिन्छौँ भनेका थियौँ। उनीहरूले लक्ष्यअनुसार काम गर्न नसकेकाले पैसा दिन सकेका छैनौँ।’ सामाजिक सहजकर्ताहरूले फारम भरेका व्यक्तिहरूलाई तालिम दिने उनको भनाइ छ। ‘केही समयपछि उनीहरूलाई तालिम दिन्छौँ,’ उनले भने।

ठगिएका युवायुवती पैसा फिर्ता नभए प्रहरीमा उजुरी दिने तयारीमा छन्। रोजगारीको नाममा संस्थाले ठगेको भन्दै अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले संस्थामाथि कार्बाहीको माग राखेका छन्। ‘बेरोजगारीको मौका छोपेर कसैले पनि कसैलाई ठग्न पाईंदैन,’ उनले भने, ‘यसबाट नेटवर्किङ व्यवसाय चलाएर एकातिर श्रमशोषण र अर्कातिर ठगी धन्दा चलाएको छ।’ अनेरास्ववियु कञ्चनपुरका युवा नेता रवीन नाथले नेटवर्किङ विधिबाट ठगी धन्दा चलाएकाले संस्थामाथि कार्बाही गर्नुपर्ने बताए। ‘यो विषयमा हामी एकपटक प्रहरी प्रशासनसँग छलफल गछौँ,’ उनले भने, ‘सरकारी निकायबाट दोषिमाथि कार्बाही र पीडितमाथि कार्बाही नभए विद्यार्थीले ठगमाथि कार्बाही गर्छ।’