१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ जेठ ५ शनिबार o८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतीय लगानी विस्तार र व्यापार सहजीकरणका लागि नेपाली निजी क्षेत्रको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४६:oo

नेपालमा भारतीय लगानी बढाउन र भारततर्फकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू तयार रहेको बताए । कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रिज (सिआइआई)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिआइआई भारतमा महासंघको साझेदार संस्था हो । 

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । ‘पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको छ,’ उनले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के–कस्तो सहयोग चाहिन्छ, हामी गर्न तयार छौँ । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको छ ।’

नेपाल भारतका लागि नवौँ ठूलो निर्यात गन्तव्य भएको बताउँदै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए । ‘नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ,’ उनले भने, ‘नाकामा पूर्वाधार सुधार र गैरभन्सार अवरोध हटाउनुपर्छ । कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरी एक–अर्काको देशमा मान्यता दिनुपर्छ ।’  

कार्यक्रममा सिआइआईका अध्यक्ष टिभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । सिआइआईको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनको भनाइ थियो । 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल–भारतबीचको संयुक्त व्यावसायिक फोरमका बारेमा जानकारी गराइन् । दुई देशका उद्यमी–व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गरेकी छिन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराइन् । कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावनाबारे चासो र अनुभव आदान–प्रदान गरेका थिए । 

ad
ad