१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १९ शनिबार १५:३१:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

वैशाख ९ बाट मण्डलामा ‘पल्पसा क्याफे’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १९ शनिबार १५:३१:००

कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट काठमाडौंमा प्रदर्शन हुने भएको छ। नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको हो। अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।

सुरज सुवेदीको नाट्य रूपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशनमा हुन लागेको उक्त नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि फेरबदल भएको छ। अघिल्लो वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले खेल्ने भनिए पनि समयका कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छिन्।

दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैँले गर्ने भएका छन्। अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन्। नाटक पटक–पटक सरेकाले नयाँ–नयाँ कलाकारहरूलाई जुटाउन समस्या भएको कास्टिङ डिरेक्टर तथा सहनिर्देशक दिलीप रानाभाटले जानकारी दिए ।

‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्येको एक मानिन्छ। यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको थियो। सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ। 

उपन्यासका धेरै पात्र स्पष्ट रूपमा लाखौँ मानिसको मनमा बसेकाले तीनको कथालाई नाटकमा लिएर जानु आफैँमा चुनौतीपूर्ण रहेको सुरज सुवेदीले बताए । निर्देशक विमल सुवेदीले भने १५ वर्षपछि उपन्यासतिर फर्किँदै त्सयवेला उठाएका विषयहरूलाई वर्तमान समयमा उभिएर विवेचना गर्न लागिएको बताए ।

भर्खरै ‘चिसो एस्ट्रे’ फिल्मको प्रदर्शन सकाएकी सृष्टिले यसभन्दा पहिला पनि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरिसकेकी छिन्। ‘सान्दाजुको महाभारत’ ‘यार्मा’ ‘ह्याम्लेट’ ‘मालिनी’जस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाएका विमल सुवेदी लगभग एक दशकपछि पुनः अभिनयमा फर्किँदै छन् । भारतको नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा डिजाइन र डिरेक्सन अध्ययन गर्नुभन्दा पहिला विमल अभिनय र मोडलिङमा सक्रिय थिए। 

नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवणसिंह रानालगायतका कलाकारहरूको अभिनय रहनेछ।