१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिद्धार्थनगरले बनायो १२ करोडको लागतमा कृषि भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:२८:oo

सिद्धार्थनगर नगरपालिकाले १२ करोड रुपैयाँभन्दा बढीको लागतमा कृषि बजार भवन निर्माण गरेको छ। कृषि बजार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १२ करोड १३ लाख ३६ हजार रुपैयाँ लागतमा कृषि भवन निमार्ण गरिएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले बताए ।

नगरपालिकाले ए र बी ब्लक गरी दुईवटा भवन निर्माण गर्ने लक्ष्यअनुरूप ए ब्लकको भवन निर्माण सम्पन्न गरेको छ। बी ब्लकको भवन निर्माणाधीन अवस्थामा छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा निर्माण गरिएको ए ब्लक भवन काठमाडौंको रामसागर जेभीले तीन वर्ष लगाएर निर्माण सम्पन्न गरेको हो ।

भवन अण्डरग्राउन्ड पार्किङसहित पाँच तलाको छ। ५७ वटा सटर रहेको उक्त भवनमा कृषि थोक सामानलाई विशेष प्राथमिकता दिइने बताइएको छ। भवनमा एकपटकमा १४ जना अट्ने लिफ्ट जडान गरिएको छ। २७ वटा चारपांग्रे कार र ५० वटा मोटरसाइकल अट्ने अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ। नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीका अनुसार पहिलो र दोस्रो तलामा तरकारी बजार, फर्निचर, फेन्सी, घडी, पुस्तक पसल राखिनेछ। यस्तै, अन्य तलामा बैंक तथा वित्तीय संस्थाको कार्यालय, इलेक्ट्रोनिक पसल, रेस्टुरेन्ट, सभाहल, कार्यालय राखिनेछ।

निर्माणाधीन बी ब्लकमा कोल्डस्टोर, सिनेमा हललगायत अन्य दैनिक उपभोग्य र खुद्रा तथा अत्यावश्यक सामान राखिनेछ। भवनले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्न सहयोग पुग्ने नगरपालिकाकी उपमेयर उमा काफ्लेले बताइन्।

ए ब्लकको भवनबाट मासिक १२ लाख रुपैयाँ नगरपालिकालाई आम्दानी हुने अनुमान गरिएको छ। वडाध्यक्ष चेतबहादुर क्षेत्रीले छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा ल्याउन कृषि भवन उपलब्धिमूलक हुने दाबी गरे। भवन नगरपालिकाले व्यवसायिक रूपमा भाडामा लगाउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए ।
 

ad
ad