Skip This
गाभर भ्याली होमस्टेमा  ‘मौलिक खाना मेला’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Saturday, 27 July, 2024
२o७८ चैत १२ शनिबार o९:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गाभर भ्याली होमस्टेमा  ‘मौलिक खाना मेला’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार o९:१४:oo

लुम्बिनी प्रदेशमा रहेका मौलिक (रैथाने) खानाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा प्रचार–प्रसार गर्न गाभर भ्याली होमस्टेमा दुईदिने ‘मौलिक खाना मेला’ आयोजना हुने भएको छ । मेला चैत १२ र १३ गते आयोजना गर्न लागिएको हो ।

रैथाने खानाको स्वाद चाख्ने व्यवस्थासहित खानाका परिकार बनाउने विधिहरूको अध्ययन, अभिलेखीकरण र प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले खाना महोत्सव गर्न लागेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए । मौलिक खाना मेला सञ्चालन गरी लुम्बिनी प्रदेशका समुदाय विशेषमा आधारित रैथाने खानाहरूको पहिचान र प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागेको उनको भनाइ छ । आधुनिक विकासका कारण मानिसको जीवनशैलीमा परिवर्तन भई नेपाली खाना संस्कृतिमा समेत असर पर्दै गएको चौधरीले बताए । यसको कारण हाम्रा मौलिक खानाहरू बिस्तारै हराउँदै र लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘नेपाली रैथाने खाना विदेशी पर्यटकहरूको रोजाइमा पर्दै गएको छ, तर यसको संरक्षण र प्रवर्द्धन गर्न जरुरी छ,’ उनले भने । 

मौलिक कृषिउपज प्रयोग गरिएका खाना मात्र समावेश
‘प्रदर्शनीमा राखिने महत्वपूर्ण मौलिक खानाहरूको अभिलेखीकरण गर्ने र अभिलेखित समुदाय विशेष मौलिक खानाहरूको संक्षिप्त विवरण, पकाउने तरिका र महत्वसहितको मुखपत्र र पाश्र्व चित्र बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी लुम्बिनी प्रदेशमा पर्यटन प्रवर्द्धन एवं विस्तारमा टेवा पुर्‍याउने मेलाको उद्देश्य छ,’ उनले भने, ‘मेलामा विभिन्न जिल्लामा बसोवास गर्ने समुदायले आ–आफ्नो समुदाय विशेष खाना तथा लोपोन्मुख रैथाने कृषिउपजको प्रदशनी गर्नेछन् ।’

खाना मेलामा थारू समुदायमा प्रचलित घोङ्घीको तरकारी, गंगटा, मुसा, सिद्रा माछाको चटनी, आलुको अचार, कचालु, ढिक्री, अनदी चामलको रोटीलगायत मौलिक खानाका परिकार प्रदर्शनीमा राखिने भएको छ । त्यसैगरी, हिमाली भेगअन्तर्गत मुगेली समुदायमा लोकप्रिय मानिने कोदोको रोटी, फापरको ढिँडो, सिस्नोको सागलगायतका परिकार खाने व्यवस्था मिलाइएको चौधरीले बताए । 

उनले मगर जातिको खानाका परिकार र मधेसी समुदायको मौलिक खानाका परिकार पनि मेलामा राखिने जानकारी दिए । ‘मौलिक तर लोपोन्मुख खानालाई मेलामा प्राथमिकता दिइएको छ,’ उनले भने ।   

मौलिक खानासँगै रैथाने नाचको अवलोकन गर्न पाइने 
मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातिमा प्रचलित नाचको अवलोकनसमेत गर्न पाइने भएको छ । मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातिमा प्रचलित नाच हेर्ने व्यवस्था मिलाइएको गाभर भ्याली होमस्टे सञ्चालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताए । 

उनले थारू समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया, लट्ठा, मयूर नाच प्रदर्शन गरिने बताए । त्यसैगरी, हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरेलगायतका नाच महोत्सवमा हेर्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित, तर लोपोन्मुख नाचगानकोे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ ।’ 

मेलालाई प्लास्टिकरहित बनाउने आयोजकको योजना
महोत्सवलाई प्लास्टिकरहित बनाइने भएको छ । प्लास्टिक र प्लास्टिकजन्य वस्तुले पर्यावरणमा असर पार्ने भएकाले ‘मौलिक खाना महोत्सव’मा कुनै पनि प्लास्टिक र प्लास्टिकजन्य वस्तु प्रयोग नगर्ने निर्णय भएको छ । महोत्सवमा साल र मालु पातको दुना–टपरीमा मात्र खाना खुवाउने गाभर भ्याली होमस्टे सञ्चालक समितिका सचिव अनिलकुमार थापाले बताए । आवश्यक पर्ने दुना–टपरीको जोहो भइसकेको बताउँदै उनले प्लास्टिकका झोलासमेत प्रयोग नहुने दाबी गरे ।