मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नाम्खा गाउँपालिका– ६ मा स्थानीयको आफ्नै नीति–नियम छ । महत्वपूर्ण निर्णय लिन उनीहरू कात्तिक अन्तिम साता र मंसिरको पहिलो साता बैठक बस्छन् । गत ३० मंसिरमा बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको छ ।
२०७८ चैत ४ शुक्रबार ०६:३२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनाव नहुँदै हुम्लाका लिमीवासीले चुने जनप्रतिनिधि

Read Time : > 1 मिनेट
२०७८ चैत ४ शुक्रबार ०६:३२:००

नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाले वडाध्यक्ष र सदस्य चुनिसके, वैशाखमा हुने निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्ने

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम ५ जेठ ०७९ मा स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुँदै छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय निर्वाचनको मिति तोकेको छ । तर, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ लिमीका मतदाताले भने वडाका जनप्रतिनिधि टुंगो लगाइसकेका छन् । हल्जी, जाङ, तिल गाउँका स्थानीयले ३० मंसिरमै बैठक बसे नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् । 

यी तीन गाउँमा स्थानीय नीति–नियम लागू हुँदै आएको छ । त्यसकै आधारमा वडा नम्बर ६ मा निर्वाचन सम्पन्न भएको हो । कात्तिक अन्तिम साता र मंसिरको पहिलो साता लिमेली जनताले बैठकमार्फत महत्वपूर्ण निर्णय गर्ने गर्छन् । वडा नम्बर ६ मा हालकै वडाध्यक्ष पाल्जोर तामाङ दोहोरिएका छन् । सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएका छन् । यसअघि वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा याङकी तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए । 

अब सरकारले तोकेको ३० वैशाखको निर्वाचनमा लिमीमा वडाध्यक्षदेखि वडा सदस्य कसैको मतदान हुने छैन्, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्ने वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका तीन गाउँमा तीनवटा मतदान केन्द्र छन् । सुनखानी आधारभूत विद्यालय हल्जीमा दुई सय २६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा दुई सय पाँच र हिमशिखर प्राथमिक विद्यालय तिलमा एक सय १० गरी मतदाताको संख्या पाँच सय ४१ छ ।

लिमेली जनताको कात्तिक र मंसिरमा महत्वपूर्ण बैठक हुने गरेको वडाध्यक्ष तामाङले बताए । ‘बर्सेनि तीन गाउँमा बैठक हुन्छ, विशेषगरी कात्तिकको अन्तिम र मंसिरको पहिलो साता बस्ने बैठक विशेष महत्वपूर्ण हुन्छ । सो बैठकले कुनै नयाँ निर्णय गर्ने गर्छ,’ उनले भने । खेतबारी जोत्ने, अन्न भिœयाउँदा गाउँवासीको बैठक बस्ने गर्छ । गाउँको अध्यक्षको निर्देशनविना कुनै पनि स्थानीयले काम गर्न पाउँदैनन् । सार्वजनिक मात्रै होइन, निजी कामका लागि पनि अध्यक्षको अनुमति चाहिन्छ । ‘अध्यक्षको अनुमतिविना कुनै काम गर्न पाइँदैन,’ जाङका एक युवाले भने । 

लिमी गाउँमा कात्तिक र मंसिरमा बस्ने बैठकमा उपस्थित हुन नसक्नेले आफ्नो हैसियतअनुसार हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चलन रहेको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार बैठक बस्ने मिति, समय र स्थान पहिले नै तोकिएको हुन्छ । बैठकमा १६ वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घरका मूलीले मात्र बस्न पाउने नियम बनाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय हुम्लाले हिमपात र भौगोलिक विकटताका कारण मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट लिमी छुटेको जानकारी दिएको छ । १७ मंसिरदेखि ९ पुससम्म भएको नामावली संकलन विशेष कार्यक्रममा लिमी गाउँ छुटेको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए ।

वडाध्यक्षमा दोहोरिए पाल्जोर

नाम्खा गाउँपालिका– ६ का हल्जी, जाङ, तिल गाउँका स्थानीयले ३० मंसिरमै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका छन् । वडाध्यक्षमा पाल्जोर तामाङ दोहोरिएका छन् । सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएका छन् । यसअघि वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा याङकी तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए ।