१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण २९ आइतबार १७:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अवरोधको सन्दर्भमा एमाले छलफलमै छ : सुवास नेम्वाङ

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २९ आइतबार १७:३०:००

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमा एमालेले संसदीय समितिमा भाग लिने बताएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा आइतबार नेम्वाङले संसद् अवरोधको सम्बन्धमा भने पार्टी छलफलमै रहेको बताए । 

उनले भने, ‘हामीले समितिमा हाम्रा साथीहरूको नाम पनि दिएका छौँ । समितिले पूर्णता पाएको छ । अब महाअभियोगसम्बन्धी विषय संसदबाट निर्णय भएर सायद २ चैतमा समितिमा पुग्ला र समितिले काम सुरु गर्ला । समितिमा नाम दिएपछि समितिको काममा त भाग लिने कुरामा  विवाद भएन । समितिको काम गर्न अवरोध खुलाउनुपर्दैन । जहाँसम्म हाम्रो अवरोधको सन्दर्भमा पनि हामी निरन्तर छलफल गरिरहेका छौँ । र, यसबारेमा पनि हामी टुंगोमा पुग्छौँ ।’

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले महाभियोग सिफारिस समितिमा एमालेले सदस्य पठाएपछि छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले एमालेले संसद् अवरोध भन्ने तर सरकारका काम गर्न दिएको र एमसिसी पारित गर्न दिइएको भन्दै आश्चर्य व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘संसद अवरोध भन्ने । एमसिसी सम्झौता पारित गर्न दिने । खुरुखुरु सरकारका काम कारबाही गर्न दिने । अनि प्रधानन्यायाधीशविरुद्ध आएको जुन महाभियोग प्रस्ताव छ, त्यो महाभियोग प्रस्तावमा कमिटीको सदस्य बस्ने । अब कमिटीको सदस्य बस्ने निर्णयले त तत् सम्बन्धमा छलफल हुँदाखेरी भाग लिनु त सामान्यतया नैतिकताको कुरा हो जस्तो लाग्छ मलाई । तर त्यस सम्बन्धमा के निर्णय भएको छ, कहाँ, के छलफल भएको छ, त्यो मलाई जानकारी छैन । त्यो सार्वजनिक रूपमा पनि आएको छैन । तर महाभियोगको विषयसम्बन्धी छानबिन समिति बनेको छ । त्यो छानबिन समितिमा सदस्यहरू पठाएपछि त ती सदस्यहरूले त अवश्य पनि छलफल गर्लान् भन्ने यो सामान्य अनुमानको कुरा हो ।’

एमाले सांसद खगराज अधिकारीले सरकार र सभामुखले संसद् अवरोध गरिरहेको आरोप लगाए ।  संसद्लाई प्रभावकारी बनाउन नदिन सरकार र सभामुखले गलत कामहरू गरिरहेको उनको दाबी छ । अधिकारीले महाभियोगको सम्बन्धमा समितिमा एमालेले छलफलमा भाग लिए पनि प्रतिनिधिसभामा भने विरोध जारी राख्ने बताए ।

राणाविरुद्धको महाभियोग प्रस्ताव आइतबार संसद् बैठकमा पेस भएको छ। प्रस्तावकमध्येका एक देव गुरुङले प्रस्ताव बैठकमा पेस गरेका हुन्। अर्को बैठक आगामी २ चैतमा बस्नेछ । यसअघि फागुन २२ गते बसेको संसद् बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो।