
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजित गरिएको छ ।
छलफलको निष्कर्ष बिहीबारको बैठकमा प्रस्तुत हुने पोलिटब्युरो सदस्य होम बुढाथोकीले जानकारी दिए । उनका अनुसार समूहगत छलफल चलिरहेको छ ।
राजधानीमा एक पार्टी प्यालेसमा बुधबार सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन र सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा संगठन सञ्चालन निर्देशिका पनि प्रस्तुत भएको छ ।
राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टीपंक्तिलाई उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन् ।
सम्मानित नेता झलनाथ खनालले पनि पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको बुढाथोकीले जानकारी दिए । बुधबारको बैठकमा नेपाल र खनालले सम्बोधन गरेका थिए ।