१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास प्रिन्ट संस्करण

एनआरएनए निर्वाचन पाँचाैँपटक सर्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२o:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन तथा निर्वाचनको मिति पाँचौँपटक सरेको छ । संघले मंगलबार सूचना जारी गर्दै मार्च २४ र २५ मा महाधिवेशन गर्ने जानकारी गराएको हो । यसअघि मार्च २१ र २२ गते निर्वाचनको मिति तय गरिएको हो । तर, अध्यक्षका प्रत्याशी कुल आचार्य र संघका वर्तमान उपाध्यक्ष सोनाम लामाले निर्वाचनका विषयमा संस्थापन पक्षले गरेको निर्णयको विरोध गरेका छन् ।

संघका सल्लाहकारसमेत रहेका आचार्यले एकलौटी तरिकाले तोकिएको निर्वाचनको मिति मान्य नहुने बताएका छन् । मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘यो संस्था सबैको हो । हामी सबै एउटै परिवार भएर बसेकोमा सानो समूहले आफ्नो स्वार्थका लागि यसलाई प्रयोग गर्दै आएको खुलासा भइसकेको छ । सहनुको पनि एउटा सीमा हुन्छ । अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नुपर्ने वेला आएको छ । म सबै साथीलाई एकढिक्का हुन र संस्थाको हितका लागि जस्तोसुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्छु ।’ 

त्यस्तै, संघका उपाध्यक्ष सोनाम लामाले एकपक्षीय रूपमा गराइने चुनाव मान्य नहुने बताएका छन् । लामाले पनि मंगलबार फेसबुकमार्फत प्रतिनिधि विवाद समाधान नगरी गराइने चुनाव मान्य नहुने बताएका छन् । 

 मंगलबारसम्म अध्यक्षमा दुईजनाको उम्मेदवारी 
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाले उम्मेदवारी दर्ता गराएका छन् । संघको १०आँै महाधिवेशनका लागि सोमबारदेखि खुला गरेको उम्मेदवारी दर्ता मंगलबार पाँच बजेसम्म समय तोकिएको थियो । तर, संघभित्रको विवादका कारण उम्मेदवारीका लागि तीन दिन थपिएको समितिले जनाएको छ । शुक्रबारसम्म उम्मेदवारी दिन सकिनेछ । संघको उपाध्यक्षमा धर्मराज अधिकारी र महासचिवका लागि अमेरिकाबाट गौरीराज जोशी तथा युकेबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । 

 ६० पदाधिकारी मनोनयन गरिने
संघको अध्यक्षसहित ६० पदाधिकारीका लागि मनोनयन हुन लागेको हो । अध्यक्ष एक, उपाध्यक्ष ६ (एक महिला र एक युवा अनिवार्य), महासचिव एक, सचिव चार (एक महिला अनिवार्य), कोषाध्यक्ष एक, सहकोषाध्यक्ष दुई (एक महिला अनिवार्य), महिला संयोजक र युवा संयोजक एक–एक, क्षेत्रीय संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय उपसंयोजक १३, क्षेत्रीय महिला–क्षेत्रीय युवा संयोजकमा ६–६, क्षेत्रीय महिला उपसंयोजक–क्षेत्रीय युवा उपसंयोजक ६–६ पदमा मनोनयन हुन लागेको हो । 

अध्यक्षको  उम्मेदवारले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । उपाध्यक्षले सात लाख, महासचिवले ६ लाख, सचिवले पाँच लाख, कोषाध्यक्षले पनि पाँच लाख, सहकोषाध्यक्षले चार लाख, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजकले तीन लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । त्यस्तै, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ भने क्षेत्रीय महिला उपसंयोजक र क्षेत्रीय युवा उपसंयोजकका लागि दुई लाख रुपैयाँ तोकिएको छ । निर्वाचित आइसिसीले भने शपथग्रहणअगाडि एक लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । 

ad
ad