१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:३८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थल तारबार मर्मत गर्न पैसा छैन भन्छ प्राधिकरण तर, एक अर्ब ८३ करोड बक्यौता उठाउन बाँकी

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:३८:oo

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनी, पाँचतारे होटेलदेखि ठूला ठेकेदारहरूसम्मले शक्तिको आडमा बक्यौता तिरेनन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी पेरिमिटरको तारबार मर्मत गर्न सुरक्षा निकायले केही वर्षदेखि ताकेता गर्दा विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय बजेट नभएको भन्दै पन्छिँदै आएको छ । सामान्य मर्मतका लागि बजेट नभएको बताउने यो कार्यालयले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनी, सरकारी कार्यालय, तारे होटेलदेखि ठेकेदारहरूसम्मबाट एक अर्ब ८२ करोड ९४ लाख २३ हजार ६ सय ९४ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । यो रकम माघ मसान्तसम्मको हो । 

नागरिक उड्डयन कार्यालयले बक्यौता उठाउन चासो नदिएकै कारण कतिपय कम्पनी भाडा तथा दस्तुर नतिरी भागिसकेका छन् । राजनीतिक पहुँच र शक्तिका आडमा व्यवसायीहरूले भाडा तथा सेवाशुल्क तिर्न अटेर गर्ने गरेको नागरिक उड्डयन कार्यालयका अधिकारीहरू बताउँछन् ।

उड्डयन कार्यालयसँग भने विमानस्थलको सुरक्षाका कामका लागि समेत बजेट माग्नुपर्ने अवस्था छ । त्यही कमजोरीका कारण गत ९ फागुनमा एक युवक बाहिरी तारबारबाट छिरेर सीधै विमानभित्र पुगेका थिए । उनी कतार उड्न लागेको नेपाल एयरलाइन्सको बिजनेस क्लासमा पुगेका थिए । 

यो घटना निकै संवेदनशील भएको भन्दै गृह मन्त्रालयले छानबिन गरिरहेको छ । यसमा सुरक्षा निकायले नागरिक उड्डयनलाई नै दोष लगाएका छन् । त्यो घटनापछि उड्डयन कार्यालयले बल्ल मर्मतको काम थालेको छ । बजेट अभावकै कारण बाहिरी पेरिमिटर क्षेत्रमा बलियो सुरक्षा संरचना बनाउन नसकिएको कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । ‘बजेट पर्याप्त नहुँदा २० वर्षअघि लगाइएको तारबार बलियोसँग मर्मत गर्न सकिएको छैन,’ उनले भने, ‘हाल तारबार टुटेका ठाउँमा मर्मत गरिरहेका छौँ, बलियोसँग तारबार गर्न थप बजेट आवश्यक हुन्छ ।’ 

विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर भन्छन्–बक्यौता नतिर्नेलाई हामी छाड्दैनौँ
हामीले विगतको बक्यौता उठाउने प्रयास गरिरहेका छौँ । अब विमानस्थलमा व्यवसाय गर्नेको हकमा पहिलाजस्तो हुँदैन ।

हामीले सुरुमै धरौटी माग्न थालेका छौँ । नयाँ एयरलाइन्स आउँदा हामीले ३० लाख धरौटी माग्न थालेका छौँ ।

यो प्रावधान पहिला थिएन । कुनै विदेशी एयरलाइन्स नेपालमा आउँदा सबै शुल्क तिर्ने ग्यारेन्टीसहित एजेन्ट नियुक्तिलाई अनिवार्य बनाउने निर्णय गरेका छौँ ।

जो एयरलाइन्स तथा कम्पनी नै बन्द भए, तिनीहरूबाट कसरी पैसा उठाउने भनेर हाम्रो हेड अफिसले पनि पोलिसीमा काम गरिरहेको छ । उनीहरूलाई पनि हामी छाड्दैनौं । 

बक्यौता नतिर्ने सबै कार्यालय, कम्पनी र व्यक्तिहरूको सूची :

 

एयरलाइन्सहरूको मात्र करिब ५४ करोड बक्यौता, आन्तरिक उडान मात्र गर्नेहरूमध्ये यतीको धेरै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको बक्यौता मात्रै ५४ करोड छ । हाल सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले १७ करोड ९८ लाख २१ हजार नौ सय र हाल नेपालमा उडान बन्द गरेका एयरलाइन्सहरूको २५ करोड ५१ लाख २१ हजार पाँच सय तिर्न बाँकी छ ।

त्यस्तै, सञ्चालनमा रहेका आन्तरिक एयरलाइन्सको दुई करोड ८७ लाख नौ हजार र बन्द भइसकेका आन्तरिक एयरलाइन्स कम्पनीहरूले आठ करोड ३४ लाख १२ हजार पाँच सय तिर्न बाँकी छ । सञ्चालनमा रहेका आन्तरिक उडान मात्रै गर्नेहरूमध्ये सबैभन्दा धेरै यती एयरलाइन्सले एक करोड ६६ लाख ७२ हजार  नौ सय १८ रुपैयाँ तिर्न बाँकी छ ।

त्यस्तै, सीता एयरले २९ लाख ३३ हजार सात सय ७२ रुपैयाँ र माउन्टेन हेलिकोप्टरले २२ लाख ७६ हजार चार सय ६९ रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सको नौ करोड सात लाख ६८ हजार ५ सय २७ रुपैयाँ, एयर इन्डियाको तीन करोड ६९ लाख २५ हजार पाँच सय र सिचुवाङ एयरलाइन्सको ४७ लाख ४७ हजार तिर्न बाँकी छ । हाल नेपालमा सेवा बन्द गरेकोमध्ये एयर एसियाले मात्र १८ करोड ७४ लाख तिरेको छैन ।

विमानस्थल सेवाशुल्क नियमावलीअनुसार एयरलाइन्सहरूले अवतरण, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, हाउसिङ, सञ्चार तथा उड्डयन सहाय सेवा तिर्नुपर्छ । वायुयानको तौलका आधारमा यस्ता यस्तो शुल्क तोकिएको हुन्छ । यो रकम धेरै एयरलाइन्स कम्पनीहरूले तिरेका छैनन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा १० हजार किलोग्रासम्मको वायुयानले प्रतिहजार किलोग्रामको एक डलर २५ सेन्ट र एक लाख किलोभन्दा धेरै तौल भएकाको हकमा एक लाख किलोग्रामसम्मको चार सय ७५ डलर तथा त्यसपछिको प्रत्येक हजार किलोग्रामको आठ डलर ५५ सेन्ट अवतरण शुल्क तिर्नुपर्छ । पार्किङ शुल्क पनि वायुयानको तौलअनुसार तय गरिएको हुन्छ । 

विमानस्थलभित्र व्यवसायीबाट ७१ करोड १८ लाख ५५ हजार उठाउन बाँकी
विमानस्थलभित्र व्यवसाय गर्ने चालू र बन्द रहेका कम्पनीहरूको मात्रै ७१ करोड १८ लाख ५५ हजार बक्यौता छ । सञ्चालनमा रहेका कम्पनीको ५५ करोड २९ लाख २२ हजार एक सय ९५ र बन्द भइसकेका कम्पनीले १५ करोड ८९ लाख ३३ हजार दुई सय ६९ रुपैयाँ तिर्न बाँकी रहेको विमानस्थित कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

सबैभन्दा धेरै सीता इन्फो नेपालबाट २७ करोड ९२ लाख ३८ हजार उठाउन बाँकी छ । त्यस्तै, रसुवा केडी जेभी (आइएमएस)को १० करोड चार लाख ६९ हजार, युनिभर्सल सप्लाई एजेन्सीको आठ करोड ७२ लाख ७१ हजार र होटेल र्‍याडिसनको ६ करोड ८२ लाख७१ हजार  बक्यौता छ ।

उड्डयन कार्यालयका अनुसार फुडसिटी नेपाल प्रालिको दुई करोड ८६ लाख १८ हजार, देश प्रेम इ प्रालिको एक करोड ७५ लाख ५५ हजार, ग्रिनलाइन इन्टरनेसनल प्रालिको एक करोड ५९ लाख ५६ हजार, कृष्ण ट्रान्सपोर्टको एक करोड ४६ लाख ५३ हजार, स्वनिङगा सर्भिसको एक करोड २४ लाख ७१ हजार  र होटल स्वानिङगा प्रालिको एक करोड २० लाख ६६ हजार बक्यौता छ ।

सरकारी कार्यालयहरूको ५७ करोड बक्यौता, भन्सारको मात्रै ५६ करोड
अन्तर्राष्ट्रिय विमानस्थलभित्र १८ वटा सरकारी कार्यालय छन् । उनीहरूले पनि नागरिक उड्डयन कार्यालयलाई भाडा तिरेका छैनन् । १८ वटा सरकारी कार्यालयको ५७ करोड पाँच लाख दुई हजार बक्यौता छ । त्यसमध्ये भन्सार कार्यालयले मात्र ५६ करोड १० लाख ३९ हजार तिर्न बाँकी छ ।

त्यस्तै नेपाल आयल निगमले ६ लाख ७९ हजार तिर्न बाँकी रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । त्यस्तै, पशु क्वारेन्टिन कार्यालय, बिमा संस्थान, श्रम डेस्क, हुलाक कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, नेपाल प्रहरी, अध्यागमन कार्यालय, नेसनल ट्रेडिङ, परराष्ट्र मन्त्रालयको पनि बक्यौता रहेको छ ।

१६ करोड बक्यौता रहेका  ५१ कम्पनी सम्पर्कविहीन
विगतमा विमानस्थलमा व्यवसाय गरेका र हाल बन्द रहेका ५१ कम्पनीले विमानस्थलला

ई भाडा तिरेका छैनन् । उनीहरूको बक्यौता १५ करोड ८९ लाख ३३ हजार छ । जसमध्ये सबैभन्दा धेरै युनिभर्सल सप्लाई एजेन्सीले आठ करोड ७२ लाख ६१ हजार तिरेको छैन । त्यसपछि देश प्रेम प्रालिको एक करोड ७५ लाख ५५ हजार,  ग्रिनलाइन इन्टरनेसनलको एक करोड ५९ लाख, कृष्ण ट्रान्सपोर्टको एक करोड ४६ लाख ५३ हजार बक्यौता छ । हाल विमानस्थलसँग सम्पर्कमा नरहेका ती कम्पनीका सञ्चालकहरूको सम्पत्ति खोजी गरी रोक्का राख्नेबारे छलफल भएपनि त्यससम्बन्धी प्रक्रिया सुरु नभएको नागरिक उड्डयन कार्यालय स्रोत बताउँछ ।

विमानस्थलमा व्यवसायीको रजगज
हाल विमानस्थलमा व्यवसाय गरिरहेका विभिन्न ६५ कम्पनीले पनि उड्डयन कार्यालयलाई तिर्नुपर्ने रकम तिरेका छैनन् । सबैभन्दा धेरै विमानस्थलभित्रै रहेको र्‍याडिसन होटेलले ६ करोड ८२ लाख ७१ हजार ६ सय ८० रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, विमानस्थलअगाडिको ५० रोपनी १५ आना जग्गा लिजमा लिएर कम्प्लेक्स र पार्किङ क्षेत्र बनाएको रसुवा केडी जेभीले १० करोड तिर्न बाँकी छ । 

हाल आइएमएस एयरपोर्ट सर्भिस प्रालिका नाममा सञ्चालन भइरहेको सो कम्पनीले भाडामा विवाद गरी अदालतमा मुद्दा हालेको छ । सोही आडमा उसले नियमित भाडा तिरेको छैन । तर, भवन तथा पार्किङबाट आम्दानी गर्दै आएको छ । ३० वर्षका लागि सो जग्गा लिजमा लिएको हो । वार्षिक एक करोड ५५ लाख ६९ हजार चार सय रुपैयाँ तिर्ने गरी लिजमा लिएको हो ।

साथै, भवनबाट हुने आम्दानीको सुरुको १० वर्ष पाँच प्रतिशतका दरले नागरिक उड्डयन कार्यालयलाई रोयल्टी तिर्ने उल्लेख छ । निर्माण सुरुभन्दा अगाडिदेखि नै भाडा लिन खोजेको भन्दै उसले सुरुदेखिकै भाडा तिरेको छैन । सो कम्पनी व्यवसायी दीपक मलहोत्राको हो । ठेक्का लिँदा भने त्यसमा कांग्रेस नेता मोहन आचार्य र विवादास्पद व्यवसायी विमल पोद्दारसमेत संलग्न थिए । 

विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बक्यौता नतिर्नेलाई नछाड्ने बताए । ‘हामीले विगतको बक्यौता उठाउने प्रयास गरिरहेका छौँ । अब विमानस्थलमा व्यवसाय गर्नेको हकमा पहिलाजस्तो हुँदैन । हामीले सुरुमै धरौटी माग्न थालेका छौँ । नयाँ एयरलाइन्स आउँदा हामीले ३० लाख धरौटी माग्न थालेका छौँ । यो प्रावधान पहिला थिएन । कुनै विदेशी एयरलाइन्स नेपालमा आउँदा सबै शुल्क तिर्ने ग्यारेन्टीसहित एजेन्ट नियुक्तिलाई अनिवार्य बनाउने निर्णय गरेका छौँ । जो एयरलाइन्स तथा कम्पनी नै बन्द भए, तिनीहरूबाट कसरी पैसा उठाउने भनेर हाम्रो हेड अफिसले पनि पोलिसीमा काम गरिरहेको छ । उनीहरूलाई पनि हामी छाड्दैनौं,‘उनले भने । 

 

ad
ad