१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १८ बुधबार o६:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार o६:२३:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर समारोहमा उपस्थित बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरूमा हुने जोखिम तथा सम्भावनाहरूबारे यथार्थपरक ढंगबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढंगबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए ।

त्रिवि अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा यथार्थपरक रूपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेनदार विद्यार्थीलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधा प्रदान गर्ने उनको भनाइ थियो । अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धानात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए । 

 पाँचजनाले छात्रवृत्ति पाउने
अर्थशास्त्र केन्द्रीय विभागले माग गरी प्राप्त प्रस्तावमध्ये उत्कृष्ट पाँच प्रस्तावलाई छनोट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीलाई सहयोग रकम उपलब्ध गराइने उनले जानकारी दिए । बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँचजना विद्यार्थीलाई ४० हजार रुपैयाँदेखि बढीमा एक लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताए । बैंकले हाल देशभर दुई सय ५८ शाखा, दुई सय ४५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङका माध्यमबाट सेवा दिँदै आएको जनाएको छ ।