१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

जहाजभित्र अनधिकृत व्यक्ति प्रवेश प्रकरण : निगमका सुरक्षा कमान्डर निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:२१:oo

नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलभित्र सुरक्षा लापरबाही भएको भन्दै विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ। कतार उडान भर्ने तयारीमा रहेको एक विमानमा सोमबार राति करिब १० : ५४ बजे एक यात्रु अनधिकृत रूपमा पुगेको घटना बाहिरिएपछि निगमले उनलाई कारबाही गरेको हो।

बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले थापालाई निलम्बन गरिएको जानकारी गराएको छ। सुरक्षा प्रमुखको त्रुटिका कारणले विमानस्थलजस्तो संवेदनशील ठाउँमा यस्तो घटना भएको निगमले जनाएको छ। 

आयल निगमको डिपो रहेको क्षेत्रको तारबार नाघेर रौतहटका हस्पम आलम कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजभित्रै पुगेका थिए। शंका लागेर जहाजका कर्मचारीले सोधपुछ र कागजात हेरेपछि उक्त कुरा थाहा पाएका थिए। प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको बताएको छ। प्रहरीले ती व्यक्तिसँग सोधपुछ गर्दा विमान चढ्ने रहरले आफू त्यहाँ पुगेको प्रतिक्रिया दिएका छन्। 

घटनाबारे जानकारी पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त घटनाबारे छानबिन गर्न निगमलाई निर्देशन दिएका छन्। त्यस्तै विमानस्थलभित्र रहेको प्रहरी कार्यालयलाई पनि सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका छन्। निगमले उक्त घटनाबारे छानबिन गर्नका लागि क्याप्टेन विजय लामाको संयोजकत्वमा छानबिन उपसमिति गठन पनि गरेको छ।

 

 


 

ad
ad