
नेपाल प्रहरीले बानेश्वर क्षेत्रको सुरक्षा बढाएको छ। त्यस क्षेत्रमा झन्डै दुई हजार चार सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) ले जनाएको छ। प्रदर्शनकारीबाट हुन सक्ने अराजक गतिविधि तथा क्षति रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।
माघ ८ गते भएको प्रदर्शनको सुरक्षामा केही कमजोरी भएकाले बिहीबारको सुरक्षा अवस्थालाई थप प्रभावकारी पार्न धेरैको संख्यामा प्रहरी परिचालन गरिएको मेट्रोका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंका एसपीको कमान्डमा आजको सुरक्षा टोली परिचालन गरिएको छ।
परिसर, मेट्रो, बानेश्वर वृत्त, सिंहदरबार वृत्तका अधिकांश प्रहरी सडकमा परिचालन गरिएको छ। सुरक्षा कमजोर हुन सक्ने भन्दै मेट्रोले हेडक्वार्टरबाट करिब सात सय प्रहरी माग गरेको थियो। सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रवक्ता राठौरले बताए। उनले भने, ‘आज पानीको फोहोर हान्ने पाँचवटा ट्यांकर बानेश्वर क्षेत्रमा राखेका छौँ, अन्य सुरक्षा व्यवस्था पनि कडा छ।’ त्यस्तै अमेरिकी राजदूतावासअगाडि पनि सुरक्षा अवस्था कडा पारिएको छ।
संसदमा आज एमसिसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संगठनले आन्दोलन सुरु गरिसकेका छन्। अहिले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ।