१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
४४ वर्षीय नरबहादुर श्रेष्ठ र उनले उत्पादन गरेको नक्कली बिस्कुट तथा कुकिज
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नरबहादुरको धन्दा : महसँगै नक्कली बिस्कुट उत्पादन 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१८:oo

गुणस्तहीन मह उत्पादनमा रंगेहात पक्राउ परेका सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ का ४४ वर्षीय नरबहादुर श्रेष्ठ नक्कली बिस्कुट तथा कुकिज उत्पादनमा पनि संलग्न रहेको खुलेको छ । महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागले श्रेष्ठबाट सञ्चालित ललितपुर महानगरपालिका–२७ सुनाकोठी ओखटास्थित कारखानामा छापा मारेपछि यो तथ्य खुलेको हो । 

नक्कली मह उत्पादनमा गत ६ माघमा पक्राउ परेका श्रेष्ठ केही साताअघि मात्रै दुई लाख रुपैयाँ धरौटीमा जिल्ला प्रशासन कार्यालयबाट छुटेका थिए । प्रहरीका अनुसार उनले बजारमा उपलब्ध मिति सकिएका बिस्कुट तथा पाउरोटी संकलन गर्ने, सुकाएर धुलो बनाउने र त्यसैमा रसायन मिसाएर कुकिज तथा बिस्कुट उत्पादन गर्दै आएका थिए । 

एसएसपी वसन्त कुँवर, प्रमुख महानगरीय अनुसन्धान महाशाखा
नरबहादुर श्रेष्ठ नक्कली मह उत्पादन धन्दामा पक्राउ परेका थिए । लगत्तै धरौटी रकम बुझाएर छुटे । उनले अरू पनि नक्कली धन्दा गरेको सूचना थियो । त्यसैले हामी निगरानी गरिरहेका थियौँ । यहीक्रममा सुनाकोठीस्थित उनको अर्को कारखाना फेला पर्‍यो । जहाँबाट नक्क्ली बिस्कुट तथा कुकिज उत्पादन हुँदै आएका थिए ।

अनुसन्धानमा संलग्न महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले तीन वर्षअघिका पुराना पाउरोटी तथा बिस्कुट धुलो बनाएर नयाँ उत्पादन गर्दै आएको अनुसन्धानबाट खुलेको बताए । ‘नरबहादुर श्रेष्ठ नक्कली मह उत्पादन धन्दामा पक्राउ परेका थिए । लगतै धरौटी रकम बुझाएर छुटे । उनले अरू पनि नक्कली धन्दा गरेको सूचना थियो । त्यसैले हामी निगरानी गरिरहेका थियौँ । यहीक्रममा सुनाकोठीस्थित उनको अर्को कारखाना फेला पर्‍यो । जहाँबाट नक्क्ली बिस्कुत तथा कुकिज उत्पादन हुँदै आएका थिए,’ कुँवरले भने ।

प्रहरीका अनुसार श्रेष्ठले ‘स्पर्श बेकरी एन्ड कुकिज’को ब्रान्डमा नक्कली बिस्कुट, पाउरोटी, कुकिज, बे्रडक्रम उत्पादन गर्दै आएका थिए । ‘स्पर्श फुड प्रोडक्ट एन्ड प्याकेजिङ कम्पनी र ‘श्रीतारा फुड्स एन्ड स्पाइसी प्याकेजिङ प्रालि’मार्फत उनले अखाद्य पदार्थ उत्पादन गर्दै आएका थिए । तर, दुवै कम्पनीले खाद्य तथा गुण नियन्त्रण विभागबाट स्वीकृति नलिएको अनुसन्धानबाट खुलेको छ । उनले नक्क्ली मह पनि ‘स्पर्श’ ब्रान्डबाटै उत्पादन गर्दै आएका थिए ।

विनाइजाजत कम्पनी सञ्चालन
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले विनाइजाजत श्रेष्ठले अखाद्य पदार्थ उत्पादन गर्दै आएको अनुसन्धानबाट खुलेको बताए । ‘उनले स्पर्श ब्रान्डबाट अखाद्य पदार्थ मिसिएको बिस्कुट, कुकिज, पाउरोटी उत्पादन गर्ने रहेछन् । यसका लागि दुईवटा कम्पनी नै खडा गरेको देखिन्छ । तर, दुवै कम्पनीले नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति लिएको देखिँदैन,’ कोइरालाले भने ।

प्रहरीले श्रेष्ठको अवैध कारखानाबाट बरामद तीन वर्ष पुराना कुकिज, सडेगलेका र म्याद नाघेका पाउरोटी, भेनेगर, चिनी, अजिनोमोटो, बेकिङ, चकलेट र कोका पाउडर, चिउरालगायतका सामग्री नष्ट गरेको छ । प्रहरीका अनुसार उनले म्याद नाघेको कुकिजको धुलोबाट बटर चकलेट, काजु कुकिज उत्पादन गर्दै आएका थिए । सडेगलेका र म्याद नाघेका पाउरोटीबाट क्रन्ची तथा चिकेन रोस्ट, बिस्कुट बनाउँदै आएका थिए । छापापछि प्रहरीले कारखाना सिल गरेको छ । 

‘कारखानामा म्याद गुज्रेका बिस्कुट, पाउरोटी, कुकिज फेला परेका छन् । सोही अखाद्य पदार्थलाई सुकाउने, धुलो बनाउने, केमिकल मिसाउने, कुकिज, बिस्कुट, पाउरोटी उत्पादन गर्ने र नयाँ ब्रान्डमा बजारमा लगेर बेच्ने गरेको पाइयो । कारखानाबाट धेरै अखाद्य पदार्थ बरामद भएका छन् । सबै अखाद्य पदार्थ नष्ट गरिएका छन् । कारखाना सिल गरिएको छ,’ एसपी कोइरालाले भने ।  

प्रहरीले यसपटक श्रेष्ठलाई भने पक्राउ गरेको छैन । कारबाही गर्ने अधिकार खाद्य तथा गुण नियन्त्रण विभागको भएकाले पक्राउ नगरिएको महाशाखाको भनाइ छ । श्रेष्ठ सत्तारुढ दल एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन् । यसअघि प्रहरीले उनको ठमेलको ज्याठास्थित मह उत्पादन कारखानामा छापा मारेको थियो । कारखानाबाट प्रहरीले सात हजार लिटर नक्कली मह बरामद गरेको थियो । कालाबजारी अभियोगअन्तर्गत मुद्दा दर्ता भएका उनको पक्षमा एकीकृत समाजवादी जिल्ला समिति सिन्धुपाल्चोकले विज्ञप्तिसमेत निकालेको थियो ।

ad
ad