मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण ९ सोमबार ०६:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण ९ सोमबार ०६:३०:००

लमजुङको बेँसीसहर नगरपालिका गाउँसहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिले विगतका वर्षमा जस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु गरेको हो । समितिका अध्यक्ष देवबहादुर गुरुङले वनमा लालीगुराँस लटरम्म फुलेको र यो पर्यटकहरूको आकर्षण भएकाले उक्त प्याकेजलाई निरन्तरता दिइएको बताए । उनले भने, ‘काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्तासमेत आउँछन् ।’ विशेष गरी स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेको उनको भनाइ छ ।  

सन् २०११ मा काउलेपानीमा घरवास कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा  १५ घरमा होमस्टे सञ्चालन भएको छ, जसमा ८४ बेड रहेका छन् । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमशृंखला देख्न सकिन्छ । शाहवंशीय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रूपमा अवलोकन गर्न पनि काउलेपानी पुग्नुपर्ने होमस्टे अभियन्ताहरू बताउँछन् । 

काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागि प्याकेजको व्यवस्था गरिएको छ । काउलेपानीमा १२ महिना नै पर्यटकको मन लोभ्याउने प्रशस्तै रमणीयस्थल अनि मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

वर्षभरि नै प्याकेज
काउलेपानीमा चैत र वैशाखमा काफल र ऐँसेलु प्याकेज, जेठ महिनामा जडीबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज रहेका छन् । यसैगरी, भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मसिरमा दाइँ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । लमजुङको सदरमुकाम बँेसीसहरबाट मोटरमा करिब आठ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी पैदल यात्राबाट डेढ घन्टामा पुग्न सकिन्छ ।