
सोमबारदेखि धनगढीमा यू–१९ विद्यालयस्तरीय धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग टी–२० प्रतियोगिता हुनेछ । छैटौँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता २ देखि १४ फागुनसम्म धनगढीस्थित संघीय प्रहरीको खेलमैदानमा हुनेछ । उद्घाटन खेलमा पाँचौँ संस्करणको उपविजेता तथा आयोजक लिटिल फ्लावर बोर्डिङ हाई स्कुल धनगढीबीच खेल हुनेछ । आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् ।
मेयर वडले धनगढीलाई क्रिकेट सहरको रूपमा परिचित गराउने उपमहानगरपालिकाको उद्देश्यअनुरूप यस्ता प्रतियोगिताले थप ऊर्जा मिलेको बताए । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालसहित उपकप्तान शेर मल्ललगायत यू–१९ राष्ट्रिय क्रिकेटर अर्जुन साउद, आदिल अन्सारी, राहुल भण्डारी, विपिन रावल, आकाश चन्द, विशालविक्रम केसी, बसिर एहमदजस्ता खेलाडीहरू विभिन्न टोलीबाट खेल्दै छन् ।
प्रतियोगितामा १० विद्यालय सहभागी छन् । सहभागी टोलीलाई ए र बी गरी दुई समूहमा विभाजन गरिएको छ । समूह एमा हिमालयन ह्वाइटहाउस वल्र्ड स्कुल काठमाडौं, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इंग्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली छन् । समूह बीमा आयोजक लिटिल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इंग्लिस मिडियम स्कुल लम्की, स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुल धनगढी, विद्याभूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।
प्रतियोगिताका लागि संघीय प्रहरीको खेलमैदान दुई महिनाअगाडि देखि तयार गरिएको थियो । यसअघि २२ माघमा प्रतियोगिता हुने घोषणा गरिएको थियो । कोभिड–१९ का कारण खेल १० दिन सारिएको हो । प्रतियोगिताको विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचले दुई हजार रुपैयाँ, र प्रत्येक खेलको गेम चेन्जरले एक हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।