Skip This
बच्चा चोरी घटनामा संलग्न तीनजना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o७८ माघ २८ शुक्रबार o८:१२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बच्चा चोरी घटनामा संलग्न तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार o८:१२:oo

बच्चा चोरीको आरोपमा धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–८ पगलाबाबा नजिकैबाट बुधबार भएको चोरीको घटनामा खोजतलास गर्दा बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी बच्चा चोरी कार्यमा संलग्न रहेको आरोपमा धनुषा गणेशमान चारनाथनगरपालिका–१० की मनीषादेवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्णकुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

जनकपुरधाम–७ बस्ने मोहम्मद अमिर राइनका सातमहिने छोरा अख्तर र सात वर्षीया बहिनी एलिजा खातुन घरनजिकै खेलिरहेका वेला बुधबार साँझ ६ बजे मनीषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाएकी थिइन् । एलिजा पसल गयलगत्तै मनीषाले अख्तरलाई लिएर भागेका थिइन् । घटनालगत्तै एलिजाले रातो साडी लगाएकी महिलाले भाइलाई लिएर भागेको जानकारी दिएकी थिइन् । यसपछि  सामाजिक सञ्जालमा बच्चाको फोटो राखेर खोजी सुरु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा प्रहरी टोली परिचालन गरी बच्चा खोजतलास गरेको थियो । प्रहरी खोजतलासका क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम–१९ बेंगाशिवपुर पिपराढीस्थित हाँस तथा भैँसी फारमको पछाडि खेतमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पत्रकार सम्मेलनमा मनीषासँगै पक्राउ परेका किरण राम र कृष्णकुमार यादवले पनि बच्चा चोरीमा सहयोग गरेको बताए । बच्चा चोरीमा सघाएबापत मनीषाले १३ हजार रुपैयाँ दिएको यादवले बताए । पक्राउ परेकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको धनुषा प्रहरीले जनाएको छ ।