मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नरजन तामाङ
२०७८ माघ २४ सोमबार ०८:१०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम हिमपात : किसानको सपनामा तुसारापात

Read Time : > 2 मिनेट
नरजन तामाङ
२०७८ माघ २४ सोमबार ०८:१०:००

जलवायु परिवर्तनका कारण वनपाखा र गाउँबस्तीमा कम हिमपात हुन थालेपछि हुम्ली किसानका सपनामा तुसारापात हुन थालेको छ 


पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला : हुम्लाका गाउँघरतिर पुराना बुढापाकाहरू उखान सुनाउँछन्– पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुन महिनाको हिउँ टिलाफिला । पुस महिनाको हिउँ छिटै नपग्लने भएकाले बरफ जम्छ र जमेपछि त्यो चट्टानजस्तो हुने भएकाले त्यसलाई ‘शिला’ नाम दिइयो । माघ महिनामा पर्ने हिउँ बढ्दो तापक्रमले गर्दा छिटै पग्लने अर्थात् बिलाउने हुँदा माघको हिउँको नाम बिला राखियो । फागुन महिनामा हिमपात हुँदा यताउता हिँडडुल गर्दा दायाँबायाँ फाल्दाफाल्दै मिलिक्कै बिलाउने हुनाले त्यसलाई टिलाफिला भनिएको बुढापाकाको भनाइ छ ।

पहिले–पहिले खुब पर्थ्यो हिउँ : पहिले–पहिले हुम्लामा अत्यधिक मात्रामा हिउँ पथ्र्यो । वर्षैभरि जस्तो हिउँले ढाकिएका हिमाल र डाँडाकाँडाहरू चाँदीझैँ टलक्क टल्किन्थे । कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटलगायत जिल्ला हिउँकै कारण मनमोहक देखिने गर्थे । यहाँका पाखा, पखेरा, डाँडाकाँडा र हिमाल अत्यन्त सुन्दर र मनमोहक देखिन्थे । यहाँका वनपाखामा पाँचदेखि ६ फिटसम्म हिउँ जम्थ्यो । जसले गर्दा यहाँका एक घरबाट अर्को घर, एक बस्तीबाट अर्को बस्ती र एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्नसमेत निकै कठिनाइ हुने गथ्र्यो । तर, जनजीवन जतिसुकै कष्टकर भए पनि जति बाक्लो हिउँ पथ्र्यो, त्यति नै स्थानीय खाद्य बालीको उत्पादन बढ्थ्यो । जसले गर्दा जति बाक्लो हिउँ पथ्र्यो, यहाँका किसान त्यति नै बाक्लो खुसी हुन्थे । 

कम हिउँ, बढी चिन्ता : तर, पछिल्लो समयमा जलवायु परिवर्तनको प्रभाव यहाँ पनि देखिन थालेको छ । जसले गर्दा यहाँ बढीमा एक–दुई फिटसम्म मात्र हिउँ पर्न थालेको छ । जब–जब हुम्लाका वनपाखा र गाउँबस्तीमा कम हिमपात हुन्छ, तब–तब हुम्ली किसानका सपनामा तुसारापात हुन थाल्छ । किनकि, कम हिउँ कम समयमै पग्लेर सकिन्छ । हिउँ पग्लेर सकिएपछि चैततिर जमिन निकै सुक्खा हुन्छ । उब्जनी कम हुन्छ । धुलो उड्न थाल्छ । जसले गर्दा यहाँ रुघा, खोकीजस्ता रोग बढ्न थाल्छन् । त्यसैले पनि जति कम हिउँ पर्छ, हुम्ली जनता त्यति नै बढी चिन्तित हुन्छन् । 

चाँदीझैँ टल्किन्थे डाँडाकाँडा : हिउँ परेर उजाड डाँडाकाँडा र हिमाल चाँदीझैँ टलक्क टल्किन्थे । यहाँका हिमाल र डाँडाकाँडा बाह्रै महिना सेताम्मे देखिन्थे । तर, पछिल्लो समय कम हिउँ पर्न थालेपछि यहाँका हिमाल र डाँडाकाँडाबाट छिटै हिउँ पग्लिने गरेको छ । जसले गर्दा बोटबिरुवा नभएका नांगा पाखापखेरा छिटै उजाड देखिने गरेका छन् । बाह्रै महिना सेताम्य हिमाल र डाँडाकाँडा चाँदीझैँ टलक्क टल्कन्थे । पुराना पुस्ताले बाक्लो हिउँमा राम्रो उब्जनीको सम्भावना देख्थ्यो । जनजीवन कष्टकर भए पनि त्यसलाई प्रकृतिको वरदानका रूपमा स्विकाथ्र्यो । अहिलेको पुस्ताले निकै बाक्लो हिउँको कष्टकर जनजीवन झेल्नुपरेको छैन । उनीहरू हिउँमा रमाउन थालेका छन् । हिउँ खेल्न पाउँदा उनीहरू दंग पर्छन् । बाक्लो हिउँ परेपछि असोज महिनादेखि पुससम्म छरिने जेठासी बाली उवा, जौ र गहुँको उत्पादन राम्रो हुन्थ्यो । यो समयमा जति बाक्लो हिउँ पर्छ, त्यति नै चैत, वैशाखतिर छर्न सुरु हुने कात्तिके बाली कोदो, फापर, चिनो, मार्चे, लट्टे, भटमास, धान, सिमी, कागुनो, आलु आदिको उत्पादन राम्रो हुन्छ । बालीनाली मात्र होइन, हुम्लीको जीवनबुटी मानिने यार्सागुम्बा, जटामसी, अत्तिस, सोतो चिनीजस्ता बहुमूल्य जडीबुटीको उत्पादनमा पनि अहिले पर्ने हिउँको ठूलो योगदान हुन्छ । 

जलवायु परिवर्तनको असर : पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा जलवायु परिवर्तनका कारण पर्याप्त हिउँ पर्न छाडेको छ । सदरमुकाममा माटाले छाएका घर हुन्थे, वनजंगल कम मासिन्थे । जसले गर्दा जलवायु परिवर्तनको असर खासै देखिएको थिएन । पछिल्ला केही वर्षयता गाउँ–गाउँमा जस्तापाता भएका घर निर्माण गर्न थालेपछि जलवायु परिवर्तनको असर कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोटलगायत जिल्लामा पनि परेको छ । वर्षैभरि सेताम्मे देखिने डाँडापाखामा हिउँ देख्नै मुस्किल पर्ने गरेको छ । हुम्लामा कम हिमपात हुन थालेपछि यहाँका जनताको जनजीवन थप कष्टकर हुँदै जान थालेको छ ।