मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नरजन तामाङ
२०७८ कार्तिक ३ बुधबार ०९:१९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कर्णालीमा देउता र मानिसको द्वैधसत्ता

Read Time : > 2 मिनेट
नरजन तामाङ
२०७८ कार्तिक ३ बुधबार ०९:१९:००

कर्णालीमा परम्परादेखि चल्दै आएका देउता र राज्यसत्ताका फरक–फरक ‘अदालत’ अस्तित्वमा छन् । यहाँका जनतामा देशको लिखित कानुनमाथि भन्दा अलिखित परम्परामाथि बढ्ता विश्वास छ । 


‘देवपुरी हुम्लो’ भन्ने उखानले हुम्ली समाजलाई न्यायको अनुभूति दिइरहेको हुन्छ । यसैले पनि यो शब्दप्रति हुम्ली जनजीवनको आकर्षण आजसम्म पनि उत्तिकै कायम छ । यसैका आधारमा अझै पनि हुम्लाका दुई सयभन्दा धेरै गाउँबस्तीमा ‘देवपुरी हुम्लो, बह्मापुरी जुम्लो’को सन्दर्भ चल्दै आएको छ । 

हुम्लामा जुन गाउँ गए पनि त्यसको वरपर माडुँ (देवदेवीका थान) नै देख्न पाइन्छ । माडुँको अर्थ मार्ने हो । यो नकारात्मक अर्थ किन स्थापित भएको हो भने तत्कालीन अवस्थामा त्यस बाटो भएर दुस्मन गाउँभित्र छिर्न खोजेमा उसलाई मार्ने वा दुस्मनलाई ठेगान लगाउने स्थान भएकाले ‘माडुँ’ भनिएको हो ।

राजाको ऐनभन्दा खोलाको चैन ठूलो : राजाको ऐनभन्दा खोलाको चैन ठूलो भन्ने उखानलाई हुम्लाका धामीहरूले सार्थक बनाएका छन् । विशेषगरी मुद्दामामिला, ग्रहदशा, विवाह, व्रतबन्ध र अन्य विषयमा यहाँका जनता गाउँठाउँका प्रसिद्ध देवताको माडुँमा न्याय खोज्न जाने गर्छन् । 

गरिब र निमुखाको सरकारसम्म पहुँच नहुने भएपछि न्याय माग्न यहाँका देवताको माडुँहरूमा गएर न्याय खोज्ने चलन शताब्दीयौँदेखि चल्दै आएको छ । हुम्लामा दुई सरकार भएको अनुभूति गर्नुहुन्छ, खार्पुनाथ गाउँपालिका–५ का ८५ वर्षका बुद्धिजीवी जितबहादुर शाही । गरिब निमुखा जनताले जुगौँदेखि देवताको माडुँ गएर न्याय माग्ने चलन छ र ढिलोचाँडो मात्रै हो, देवताले पीडितलाई न्याय दिने पनि गरेको शाहीको अनुभव छ । पहुँच हुने र हुनेखानेहरूले नेपाल सरकारबाट न्याय लिन्छन्, तर गरिब निमुखा भने देवताको भर पर्दै आएका छन् । जिल्लाका झन्डै ४० प्रतिशतभन्दा बढी जनताले यसरी देवतासामु न्याय माग्ने गरेको आकलन गरिएको छ । 

कर्णालीमा दुई सरकार : सुन्दा अचम्म लाग्न सक्छ, कर्णालीमा न्याय दिने दुई सरकार छन् । यो परम्परागतदेखि नै चलिआएको चलन हो । अन्यायमा परेका आफू पीडित हुँ भन्ने स्थानीयहरूले फरक–फरक सरकारलाई गुहार्दै आएका छन् । नेपाली उखान छ ‘न्याय नपाए गोर्खा जानू, विद्या नपाए कासी जानू’ । कर्णालीमा यसको ठीक उल्टो छ । गरिब निमुखा न्याय नपाएर देवीदेवताका माडुँमा धाउँछन् । अधिकांश निमुखा र गरिब जनताका लागि न्याय दिने न्यायालय भनेकै देवीदेवताका माडुँ हुन् ।

देवताका माडुँहरूबाट न्याय माग्ने क्रममा पीडितले पीडकलाई धेरैभन्दा धेरै नसिहत र जरिवाना होस् भनी दियो बालेर पिठ्यँुमा ढुंगा बोकी, मुखमा दुबो च्यापी, भुजपत्रको टोपी, काँडाको ओछ्यान, फेरेको गादो र मोसोको टीका लगाई रुँदै कराउँदै करबद्ध भई प्रार्थना गर्ने चलन छ । हुम्लाका धेरैजसो जनता अदालतमाथि भन्दा माडुँको न्यायमाथि बढ्ता विश्वास गर्छन् । उनीहरूलाई लाग्छ, अदालतमा त पहँुचवाला र मुखालेहरूले प्रमाण जम्मा गरी आफ्नो पक्षमा फैसला गराउँछन् । त्यसैले त ‘देवपुरी हुम्लो, ब्रह्मापुरी जुम्लो’ भन्ने जनश्रुतिले मान्यता पाएको देखिन्छ । मुलुकी देवानी संहिता ०७४ गरिब निमुखाभन्दा शक्तिमा रहेका र पहुचवालाहरूका लागि मात्र भएको अधिकांश हुम्ली जनता विश्वास गर्छन् । 

हुम्लामा प्रत्येक गाउँ–गाउँमा थान : जिल्लाका प्रत्येक गाउँठाउँमा देवताका माडुँ छन् । देवताको माडुँ नभएको गाउँ भेटिन्नन् यहाँ । थरीथरीका नाममा देवताका थरीथरीका पूजाआजा हुन्छन् यहाँ । हुुम्लामा हिल्सो देवताका मात्रै नाम मुख्या हिल्सो, कुति हिल्सो, ठुलो माडुँ, चरी हिल्सो, बुढी हिल्सोलगायत नाम छन् । कुनै हिल्सोको पूजाआजा भाले भेडा बली दिएर गरिन्छ भने कुनै हिल्सोको जाँड छ्याङबाट पूजा हुन्छ । अधिकांश हिल्सो देवताका माडुँ थान रैसको बोट भएको स्थानमा हुन्छ । 

थरीथरी नामका देवता : हुम्लाका अधिकांश ठकुरी समुदायले भुवानी र कैलाश देवताको पूजा गर्छन् भने खस समुदायले अन्य देवता कालो सिल्तो, रामपाल, हंसपाल, बेताल मस्टो कैलाश, महादेव, सर्की ल्वासुर हिल्सो, महाकाल, गुरा, मदानोलगायत अनेकन माडुँको पूजाआजा गर्ने गर्छन् । लामा समुदायमा महाकाल, हिस्लो टुङमा देवताको पूजाआजा हुन्छ । हुम्ला जिल्ला मात्रै नभई अछाम, बाजुरा, मुगु, दार्चुलालगायत जिल्लाबाट पनि यहाँ पूजाआजा गर्न आउने भक्तजन निकै हुने गरेका छन् । यहाँका माडुँका धामीझाँक्रीले न्यायाधीशका रूपमा न्यायको छिनोफानो गर्ने गरेका छन् र हुम्ली जनताले उनीहरूको न्यायलाई स्विकार्दै आएका पनि छन् । 

गरिब निमुखाको अदालत : गाउँघरमा झैझगडा जारी, चोरी, जग्गा अंश, ठगी, ज्यानमारा आदि प्रकृतिका फौजदारी र देवानी दुवै प्रकारका मुद्दा छिन्ने काम देवताका थान माडुँबाट हुने गरेको छ । यहाँका स्थानीय जनताले देशको लिखित कानुनमाथि भन्दा अलिखित परम्परामाथि बढ्ता विश्वास गर्दै आएका छन् ।

देवताले दूधको दूध पानीको पानी हुने गरी छानबिन गर्दै न्याय दिन्छन् भन्ने धेरैजसो हुम्ली जनताको मन–मस्तिष्कमा परेको छ । कतिपय सन्दर्भमा यस्ता रीतिथिति असान्दर्भिक हुँदाहुँदै पनि शिक्षाको कमी, पुरातन मान्यता र अगाध विश्वासका कारण यस्तो प्रचलनले निरन्तरता पाइरहेको छ ।