
सर्वाधिक ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने पुरुष खेलाडीको कीर्तिमान स्पेनिस टेनिस स्टार राफेल नाडाल बनाएका छन् । मेलबर्नमा आइतबार भएको अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्दै ३५ वर्षीय नाडालले कीर्तिमान बनाएका हुन् । खेलमा नाडालले दोस्रो वरीयताका रुसी खेलाडी डानियल मेदभेदेभमाथि उत्कृष्ट जित निकालेका हुन् ।
पहिलो दुई सेट गुमाए पनि नाडालले त्यसपछिका तीन सेट जित्दै ३–२ को जित निकालेका हुन् । पहिलो सेट २–६ र दोस्रो सेट ६–७ ले गुमाएका नाडालले त्यसपछि ६–४, ६–४ र ७–५ ले जित्दै च्याम्पियन बनेका छन् । अस्ट्रेलियन ओपन च्याम्पियन बनेसँगै नाडालले २१औँ ग्रान्डस्लामको उपाधि जितेका छन् । नाडाल सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररसँग बराबरीमा थिए । जोकोभिच र फेडेररले २० वटा ग्रान्डस्लामको उपाधि जितेका छन् ।