१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा गोल गर्दै नेपाली स्ट्राइकर विमल घर्तीमगर । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

११ वर्षपछि अन्तर्राष्ट्रिय  मैत्रीपूर्ण खेलमा नेपालको जित 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१५:oo

नेपालले ११ वर्षपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जित हात पारेको छ । दशरथ रंगशालामा दक्षिण अफ्रिकी देश मोरिसससँग शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–० को जित निकाल्दै नेपालले जितको खडेरी तोडेको हो ।

नेपालले अन्तिमपटक मैत्रीपूर्ण खेलमा भुटानलाई सन् २०११ मा हराएको थियो । नेपालको जितमा एक मात्र गोल स्ट्राइकर विमल घर्तीमगरले गरे । खेलको ५५औँ मिनेटमा अञ्जन विष्टको सटिक पासमा डिबक्सबाहिरै बल नियन्त्रणमा लिँदै विमलले गोल गरेका हुन् । उनले प्रहार गरेको बल पहिलो बारमा ठोक्किँदै गोलमा परिणत भएको थियो । नेपालका लागि यो उनको नवौँ अन्तर्राष्ट्रिय गोल हो ।

प्रतिस्पर्धामा नेपालबाट दुई र मोरिससका खेलाडीले एकपटक बल बारमा प्रहार गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा बाहेक नेपालले अघिकांश समय मोरिससमाथि दबाब राखेको थियो । 

नेपाल सुरुदेखि नै मोरिससविरुद्ध आक्रामक बन्यो । खेलको १४औँ मिनेटमा नेपालका सुमन लामाले डिबक्सबाहिरबाट प्रहार गरेको सशक्त बल क्रसबारमाथि गएको थियो । ३६औँ मिनेटमा मोरिससका एड्रिन फ्रान्कोइसले सिक्स यार्ड बक्सनजिकैबाट प्रहार गरेको बल नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए । ४५औँ मिनेटमा नेपालका अञ्जनले निकै राम्रो गोल अवसर खेर फाले । अञ्जनले मोरिससका गोलरक्षक केभिन जेएनविरुद्धको वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् । ४६औँ मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार क्रसबारमा लाग्दा मोरिससले खेलमा अग्रता लिने अवसर चुकायो । ७५औँ मिनेटमा जगजित श्रेष्ठको फ्रिकिकमा अञ्जनको फ्लिक हेडिङ क्रसबारमा लाग्न पुग्यो । खेलको ७७औँ मिनेटमा अञ्जनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल क्रसबारमा लागेको थियो । त्यही रिबाउन्डमा जगजितको हेडिङलाई मोरिससका गोलरक्षक केभिनले उत्कृष्ट बचाउ गरे । 

सुदीप र आकाशको डेब्यु
सुदीप गुरुङ र आकाश बुढामगरले मोरिससविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । यी दुवै खेलाडी सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेशी क्लब सातदोबाटो युथबाट खेल्छन् ।

सुदीपले ८५औँ मिनेटमा आकाशज्यु ठकुरीको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । आकाशले तेज तामाङलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आकाश मैदान छिरेका थिए । 

राष्ट्रिय टोलीमा ४० महिनापछि विमलको गोल 
चार वर्षअघि अनुशासनको कारबाहीका कारण राष्ट्रिय टोलीबाट बाहिरिएका विमलले कमब्याक गोल गर्न सफल भए । विमलकै गोलमा नेपालले मोरिससलाई हरायो । सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुद र विश्वकप २०२२ को छनोटअघि विमल अनुशासनको कारबाहीमा परेका थिए । जसका कारण उनले दुवै महŒवपूर्ण प्रतियोगिता गुमाए । कारबाहीका कारण उनले सो सिजनको ए डिभिजन लिगका अधिकांश खेल गुमाए । 

कारबाहीबाट फुकुवा भएपछि विमल पुनः राष्ट्रिय टोलीको ‘क्लोज क्याम्प’मा फर्किए । तर, अभ्यासका क्रममा उनलाई खुट्टामा गम्भीर चोट लाग्यो । गत वर्ष कतारमा उनको सफल शल्यक्रिया भएको थियो । शल्यक्रियाको नौ महिनापछि विमल मैदानमा फर्कंदै मच्छिन्द्र क्लबसँग आबद्ध भए । गत वर्ष मच्छिन्द्रले इतिहासमै पहिलोपटक ए डिभिजन लिगको उपाधि उचाल्दा त्रिभुवन आर्मीविरुद्धको अन्तिम खेलमा विमलले प्रतिस्पर्धा गरेका थिए । 

खेलाडीले मुटुबाट खेले : अब्दुल्लाह अलमुताइरी, प्रशिक्षक, नेपाल 
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मोरिससविरुद्ध नेपालले राम्रो खेलेको बताए । ‘आज मोरिससविरुद्ध खेलाडीले मुटुबाट खेले,’ उनले भने, ‘यद्यपि, खेलबाट त्यति सन्तुष्ट छैन, हामीले सहज मौका गुमायौँ भने विपक्षी टोलीले पनि ३–४ वटा निश्चित गोल अवसर पाएको थियो ।’ 

प्रशिक्षक अलमुताइरीले विमलको प्रशंसा गरेका छन् । ‘विमलले आशाअनुरूप खेल्न सकेनन्, तर नेपालको जितमा उनकै गोल निर्णायक बन्यो ।’ नेपालको लक्ष्य एसिया कप तथा सन् २०२६ को विश्वकप छनोट रहेको प्रशिक्षक अलमुताइरीले स्पष्ट पारेका छन् ।  

गोल गर्न अवसर दियौँ : टोनी फ्रान्कोइस, प्रशिक्षक, मोरिसस
लगभग साढे दुई वर्षपछि मोरिससको फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको हो । नेपालविरुद्ध मोरिससले गतिलो प्रदर्शन नै गर्‍यो । मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले घरेलु मैदानमा नेपालले राम्रो खेलेको प्रतिक्रिया दिएका छन् । ‘हामीले सोचेको जस्तै नेपालले घरेलु मैदानमा राम्रो खेल्यो,’ टोनीले भने, ‘नेपालले प्राप्त अवसरमा गोल गर्‍यो, हामीले नै नेपाललाई गोल गर्ने अवसर दिएका हौँ ।’

प्रतिस्पर्धामा आफूहरूले पनि तीन गोलको अवसर चुकाएको उनको भनाइ छ । ‘खेलमा हामीले गोल गर्न सकेनौँ, खेलाडीले ३–४ गोल गर्न सक्ने अवसर सिर्जना गरेका थिए,’ टोनीले भने, ‘तीन अवसरलाई नेपालको गोलरक्षकले राम्रो बचाउ गरे ।’ 

ad
ad