१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाकाली नदीको धार फर्काउने गरि तटबन्ध निर्माण गर्दै भारत,तटबन्ध रोक्न एमालेको परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२५:oo

दार्चुलामा महाकाली नदीनै थुनिनेगरी भारतले बनाइरहेको तटबन्धका बारेमा नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले परराष्ट्र मन्त्री नारायण खड्कामार्फत भारतले जारी राखेको निर्माण रोक्न ध्यानाकर्ण गराएका हुन् ।

ठगुन्नाले दार्चुला सदरमुकाम क्षेत्रभित्र महाकाली नदीमा भारतीय पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण भइरहेकोबारे मन्त्री खड्काको ध्यानाकर्षण गराएका छन् । अहिले निर्माण भइरहेको कार्य अविलम्ब रोक्न नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक पहल गर्न उनको माग छ ।उनले मन्त्री खड्कालाई बुझाएको ध्यानाकर्षण पत्रमा ०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अहिले पनि भारतले नेपालतिर नदीको बहाव फर्काउने गरी भइरहेको तटबन्धले फेरि पनि सदरमुकाम खलंगा जोखिममा पर्ने उल्लेख गरेका छन् ।

अहिले भारत सरकारले पुराना तटबन्ध निर्माण गरेको ठाउँभन्दा ७ देखि १० मिटरसम्म भित्र नदी क्षेत्रमा तटबन्ध निर्माण कार्य संचालन गरिरहँदा नदीको प्रवाहमा असर पर्ने र भविष्यमा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको उल्लेख गरिएको छ । सिमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्नेमा शो नगरि एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य संचालन भइरहेकोले अहिलेको अवस्थामा उक्त कार्य रोक्न पहल गर्न आग्रह गरिएको छ । ‘अहिले भइरहेको काममा रोक लगाउन र दुई देशका प्रतिनिधि सम्मिलित टोलीको प्रतिवेदन अनुसार मात्र निर्माण कार्य अगाडी बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक पहलको लागि माग गर्दछु,’  उनले भनेका छन् ।

भारतले सीमावर्ती क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन र त्यस्ता संरचना बनाउनै नदिन सरकारबाट बलियो कुटनीतिक पहल नहुँदा भारतले दार्चुलामा पटक पटक बलमिच्याई गर्दै आइरहेको छ । भारतले सदरमुकाम खलंगापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्न अहिले सवा अर्ब रुपैयाँ लागतमा १ किमि लम्बाइ र ९ मिटर उचाइको पक्की तटबन्ध बनाउन सुरु गरेको हो ।

भारतीय उत्तराखण्ड सिंचाइ विभागको लगानीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुलदेखि जहरलालसिंह नवियाल स्टेडियम नजिकै घट्टेखोलासम्म तडबन्ध बनाउन अहिले डोजर प्रयोग गरिएको छ । डोजरले अहिले तडबन्ध बनाउने क्षेत्रमा ढुङ्गा गिट्टी संकलन, बालुवा निकाल्ने तथा आफ्नो क्षेत्रको तडबन्ध बनाउन जग बनाउने काम गरिरहेको छ ।

८० करोड भारुमा तटबन्ध निर्माण सक्ने गरी भारतीय अरुण कन्स्ट्रक्सन कम्पनीले यो क्षेत्रमा काम सुरु गरेको छ । भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धका कारण वर्षायाममा नदीको बहाव नेपालतर्फ फर्केर ठूलो क्षति पुग्न सक्ने भन्दै स्थानीयले समेत आपत्ति जनाएका छन् । ०७० सालको बाढिमा नेपालतिर क्षति हुनुमा पनि पूल भन्दा माथिल्लो क्षेत्रमा भारतले एकतर्फी बनाएको तटबन्ध मुख्य कारण बनेको थियो ।

अन्तर्राष्ट्रिय सीमा सन्धिले एकअर्कालाई प्रतिकूल असर पर्ने र नदी तथा खोलाको प्राकृतिक धार परिवर्तन हुने गरी कुनै पनि देशले संरचना बनाउन नपाइने उल्लेख छ । संरचना बनाउनै पर्ने अवस्थामा दुवै देशको सहमति आवश्यक पर्छ । यसअघि नेपाल सरकारले तटबन्ध निर्माणको क्रममा भारतीय पक्षको समेत सहमति लिएर पक्की तटबन्ध बनाएको हो । 

भारतको समेत सहमति लिएर पक्की तटबन्ध बनाउँँदा समेत भारतले पटकपटक तटबन्ध बनाउन अवरोध पुर्याएको थियो । उसले तटबन्ध निर्माणको क्रममा माइकिङ गर्दै तटबन्ध नबाउन तथा ढुंगामुढासमेत नेपालीमाथि गरेको हो ।तर अहिले भारतले दार्चुला सदरमुकाम खलंगाबाट केही सय मिटर मात्रै पारि धार्चुलाबाट महाकाली नदीको धार नेपालतर्फ फर्काउन पक्की तटबन्ध बनाइरहेको छ । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नदीको प्राकृतिक धारलाई असर पुग्ने गरी भारतले समन्वयबीना तटबन्ध बनाएको विषयमा गत शुक्रबार जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर गृह मन्त्रालयमा जानकारी पठाएको बताए  । ‘हामीले माथिल्लो निकायमा जानकारी गराउने हो,’ उनले भने ‘बाँकी पहल माथिबाटै हुनुपर्छ ।’ 

यसअघि विरेन्द्र वन पारिपट्टी पनि भारतले एकतर्फी तटबन्ध बनाएको थियो । सो विषयमा संसदमा आवाज उठेपछि नापी विभागको टोलीले निरीक्षण गरे पनि प्रतिवेदन भने अहिलेसम्म गुपचुप राखिएको छ ।

ad
ad