१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हिमालयन शेर्पाविरुद्ध हेडिङ गर्ने प्रयासमा पुलिसका खेलाडी । तस्बिर : नयाँ पत्रिका
२०७८ माघ ८ शनिबार ०६:५५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२०औँ आहा रारा गोल्डकप : पुलिससँग हिमालयन सडेन डेथमा पराजित 

Read Time : > 2 मिनेट
२०७८ माघ ८ शनिबार ०६:५५:००

- सडेन डेथमा हिमालयनका पूर्णबहादुर गुरुङको प्रहार विफल बनाउँदै विस्थापन्न गोलरक्षक रोशन खड्काले पुलिसको क्वार्टरफाइनल स्थान पक्का पारे 

- निर्धारित ९० तथा अतिरिक्त समयमा पुलिस र हिमालयनले १–१ गोल गरेका थिए । टाइब्रेकरमा समेत बराबरी भएपछि क्वार्टरफाइनलमा पुग्ने टोलीको छिनोफानो सडेन डेथबाट भयो

नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको २०औँ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार पुलिसले प्रिक्वार्टरफाइनलमा हिमालयन शेर्पा क्लबलाई सडेन डेथमा पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेको हो । पुलिसले सेमिफाइनल प्रवेशका लागि आइतबार मनाङ मस्र्याङ्दी क्लबविरुद्ध भिड्नेछ । हारसँगै हिमालयन शेर्पा पहिलो खेलबाटै घर फर्केको छ ।

प्रतियोगितामा पुलिस हालसम्म नौपटक फाइनलमा पुग्दा पाँचपटक उपाधि च्याम्पियन भइसकेको छ । हिमालयनको यो पाँचौँपटकको सहभागिता हो । हिमालयन प्रतियोगितामा क्वार्टरफाइनल चरणभन्दा माथि पुगेको छैन । 

निर्धारित ९० मिनेटको खेल दुवै टोलीले १–१ गोल गरेका थिए । त्यसपछि खेलको छिनोफानो अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटको समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पुलिस र हिमालयनले ४–४ गोल गरे । निर्धारित समय र टाइब्रेकरमा समेत खेल बराबरी भएपछि सडन डेथमार्फत विजेताको टुंगो लागेको हो । सडेन डेथमा पुलिसका बुद्ध तामाङ र हिमालयनका जीवन गुरुङ गोल गर्न सफल भए ।

पूर्णबहादुरको प्रहार खड्काले छेके 
दोस्रो प्रहारमा पुलिसका राम वाजीले गोल गर्दा हिमालयनका पूर्णबहादुर गुरुङको पुलिसका विस्थापन्न गोलरक्षक रोशन खड्काले विफल पारेका थिए । रोशनको बचाउसँगै पुलिस क्वार्टरफाइनलमा पुग्यो । यसअघि टाइब्रेकरमा पुलिसका तीर्थबहादुर राना, निरकुमार राई, सुमन सुवेदी र भोला सिलवालले गोल गरेका थिए । हिमालयनका त्रिदेव गुरुङ, आशिष गुरुङ, पिस्टोनल मुताम्बा र कप्तान विश्वास श्रेष्ठले गोल गर्न सफल भए । टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका शेर्पाका विदेशी खेलाडी उलरीच सिवेले हानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । पुलिसका तर्फबाट चौथो प्रहार हानेका कपिल ढकालको प्रहार अकासिएको थियो ।

 मध्यान्तरपछि एक–एक गोल
गत मंसिर अन्तिम सातामा सहिद स्माकर ए डिभिजन लिगमा पुलिस र हिमालयनबीच १–१ को बराबरी भएको थियो । डेढ महिनापछि आमनेसामने भएका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रेका थिए । खेलमा सुरुदेखि नै दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवै टोलीले गोल गर्ने केही राम्रा अवसरसमेत खेर फालेका थिए । पहिलो हाफमा पुलिस र हिमालयनले गोलरहित बराबरी खेल खेले । खेलको ५२औँ मिनेटमा निरकुमार राईले पुलिसलाई अग्रता दिलाएका थिए । तीर्थ रानाले दिएको पासमा राईले वान टर्चमै गोल गर्न सफल भए । 

पुलिसको तुलनामा राम्रो प्रदर्शन गरेको हिमालयन दबाबमा देखियो । पुलिसले अग्रता सात मिनेट मात्र रक्षा गर्‍यो । खेलको ५९औँ मिनेटमा हिमालयनले खेल १–१ को बराबरीमा ल्यायो । हिमालयनका कप्तान विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका हुन् । विश्वासले पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठबाट रिवाउन्ड भएको फाइदा उठाउँदै बराबरी गोल फर्काएका हुन् । यसअघि श्रेष्ठले नै दोस्रो बार च्याप्दै प्रहार गरेको बल गोलरक्षक सञ्जितले राम्रोसँग ग्रिपमा लिन सकेनन् । विश्वासले दोस्रो प्रयासमा गोल गर्न सफल भएका हुन् । 

खेलपछि प्रशिक्षकका भनाइ

सोचेजस्तो स्कोरिङ भएन : अनन्त थापा, प्रशिक्षक, पुलिस
हामीले सुरुदेखि नै राम्रो प्रदर्शन गरेका थियौँ । डिफेन्सको कमजोरीका कारण जति स्कोर हुनुपर्ने थियो, त्यो भएन । अर्को खेलमा कमजोरी सुधार हुनेछ । पोखरामा उपाधि उचाली टोलीलाई उत्साहित बनाएर नयाँ ऊर्जासहित काठमाडौं फर्कने गरी तयारीका साथ आएका हौँ ।

राम्रो खेल्यौँ : मित्रबन्धु बस्नेत, प्रशिक्षक हिमालयन
हामीले पुलिसको तुलनामा राम्रो खेल्यौँ । तर, हाम्रो समस्या स्कोरमा देखियो । हामी खेलमा सुरुदेखि नै हाबी भयौँ, तर गोल गर्न सकेनौँ । खेलाडीले दुवै हाफमा गोलका लागि राम्रो अवसर पाएका थिए । उनीहरूले प्राप्त अवसरमा गोल गर्न सकेनन् । हारको मुख्य कारण यही नै थियो ।