१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १o:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोभिडकै बीच १४ लाख ४३ हजार अन्तर्राष्ट्रिय हवाई यात्रु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:o२:oo

कोभिड महामारीको त्रास कम हुँदै गएपछि सन् २०२१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १४ लाख ४३ हजार सात सय ४९ अन्तर्राष्ट्रिय यात्रुले हवाई यात्रा गरेका छन् । एक वर्षमा ११ हजार सात सय ६० अन्तर्राष्ट्रिय उडानमार्फत यी यात्रुहरूले नेपालसहित विभिन्न मुलुकमा यात्रा गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यो अवधिमा दुई हजार सात सय ३० यात्रुले ट्रान्जिट सुविधा लिएका छन् ।

सन् २०२१ मा सात लाख ४५ हजार नौ  सय नौ यात्रु त्रिभुवन विमानस्थल भएर विभिन्न मुलुकमा पुगेका छन् भने ६ लाख ९५ हजार एक सय १० यात्रु विभिन्न मुलुकबाट नेपाल आएका छन् । यी यात्रुलाई बोक्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले पाँच हजार आठ सय ७८ उडान र पाँच हजार आठ सय ८२ अवतरण गरेका थिए । एक वर्षमा स्वदेशी तथा विदेशी २८ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थलमा उडान–अवतरण गरेको तथ्यांक छ ।  

धेरै यात्रु बोक्नेमा कतार पहिलो
गत वर्ष सबैभन्दा धेरै यात्रुहरू बोक्नेमा कतार एयरलाइन्स पहिलो बनेको छ । कतारले एक वर्षमा तीन लाख तीन हजार पाँच सय ५६ यात्रु बोकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, दुई लाख ८४ हजार नौ सय ६१ यात्रु बोकेर नेपाल वायुसेवा निगम (नेवानि) दोस्रो बनेको छ भने दुई लाख ५५ हजार ६ सय ७८ यात्रु बोकेर हिमालय एयरलाइन्स तेस्रो बनेको छ । यो अवधिमा फ्लाई दुबईले एक लाख ५० हजार दुई सय ९१ यात्रु बोकेको छ भने एयर अरेबियाले ९९ हजार सात सय ९५ यात्रु बोकेको छ ।

दोस्रोमा नेपाल एयरलाइन्स
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई यात्रु ओसारपसारमा निजी क्षेत्रको हिमालय एयरलाइन्सले पछ्याइरहेको छ । सन् २०१९ को डिसेम्बरमा हिमालय एयरलाइन्सले करिक पाँच हजार यात्रु धेरै बोकेर नेपाल एयरलाइन्सलाई पछाडि नै पारेको थियो । डिसेम्बरमा हिमालयले चार सय तीन उडान–अवतरण गरी ३५ हजार आठ सय ८९ यात्रुलाई सेवा दिँदा निगमले दुई सय ४९ उडान–अवतरणमार्फत ३० हजार नौ सय ९६ यात्रुलाइ सेवा दिएको थियो । 

तर, समग्र एक वर्षको तथ्यांक हेर्दा हिमालय एयरलाइन्सले भन्दा नेपाल एयरलाइन्सले करिब ३० हजार यात्रु बढी बोकेको देखिन्छ । यात्रु संख्यामा पछाडि परे पनि कार्गो ढुवानी र धेरै उडान–अवतरण गर्नेमा हिमालयले नेपाल वायुसेवालाई जितेको छ । सन् २०२१ मा हिमालयले विभिन्न मुलुकमा दुई हजार ६ सय ४४ उडान–अवतरण गर्दा नेपाल वायुसेवाले एक हजार नौ सय ४९ उडान–अवतरण गर्न सकेको छ ।

कोभिड महामारीकै बीच गत वर्ष हिमालयले धेरै कार्गो उडान गरेको थियो । हिमालयले एक वर्षमा पाँच हजार चार सय ४५ टन कार्गो ढुवानी गर्दा नेपाल वायुसेवाले चार हजार ६ सय २९ टन मात्र कार्गो ढुवानी गर्न सकेको छ । यो अवधिमा त्रिभुवन विमानस्थल भएर उडान–अवतरण गरेका २९ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवाले २९ हजार एक सय ९४ टन कार्गो ओसारपसार गरेका छन् ।

नेपाल वायुसेवा निगम र हिमालय दुवै अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा हुन् । नेपाल वायुसेवा सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय ध्वजाबाहक एयरलाइन्स हो भने हिमालय निजी लगानीमा सञ्चालित वायुसेवा कम्पनी हो । नेपाल वायुसेवासँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज छन् भने हिमालयसँग चारवटा न्यारोबडी जहाज रहेका छन् ।

ad
ad