१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
किरण दहाल काठमाडाैं
२०७८ पौष २७ मंगलबार ०६:२७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन : कुन जिल्लामा कुन दलका कति मतदाता ?

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ पौष २७ मंगलबार ०६:२७:००

सत्तागठबन्धन सबै प्रदेशमा अगाडि, प्रदेश १ मा भने झिनो मतभारको अन्तर, सातै प्रदेशमा यस्तो छ मतभार :

सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै मात्रै फरक छ । 

निर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् । दुई हजार २५ कुल मतदाता छन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ । १९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा छन् । 

प्रदेश १ मा कुल मतभार ९,३१२ छ, जसमा गठबन्धनको चार हजार ६ सय ३८ र एमालेको चार हजार पाँच सय ६ मतभार छ । यहाँ अन्य दलको मतभार एक सय ६८ छ । जसमध्ये राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेश सभामा एक–एक सिट छ । स्थानीय तहमा राप्रपाको चार सिट छ ।

प्रदेश १ मा महिलातर्फ एमालेबाट सुमित्रा भण्डारी, गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी जयन्ती राई र राप्रपाबाट रञ्जु प्याकुरेलको उम्मेदवारी छ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा र गठबन्धनबाट जसपाका हेमराज राईको उम्मेदवारी छ । अन्यतर्फ एमालेका गुरु बराल, गठबन्धनका तर्फबाट कांग्रेसका गोपालकुमार बस्नेत र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी छ । 

प्रदेश  २ मा गठबन्धन भारी बहुमतले अगाडि छ । गठबन्धनको मतभार सात हजार तीन सय दुई रहेको छ । एमालेको मतभार नौ सय ६ रहेको छ । अन्य दलहरूको मतभार एक हजार ६ सय ८ रहेको छ । प्रदेश २ मा कुल मतभार ९,८१६ छ । 

प्रदेश २ मा महिलातर्फ एमालेकी विना देवी, गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र लोसपाबाट रूपाकुमारी यादवको उम्मेदवारी छ । अन्यतर्फ एमालेका उसमान अन्सारी र गठबन्धनबाट जसपाका महमद खालिदको उम्मेदवारी छ ।

९,४९८ कुल मतभार रहेको बागमतीमा पनि गठबन्धन अगाडि छ । गठबन्धनको मतभार चार हजार नौ सय ५६ रहेको छ । अर्कातिर, एमालेको मतभार चार हजार एक सय ३४ रहेको छ । यस प्रदेशमा अन्य चार सय आठ मत रहेको छ । यो सबै मत एमालेको पक्षमा जाँदा पनि गठबन्धनलाई उछिन्ने सम्भावना देखिँदैन ।

बागमतीमा महिलातर्फ एमालेबाट नीरकुमारी कुँवर (निरु दर्लामी), गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी छ । त्यस्तै, अन्यमा एमालेका गोपाल शाक्य, गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र नेपकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी छ । तामाङ गत जेठमा भएको राष्ट्रिय सभाको उपचुनावमा पनि प्रतिस्पर्धामा थिए ।

गण्डकीमा गठबन्धनको मतभार तीन हजार दुई सय ३४ रहेको छ । अर्कातिर, एमालेको मतभार दुई हजार पाँच सय ३८ रहेको छ । अन्य दलको मतभार एक सय २० मात्रै रहेको छ । त्यसकारण यहाँ पनि एमालेले गठबन्धनलाई जित्ने सम्भावना देखिँदैन । गण्डकीमा कुल मतभार ५,८९२ छ । 

गण्डकीमा महिलातर्फ एमालेबाट लीला पोखरेल थनेत र गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्तको उम्मेदवारी छ । त्यस्तै, दलितर्फ एमालेका अर्जुनकुमार सुनाम र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भुवनबहादुर सुनुवारको उम्मेदवारी छ । अन्यतर्फ एमालेका पुण्यप्रसाद पौडेल र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुरेश आलेमगरको उम्मेदवारी छ ।

कुल मतभार ७,७५८ रहेको लुम्बिनी प्रदेशमा गठबन्धन नौ सय ७२ मतले अगाडि छ । गठबन्धनको मतभार चार हजार दुई सय ७८ रहेको छ । एमालेको मतभार तीन हजार तीन सय ६ रहेको छ । अन्य दलको मतभार एक सय ७४ रहेको छ । 

सातवटै प्रदेश सभाका मतदाताको हिसाब

लुम्बिनीमा महिलातर्फ एमालेबाट भारती उपाध्याय खनाल र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेको उम्मेदवारी छ । दलिततर्फ एमालेका कृष्ण सुनार र गठबन्धनका तर्फबाट जनमोर्चाका तुलप्रसाद विश्वकर्माको उम्मेदवारी छ । अन्यमा एमालेको तर्फबाट रामदयाल गुप्ता र गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा उम्मेदवार छन् ।

कर्णाली प्रदेशमा पनि गठबन्धनले जित्ने पक्कापक्की छ । गठबन्धन एक हजार तीन सय ३८ मतले अगाडि छ । यहाँ गठबन्धनको मतभार दुई हजार आठ सय आठ रहेको छ । अर्कातिर, एमालेको मतभार एक हजार चार सय ७० रहेको छ । अन्य दलको मतभार दुई सय १० मात्रै छ । कर्णालीमा कुल मतभार ४,४८८ छ । 

कर्णाली प्रदेशमा महिलातर्फबाट एमालेकी गंगा थापा महत र गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङको उम्मेदवारी छ । त्यस्तै, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकमा एमालेका पदमबहादुर माझी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरबहादुर विष्टको उम्मेदवारी छ । अन्यमा एमालेका चूडामणि शर्मा र गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहराको उम्मेदवारी छ ।

कुल ५६,४६ मतभार रहेको सुदूरपश्चिम प्रदेशमा गठबन्धन दोब्बर मतले अगाडि रहेको छ । गठबन्धनको मतभार तीन हजार सात सय ९२ रहेको छ । एमालेको मतभार एक हजार आठ सय ६ मात्रै रहेको छ । अन्य दलको मतभार ४८ छ । यहाँ लोसपाका एक सांसद छन् । 

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ एमालेकी सन्तोषकुमारी शर्मा र एकीकृत समाजवादीकी मदनकुमारी शाह ‘गरिमा’को उम्मेदवारी छ । दलिततर्फ एमालेका नरेशकुमार विक र गठबन्धनबाट माओवादी केन्द्रका जगतबहादुर पार्कीको उम्मेदवारी छ । अन्यमा एमालेका डिल्लीराज भट्ट र गठबन्धनका तर्फबाट कांग्रेसका नारायणदत्त मिश्रको उम्मेदवारी छ ।

गत आइतबार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन आयोगले दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको छ । गत २० पुसमा परेको उम्मेदवारीमा कसैमाथि पनि उजुरी परेन र उम्मेदवारी पनि फिर्ता भएको थिएन । निर्वाचनका लागि सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू भइसकेको छ ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार–चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ । 

जसको कार्यकाल २० फागुनमा सकिँदै छ

  • प्रदेश १ : अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (सबै एमालेका)
  • प्रदेश २ : सुमनराज प्याकुरेल (एमाले), शशिकला दाहाल (माओवादी)
  • बागमती : राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)
  • गण्डकी : दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी),  शान्तिकुमारी जिसी (एकीकृत समाजवादी)
  • लुम्बिनी : कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)
  • कर्णाली : कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)
  • सुदूरपश्चिम : चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)
  • मनोनीत : रामनारायण बिडारी

सम्बन्धित जिल्लाका स्थानीय तहका मतदाता