१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेले ३५ जिल्लामा छान्यो नयाँ नेतृत्व

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:२७:oo

नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको एमालेले आइतबार बेलुकीसम्ममा ३५ जिल्लामा नयाँ नेतृत्व पाएको छ । २३ पुसमा ६३ जिल्लामा एकसाथ अधिवेशन सुरु भए पनि आइतबारसम्ममा ३५ जिल्लाले मात्र नेतृत्व पाएको हो । 

सर्वसम्मत हुन नसकेका कतिपय जिल्लामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ । एमालेले सकभर सर्वसम्मत नेतृत्व चयन गर्न अन्तरपार्टी निर्देशन जारी गरेको थियो । सर्वसम्मत हुन नसकेका जिल्लामा भने मतदान प्रक्रियाबाट नेतृत्व चयन भइरहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सर्वसम्मत हुन नसके प्यानल नबनाई स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न एमाले केन्द्रीय कार्यालयले निर्देशन दिएको थियो । 

पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा दीपक कार्की अध्यक्षमा निर्विरोध चयन भएका छन् । झापामा कार्कीसहित सबै पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन भएका छन् ।

पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्दकुमार पुन अध्यक्ष चयन भएका छन् । उनीहरू दोहोरिएका हुन् । त्यस्तै, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल र मोरङमा ऋषिकेश पोखरेल अध्यक्ष चयन भएका छन् ।

त्यस्तै, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा, गुल्मीमा बालसिंह काउछा, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा अध्यक्ष चयन भएका छन् । नवलपरासी (पश्चिम)मा दीपेन्द्र अधिकारी, कपिलवस्तुमा डम्बर शर्मा, नुवाकोटमा बद्रीप्रसाद मैनाली, तेह्रथुममा तेजमान कन्दङ्वा, रुपन्देहीमा तेजेन्द्र केसी, लमजुङमा कृष्णप्रसाद अधिकारी, पाँचथरमा राजकुमार भण्डारी, रामेछापमा आनन्द श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।

गोरखामा प्रेमबहादुर गुरुङ, मकवानपुरमा एकलाल श्रेष्ठ, डडेल्धुरामा प्रकाश सावँद, भोजपुरमा शरण राई, बैतडीमा सुरेन्द्र पाल, म्याग्दीमा देवेन्द्र केसी, जुम्लामा शान्तिलाल महत, मजदुर विशेष जिल्ला कमिटीमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेष जिल्ला कमिटी अध्यक्षमा उमेश ढकाल चयन भएका छन् । 
केही जिल्लामा आइतबार बेलुकीसम्म मतदान चलिरहेको छ भने केही जिल्लामा मतगणनाको काम भइरहेको छ ।

सुदूरपश्चिममा नेतृत्व छान्न सकस

सुदूरपश्चिमका दुई जिल्लामा सर्वसम्मत नेतृत्व टुंग्याए पनि बाँकी पाँच जिल्लामा भने सकस देखिएको छ । बैतडी र डडेल्धुरामा सहमतिका आधारमा आइतबार नयाँ नेतृत्व चयन भइसकेको छ । सहमति नभएका जिल्लामा निर्वाचन प्रक्रिया अघि बढेको छ । यद्यपि, चुनावको तयारीसँगै सहमतिको प्रयास पनि जारी छ ।

बैतडीमा सुरेन्द्र पालको अध्यक्षतामा निर्विरोध नयाँ कमिटी गठन भएको छ । डडेल्धुरा अध्यक्षमा प्रकाश साउँद निर्विरोध भएका छन् । डडेल्धुरामा उपाध्यक्ष र सचिवमा सहमति जुटे पनि उपसचिवमा सहमति जुट्न सकेको छैन । एमाले प्रदेशसचिव धर्मराज पाठकले सहमति जुट्न नसकेका ठाउँमा चुनाव हुने बताए । ‘दुई जिल्लामा सहमति भइसक्यो । अन्य जिल्लामा चुनावबाट नयाँ नेतृत्व चयन हुन्छ,’ उनले भने, ‘जिल्लाहरूमा निर्वाचन प्रक्रिया अगाडि बढिसकेको छ ।’ 

कञ्चनपुरमा सहमतिको प्रयास सफल हुन सकेको छैन । त्यहाँ निर्वाचन प्रक्रिया पनि अगाडि बढेको छैन । निवर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टबीच नेतृत्वको रस्साकस्सी छ । वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले पनि अध्यक्षमा दाबी गरेका छन् । तर, चुनाव भएको अवस्थामा उनी थापाको प्यानलबाट सचिव लड्ने एमाले स्रोतले बताएको छ । थापा माओवादीबाट एमालेमा गएका हुन् । उनलाई एमाले सचिव भट्टले अध्यक्ष बनाउन चाहेका छन् । निरु पाललगायत नेताहरूको समर्थन विष्टलाई छ । 

अछाममा प्रकाशबहादुर शाह र चन्द्र बोहराबीच अध्यक्षमा प्रतिस्पर्धा हुने देखिएको छ । शाहलाई एमाले नेता भीम रावलको समर्थन छ । त्यहाँ उम्मेदवारी दर्ता भएर सोमबार चुनाव हुँदै छ । दार्चुलामा सोमबार निर्वाचन गर्ने तयारी छ । अध्यक्षमा चारजनाले उम्मेदवारी दिएकामा एकजनाले फिर्ता लिएका छन् । अध्यक्षमा प्रेमसिंह धामी, ज्ञानेन्द्र घर्ती र मोहनसिंह धामीको उम्मेदवारी कायम छ । त्यहाँ सोमबार बिहान ८ बजेबाट निर्वाचन तोकिएको छ ।

बाजुरामा सहमतिको प्रयासका लागि सोमबार दिउँसो १ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ । त्यहाँ मतदाताको नामावली प्रकाशित गर्नेबाहेक निर्वाचनको अन्य प्रक्रिया अगाडि बढेको छैन । निवर्तमान अध्यक्ष कालीबहादुर शाही, नेता लालबहादुर ओली र भरत थापाले नेतृत्वमा दाबी गरेका छन् । दिउँसोसम्म सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ । डोटीमा पनि नेतृत्वमा सहमति जुटेको छैन । चक्र मल्ल र लक्ष्मण मलासीले अध्यक्षमा दाबी गरेका छन् । 

हिमपातले अधिवेशन स्थगित

एमाले हुम्लाको ९औँ जिल्ला अधिवेशन स्थगित भएको छ । बढ्दो हिमपातका कारण अधिवेशन स्थगित भएको हो । जिल्लाका सातवटै स्थानीय तहबाट आएका 
दुई सय ६३ मतदातालाई सिमकोटस्थित होटेलमा राखिएको छ । 

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्मे भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

पार्टीका केन्द्रीय सदस्य दल रावल, अदानचुली गाउँपालिकाका दल फडेरा र कर्णाली प्रदेशका नेता गोरखबहादुर बोगटीसमेत काठमाडौँमै रहेकाले पनि जिल्ला अधिवेशन स्थगित गर्नुपरेको जिल्ला सचिव पूर्ण ढकालले जानकारी दिए । स्थगित अधिवेशन २३ माघमा गरिने भएको छ ।

उम्मेदवारी कायमै रहँदा एउटालाई अध्यक्ष घोषणा

एमाले मकवानपुरको नेतृत्व चयन विवादित बनेको छ । अध्यक्षमा दुईजनाको उम्मेदवारी परे पनि निर्वाचन समितिले एकलाल श्रेष्ठलाई निर्विरोध अध्यक्ष घोषणा गरेपछि विवाद बनेको हो । 

‘आइतबार बिहानसम्म अझै सहमतिको प्रयास हुन्छ भन्ने थियो । म घरमै थिएँ, उता अध्यक्ष नै घोषणा भइसकेछ,’ लम्सालले प्रतिक्रिया दिए, ‘मैले उम्मेदवारी नै फिर्ता नलिई कसरी सर्वसम्मति भयो ?’ सर्वसम्मत प्रक्रिया नटुंगिएपछि शनिबार दिउँसो ४ बजेबाट निर्वाचन प्रक्रिया अघि बढेको थियो । त्यसक्रममा अध्यक्षमा लम्साल र श्रेष्ठको उम्मेदवारी परेको थियो । 

निर्वाचन समितिका अध्यक्ष तथा एमालेका मकवानपुर इन्चार्ज रामेश्वर रानाले निर्वाचनको सबै प्रक्रिया पूरा गरेर प्रक्रियागत ढंगबाट नेतृत्व चयन गरिएको दाबी गरे । उनले उम्मेदवारहरूबीच आपसी समझदारीमा पदाधिकारी र सदस्य टुंग्याएको बताए । निर्वाचन अधिकृत अर्जुन अर्यालले निर्वाचन प्रक्रियामा निर्वाचनमण्डल सर्वोच्च हुने भन्दै निर्वाचनमण्डलका अध्यक्षको निर्देशनअनुसार गरिएको प्रतिक्रिया जनाए । निर्वाचन समितिले आइतबार बिहान ८ बजेदेखि मतदानको समय तोकेको थियो ।

कैलालीमा दुई पक्षबीच झडप मतपत्र र मतपेटिका फालियो

कैलालीमा निर्वाचनमा ढिलाइ भएपछि प्यानलसहित निर्वाचनमा उत्रिएका दुई पक्षबीच झडप भएको छ । प्रतिनिधिले अधिवेशनस्थलमा नाराबाजी र तोडफोड गरेका छन् । निर्वाचनका लागि बनाइएका मतपेटिका फाल्नुका साथै मतपत्र छरिदिएका छन् । बुथहरू तितरबितर गरिएका छन् भने केही कुर्सी र टेबुल तोडफोड गरिएका छन् । अध्यक्षका उम्मेदवार रतन थापा र रणबहादुर चन्द पक्षबीच झडप भएको हो । 

दुई पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि आइतबार बिहानबाट निर्वाचन गर्ने कार्यतालिका थियो । तर, बेलुकीसम्म पनि निर्वाचन नभएपछि अध्यक्षका उम्मेदवार थापाले हलभित्र माइकबाटै निर्वाचन समिति अक्षम रहेको र चुनाव गर्न नचाहेको भन्दै आक्रोश पोखे । उनी पक्षधर प्रतिनिधिले निर्वाचन समितिविरुद्ध नाराबाजी गरेपछि अर्को पक्षका प्रतिनिधिले निर्वाचन समितिविरुद्ध नाराबाजी गर्न नपाइने भन्दै विरोध गरेपछि झडप भएको हो ।

कैलालीमा केन्द्रले सहमतिमै नेतृत्व चयन गर्न दबाब दिएकाले निर्वाचन सुरु नगरिएको एक नेताले बताए । अध्यक्षका उम्मेदवार थापा निवर्तमान जिल्ला अध्यक्ष र चन्द उपाध्यक्ष हुन् । एमालेका एक नेताका अनुसार थापाको प्यानललाई सचिव लेखराज भट्टसहित नेताहरूको समर्थन छ । चन्दको पक्षमा भीम रावलनिकट नेताहरू देखिएका छन् ।

ad
ad