मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ पौष २१ बुधबार १९:११:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

मणिपुरमा मोदी :  २२ परियोजना उद्घाटन र शिलान्यास

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ पौष २१ बुधबार १९:११:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य मणिपुरलाई २१औँ शताब्दीको महत्वूर्ण विकसित राज्य बनाउने उद्घोष गरेका छन् । मंगलबार इम्फाल पुगेका मोदीले २२ परियोजनाहरूको उद्घाटन तथा शिलान्यासपछि आयोजित कार्यक्रममा नयाँ भारतको सपना पूरा गर्न उत्तरपूर्वी राज्यको विकास गेटवे हुने उल्लेख गरे ।

भारतमा विकासका दृष्टिले पछि परेको मानिएका उत्तरपूर्वी राज्यहरूको विकासमा मोदी सरकारले ठूलो लगानी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
‘हामी मणिपुरसहित समग्र उत्तरपूर्वी राज्यहरूको विकासका थप सम्भावनाहरूमा काम गरिरहेका छौँ । एक्काइसौँ शताब्दीका महत्वपूर्ण ठाउँ अब उत्तरपूर्वी राज्य हुनेछन्’ मोदीलाई उद्धृत गर्दै भारतीय पत्रिका द स्टेट्सम्यानले जनाएको छ । मणिपुरको स्थायित्व र शान्तिमा केन्द्र सरकारले विशेष ध्यान दिइरहेको पनि उल्लेख  गरे । ‘मणिपुर विगतको नाकाबन्द अवस्थाबाट बाहिर आएको छ, मणिपुरका खेलाडीहरूबाट भारतभरिकै युवाहरूले प्रेरणा लिइरहेका छन्,’ मोदीको भनाइ थियो । 

मोदीले मणिपुरमा १८५० करोड रुपियाँको लागतमा सम्पन्न १३ परियोजनाहरूको उद्घाटन गरेका छन् । उनले २९५० करोड रुपियाँ लागतका थप ९ परियोजना पनि इम्फालमा उद्घाटन गरेका छन् । सडक पूर्वाधार, खानेपानी आपूर्ति, स्वास्थ्य, सहरी विकास, हाउजिङ, सूचना प्रविधि, क्षमता विकास, कला र संस्कृति क्षेत्रमा थप परियोजनाहरू अघि बढ्ने मोदीले बताए ।

मोदीले १७ सय करोडभन्दा बढी लागत मूल्यमा निर्माण हुन लागेका पाँचवटा राष्ट्रिय राजमार्ग परियोजनाहरुको शिलान्यास गरे । उनले बाराक नदीमा निर्मित पुलेको उद्घाटन पनि गरे । ७५ करोड लागतमा पुल निर्माण भएको हो । उनले मणिपुरमा ११ सय करोड रुपियाँको लागतमा २ हजार ३८७ वटा मोबाइल टावर निर्माण गर्ने पनि उद्घोष गरे । 

मोदीले  इम्फालमा स्टेट अफ द आर्ट क्यान्सर हस्पिटलको शिलान्यास गरे । उनले २०० बेडको कोभिड अस्पतालको उद्घाटन गरे । मणिपुर राज्य निर्माण भएको यही २१ जनवरीमा ५० औँ वर्षगाठ हुँदै छ ।