१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डाउद वे
२०७८ पौष २० मंगलबार १२:२९:००
Read Time : > 1 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२२ प्रिन्ट संस्करण

वर्तमान अर्थात् विगतको प्रतिबिम्ब

Read Time : > 1 मिनेट
डाउद वे
२०७८ पौष २० मंगलबार १२:२९:००

फोटोग्राफर डाउद वेले लुजियानाका खेत–खलियानका फोटोहरूमा वर्तमानलाई अझै पाठ सिकाइरहेको विगतको प्रतिध्वनि कैद गरेका छन् ।

म केही महिनादेखि लुजियाना राज्यस्थित पहिले खेतीका लागि प्रयोग हुने भेग वरपरको भू–दृश्य खिचिरहेको थिएँ, त्यसैबखत जर्ज फ्लोयडको हत्या भयो । पछि कोभिड– १९ संक्रमणका कारण क्वारेन्टिन बस्नुप¥यो । म फोटोग्राफीको सिलसिला रोक्न बाध्य भएँ । गोरा प्रहरी अधिकारीको हातबाट फ्लोयडको मृत्युमा मैले ती महिना फोटो खिचेका स्थानको भू–दृश्यमा दबेको इतिहास प्रतिध्वनि पाएँ । सो क्षेत्रको इतिहास अकारणको हिंसा र अश्वेत जीवनप्रतिको अनादरले कलंकित छ । तर, यसपटक विश्वले अश्वेत जीवनप्रति निरन्तरको अनादर अब असह्य भएको भन्दै आक्रोशपूर्ण विरोध जनायो । हालै लुजियाना फर्किँदा हामीहरू आफूलाई नै घाटा हुने गरी इतिहासलाई बिर्सन्छौँ भन्ने मेरो विश्वास थप बलियो भएको छ । जसरी म मेरो काममार्फत विगतको छाया देखाउँछु, त्यसैगरी इतिहासको स्मरणले हामीलाई सचेत र अवशेषका रूपमा रहेका हिजोको भयावहप्रति प्रतिक्रियात्मक बनाउँछ । यसलाई उपेक्षा गरियो भने त्यो हामीलाई तर्साउन पुनः फर्कन सक्छ ।

महामारी सुरु हुनुभन्दा अगाडिको वर्ष अर्थात् सन् २०१९ मैले उल्लेख्य समय लुजियानामा बिताएको थिएँ । त्यसक्रममा एक कलाकार र फोटोग्राफरको रूपमा आफ्नो काममार्फत अफ्रिकन अमेरिकी इतिहाससँग अन्तक्र्रिया सिर्जना गर्ने प्रयास गरेँ । वर्तमानका अन्तर्निहित तनाव र आघातले विगततर्फ मात्र इंगित गर्दैनन्, त्यसको प्रतिध्विनि त वर्तमानमा समेत पाउन सकिन्छ । स्वक्वारेन्टिनको लामो वर्षले मलाई मेरा कृतिको अहिले के औचित्य र अर्थ हुन सक्छ भनी थप गहनताका साथ घोत्लिन समय उपलब्ध गरिदियो ।

मैले अनुसन्धान गरेर मिसिसिपी नदीका पश्चिम किनार अवस्थित एभरग्रिन, डेस्ट्रेहान, लाउरा, ओक एले र ह्विट्नी क्षेत्रका खेत–खलियान र त्यस वरपरको विषयवस्तु क्यामेरामा कैद गर्न थालेको थिएँ । उखुखेत, धन्सार, धाप र रूखहरू रहेको यो क्षेत्र छान्नुको मेरो मूल ध्येय अमेरिका र अश्वेत नागरिकबीचको सुरुवाती सम्बन्धको यो क्षेत्रलाई थप गुञ्जायमान बनाउनु थियो । यसो गर्दा जातिबारेको हाम्रो जारी बहसमा विद्यमान समस्याग्रस्त सम्बन्धको उठान गरिरहन सकिन्छ ।

अक्सर इतिहासले वर्तमानलाई व्याख्या गर्छ । त्यसैगरी अमेरिकाका खेतमा काम गर्न जबर्जस्ती बन्दी बनाइएका बँधुवा अश्वेतहरूमाथिको अमानवीय शोषण र हिंसाका कथानकले पनि त्यस्तै काम गर्छ । दमन, हेयभाव र सामान्य मानवीय दयाको समेत लायक नठानिएको अश्वेतहरूको त्यो जीवनसँग हामी फ्लोयड हत्याको एक सीधा सम्बन्ध–रेखा खिच्न सक्छौँ । मिनियापोलिस प्रहरीले गरेको फ्लोयडको निर्दयी हत्यामा मैले फोटो खिचिरहेको खेतहरूमा काममा लगाइएका ती तमाम बँधुवा अश्वेतहरूमाथिको बर्बरता र क्रूरता प्रतिध्वनित छ ।

लुजियानाका खेतबाट एक वर्ष टाढिएपछि बल्ल म ती स्थानमा फर्किएर काम सुचारु गर्न सक्ने भएको थिएँ । मैले त्यहाँ पछिल्लो भ्रमण गरेयता विकसित परिघटनाहरूले मलाई तत्कालै त्यहाँ पुग्न अझै हुटहुटी जगाएको थियो । म अहिले जर्ज फ्लोयडको हत्याविरुद्ध विश्वभरबाट आएका प्रतिक्रियाले यो मुलुक पहिलेभन्दा फेरिएछ कि भन्ने सोच्न थालेको छु ।

(म्याकअर्थर फेलो डाउद वेका कृतिमा अफ्रिकी–अमेरिकीको विगत र समकालीन स्थितिको मूल्यांकन पाइन्छ । उनको पछिल्लो परियोजनाअन्तर्गतको लुजियानाका खेत–खलियानका तस्बिरहरूलाई ‘इन दिस हियर प्लेस’ दिइएको छ । यी तस्बिरहरू न्यु अर्लियन्सस्थित प्रोजेक्ट ५ मा प्रदर्शित छन् । उनका प्रमुख कामहरू सन् २०२२ मा म्युजियम अफ फाइन आर्टस्, ह्युस्टनमा देखाइनेछ ।)