
पर्सामा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ घटना घटेका छन्। मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको समीक्षा गोष्ठीमा सार्वजनिक गरिएको तथ्यांकले मानवअधिकार उल्लंघनका घटनाहरूमा कमी नआएको देखाएको हो।
इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि पर्सामा संकलन गरिएका मानवअधिकार उल्लंघनका घटनाको पुष्टि र पुनर्पुष्टिका लागि आयोजना गरिएको समीक्षा गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले तथ्यांक सार्वजनिक गरेका थिए।
एक वर्षको समीक्षा अवधिमा पर्सामा विभिन्न ७५ वटा मानवअधिकार उल्लंघनका घटना भएको लामिछानेले जानकारी दिए। तथ्यांकअनुसार १८ वर्षभन्दा कम उमेरका बलात्कारका ३७ वटा घटना भएका छन्। १८ वर्षभन्दा माथिका बलात्कारका घटना ९, १८ वर्षमाथिका बलात्कारका प्रयास पाँच र बालविवाहका चार घटना भएका छन्।
यसैगरी बहुविवाहका चार, हत्याका पाँच, मानव बेचविखनका तीन, बोक्सीको आरोप र कुटपिटका २–२ घटना भएका तथ्यांक सार्वजनिक भएको छ। त्यस्तै अप्राकृतिक मैथुन, गर्भपतन, बालयौन दुराचार र बलात्कारका प्रयासका चारवटा घटना भएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानवअधिकार उल्लंघनका घटना साझा समस्या भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि पनि साझा प्रयास आवश्यक रहेको औँल्याए। कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश २ महासचिव श्याम बञ्जरा, पर्साका अध्यक्ष अनुप तिवारीलगायतको उपस्थिति रहेको थियो।