१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:४३:oo
Read Time : > 8 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेसमा वैचारिक रूपान्तरण आवश्यक छ (भिडियोसहित)

Read Time : > 8 मिनेट
२o८१ जेठ ५ शनिबार o६:४३:oo

०४७ मा प्रजातन्त्र पुनस्र्थापन भएपछि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका प्रदीप पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्व गर्ने अवसर प्राप्त गरे । कांग्रेसमा नेता उत्पादन गर्ने संगठनका रूपमा परिचित पार्टीको भ्रातृ संस्था नेविसंघको नेतृत्व गरेकाले देशैभर उनको बलियो प्रभाव रहेको मानिन्छ । पौडेल पछिल्लो समय पार्टीभित्र ‘थर्ड पोल’ भनेर चिनिने नेता कृष्णप्रसाद सिटौलाको समूहमा रहेर सक्रिय छन् । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका पौडेलसँग नयाँ पत्रिकाका दिपेश शाही, किरण दहालहिमाल पौडलले गरेको कुराकानी :

होला–नहोला भन्ने निकै अलमलपछि अन्ततः १४औँ महाधिवेशन हुने निश्चित भयो हैन ?
हामी महाधिवेशनको अन्तिम चरणमा आइपुगेका छौँ । यो महाधिवेशन धेरै पक्षबाट असाध्यै महत्वपूर्ण छ । हुँदैन–हुँदैन भन्दाभन्दै महाधिवेशन सम्पन्न हुने स्थितिमा पुगेको छ । महाधिवेशन सम्पन्न हुने चरणसम्म पुर्‍याउने कुरामा मेरो पनि योगदान भएकोमा गर्व महसुस भइरहेको छ । अब महाधिवेशन निश्चित भइसकेको छ । यो महाधिवेशनमा कांग्रेसको नीति कस्तो बन्ने भन्ने बहस हुने र नेतृत्व पनि चयन हुने भएकाले दुवै प्रक्रियामा मेरो सक्रिय सहभागिता हुन्छ । 

१३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अलि हतारो भएन ?
पदीय हिसाबले नेपाली कांग्रेसमा मेरो लामो निरन्तरता भइसकेको छ । विभिन्न जिम्मेवारी लिएर काम गरिसकेको छु, लामो अनुभव छ । पार्टीका समस्या र समाधानका उपायहरूसमेत सुझाउन सक्ने स्थितिमा छु । कांग्रेसको समस्या समाधान गर्ने र बाह्य सन्दर्भमा पार्टीको दृष्टिकोण स्पष्ट पार्न अब पुस्तान्तरण मात्र होइन, वैचारिक रूपान्तरणको पनि खाँचो छ । त्यसकै निम्ति मैले नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने सोच बनाएको हुँ । हतारो गरेको होइन । 


तपाईं अहिलेसम्म कृष्णप्रसाद सिटौला नेतृत्वको समूहमा सक्रिय हुनुहुन्छ ।महाधिवेशनको पूर्वसन्ध्यामा समूह परिवर्तन गर्ने मनसाय बनाउनुभएको त छैन ?

पहिले म जहाँ थिएँ, त्यहीँ नै छु । तर, महाधिवेशनमा नेतृत्वमा पुग्ने सन्दर्भमा यो हाम्रो आन्तरिक अधिवेशन भएको हुनाले नयाँ समीकरण पनि बन्न सक्छ । त्यसलाई नकार्न मिल्दैन । हामी प्रतिस्पर्धालाई असाध्यै मर्यादित बनाएर सकेसम्म धेरै साथीहरूले जिम्मेवारी प्राप्त गर्ने स्थिति निर्माण गर्ने कोसिस गर्दै छौँ । त्यो सन्दर्भमा पार्टीभित्रका विभिन्न समूह भनेर चिनिने सबैसँग सल्लाह तथा परामर्श गरेर अगाडि बढ्छौँ । व्यक्तिगत चाहना महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने स्थिति निर्माण गर्ने हुनु स्वाभाविक हो । त्यसमा विभिन्न खालको रणनीति अपनाउन पनि सकिन्छ । तर, हामी रहेको टिम एकदमै धेरै बलियो रहेको स्थिति पनि होइन । त्यसैले अरूसँग ‘एलायन्स’ गर्ने सम्भावना पनि छ । र, एक्लै मैदानमा जाने सम्भावना पनि उत्तिकै छ ।

महाधिवेशनमा तपाईंको समूहका प्राथमिकता के–के हुन् ?
छुट्टै वैचारिक धार निर्माण गर्ने भनेर सुरु गरिएको अभियान पूर्ण भइसकेको छैन । त्यसैले यसलाई निरन्तर अगाडि बढाउनु छ । तर, यो महाधिवेशनमा विचारकै सवालमा धेरै बहस हुने स्थिति बनिरहेको छैन । नीति महाधिवेशन छुट्टै गर्ने भन्नेसम्मको छलफल चलेको छ । तर, त्यो हुन सक्दैन । नीतिलाई अलग्याएर नेतृत्व छनोट गर्ने भन्ने विषय स्वाभाविक होइन । यो अभ्यासलाई हामीले निरन्तरता दिनु हुँदैन । कम्तीमा नीति बोकेर आएको नेतृत्वलाई हामीले स्थापित गर्नुपर्छ । अथवा, नीति बोक्नेहरूको बीचमा प्रतिस्पर्धा हुनुपर्छ । नेपाली कांग्रेस आयातित विचारलाई आफ्नो विचार र राजनीतिक मुद्दा बनाइराखेको पार्टी होइन । यसले मौलिक विचारहरू उत्खनन र उत्पादन गरेर राजनीति गर्नुपर्छ । बिपी कोइरालाको समयमा हाम्रा खास समस्याहरू जे थिए, ती विषयलाई कांग्रेसको एजेन्डाका रूपमा विकसित गरेर नेपालमा नेपाली कांग्रेसको स्थापना भएको हो र अगाडि बढेको हो । आजको दिनमा हामीले समाजलाई चिनेर समाजमुखी एजेन्डा निर्माण गर्न जरुरी छ । त्यसका निम्ति हाम्रा मञ्चमा एजेन्डाबारे बहस हुनुपर्छ । एजेन्डाका आधारमा प्रतिस्पर्धा हुने स्थिति निर्माण हुनुपर्छ । व्यक्तिसँग नभई उसले बोकेर ल्याएको विचारसँग प्रतिस्पर्धा हुने अवस्था निर्माण गर्न सक्नुपर्छ । हामी यसमै जोड दिन्छौँ । 

पुस्तान्तरण प्रधान विषय होइन । पुस्तान्तरणभन्दा वैचारिक रूपान्तरण महत्वपूर्ण पाटो हो । पहिलो पुस्ताले कांग्रेसलाई पूर्ण रूपमा रूपान्तरण गर्ने गरी विचारहरू बोकेर आयो भने त्यो जतिसुकै वर्षको होस्, उसले नेतृत्व गर्न पाउनुपर्छ । विचारसँग सापेक्षता नै छैन ।

यहाँहरूको समूहबाट कृष्णप्रसाद सिटौला र तपाईंले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । ‘एलायन्स’ बनाएर जानुपर्‍यो भने कुन समूहसँग सहज ठान्नुभएको छ ?
कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मैले महामन्त्रीमा । अरू साथीहरूले आ–आफ्नो ठाउँमा घोषणा गर्नुभएको छ । हामीले आफूलाई कुन पदमा स्वाभाविक ठानेका छौँ, त्यसअनुसारको उम्मेदवारी प्रस्तुत भएको छ । उम्मेदवारीका लागि मात्र हामीले उम्मेदवारी दिएको होइन । जित्नका लागि हो । त्यसैले सबैसँग छलफल चलिरहेको छ । कसैसँग टुंगिएको छैन । 

एलायन्सका लागि तपाईंहरूका मुख्य सर्त के हुन् ? 
एलायन्सका लागि हामीले अभ्यास गरेको विषय त ‘गिभ एन्ड टेक’ नै हो । नेतृत्वमा पुग्नका निम्ति यही उपाय प्रयोग गर्ने हो । इमानदार भएर भन्दा त्यसका मुख्य सर्तहरू पदीय भागबन्डा नै हुन्छन् । यो सुनिँदा राम्रो नलाग्न सक्छ, तर यथार्थमा हामीले गरेको अभ्यास यही हो । पद प्राप्तिको कुरा मात्रै प्रधान हुनु स्वाभाविक होइन । यो अभ्यासलाई हामीले बदल्न सक्नुपर्छ । तर, यसपटक त्यो बदलिने स्थिति भएन । साथै, सर्तका सन्दर्भमा एउटा वैचारिक बहसको स्थितिलाई निरन्तर रूपमा अगाडि बढाइनुपर्छ । पार्टीभित्र वैचारिक र सैद्धान्तिक रूपान्तरणको आवश्यकता छ । त्यो एउटा मुख्य सर्त हुन सक्छ । यससँगसँगै नेतृत्व चयनको विषय भएको हुँदा पदीय जिम्मेवारी बाँडफाँट गर्ने विषय नै हो ।

बाहिर वैचारिक र नीतिगत विषय उठाउने तपाईंजस्ता नेताहरू पनि पार्टी पदाधिकारीले एउटा कोठाभित्र बसेर नेतृत्व मात्रै चयन गर्ने भनेर गरेको निर्णय मान्न तयार हुनुभयो । त्यसरी आउने नेताले विचार र नीतिको विषयलाई प्रधान बनाउँछन् भनेर कसरी पत्याउने ?
नेपालको राजनीतिमा विचार स्खलित हुँदै गएको सत्य हो । त्यसको प्रभाव हाम्रो पार्टीमा पनि परिरहेको छ । पार्टीको दार्शनिकी एक किसिमको हुन्छ । तर, त्यो पार्टीका नेताहरूले गर्ने निर्णयहरूको सन्देश अर्कै हुन्छ । त्यसैले विचारसँग नजोडिएर पार्टी सञ्चालन गर्ने कुरा स्वाभाविक हुन सक्दैन । यद्यपि, यो अभ्यासलाई हामीले १४औँ महाधिवेशनमै बदल्न सक्ने स्थिति बनेन । त्यसैले वैचारिक रूपमा पार्टी सञ्चालन हुनुपर्छ भन्ने विचार बोक्नेहरू पार्टीको नेतृत्वमा पुग्नुपर्नेछ । विचारको पक्षमा उभिने व्यक्ति महाधिवेशनबाट निर्वाचित भयो भने यो प्रक्रिया पार्टीको आन्तरिक जीवनमा कार्यान्वयन हुने स्थिति बन्न सक्छ । त्यसैले हाम्रो विधि र व्यवस्था जे छ, त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने, त्यसैअनुसार निर्णय प्रक्रियालाई अगाडि लिएर जाने, पार्टीले सम्पूर्ण रूपमा संस्थागत ढंगले काम गर्ने, विधि उल्लंघन कतै पनि नगर्ने, आन्तरिक लोकतन्त्रको पूर्ण विकास गर्ने र राष्ट्रिय मुद्दाहरूको सवालमा पार्टीले स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सक्ने सन्देश जाने गरी नेतृत्व चयन गर्ने अवसर आएको छ । 

एलायन्सका क्रममा तपाईंहरूको प्राथमिकतामा मूल नेतृत्वमा दाबी बटमलाइन हो वा वा दोस्रो तहका नेताको व्यवस्थापन ?
मुख्य पद प्राप्ति गर्ने विषय प्रधान हो । तर, आफ्ना सहयोगीहरूलाई सँगसँगै लैजानुपर्छ । किनभने, नेतृत्व सही भयो भने पार्टीले आगामी निर्वाचनमा उपलब्धि हासिल गर्न सक्छ । जनतालाई आश्वस्त गर्न सक्छ । समग्र मुलुकको नेतृत्व गरेर पार्टीलाई सशक्त बनाउन सक्छ । सँगसँगै, महत्वपूर्ण कुरा के हो भने नेतृत्व एक्लै अघि बढ्न सक्दैन । उसले आफ्नो विचार, व्यवहार वा आफ्नो कार्यशैलीसँग सहमत हुने साथीहरूलाई सँगसँगै लैजान सक्यो भने सजिलो हुन्छ । तर, छलफलहरूमा कस्तो सहमति हुन्छ, त्यो बाँकी नै छ । मुख्य पद प्राप्त हुन पनि सक्छ, नहुन पनि सक्छ । अन्य पद प्राप्त हुन सक्ने स्थिति पनि बन्न सक्छ ।

हामीले हाम्रा विषय जनताका बीचमा स्पष्टसँग राख्न सकेका छैनौँ । विगतका त्रुटिलाई सच्याएर अगाडि बढ्न खोजेको सन्देश पनि दिन सकिरहेका छैनौँ । भविष्यका बारेमा आशावादी हुने गरी मुद्दाको उठान गर्न पनि सकेका छैनौँ । यी सबै कमजोरीको अन्त्य गरी चुस्त, दुरुस्त र सशक्त कांग्रेस निर्माणका लागि मेरो उम्मेदवारी हो ।

विचारसहितको नेतृत्व बनाउने र कांग्रेसलाई परिवर्तन गर्ने दाबी गरिरहनुभएको छ । तर, यहाँंको पुस्ता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले बोकिदिनुपर्ने अवस्थामा देखिन्छ । पुरानै नेतृत्वले कसरी नयाँ कांग्रेस बनाउँछ ?

हामी आमूल परिवर्तनको पक्षमा थियौँ भने नेतृत्वको दाबी हामीले नै गथ्र्यौं । हाम्रो उमेरसमूहका व्यक्तिले नै गर्ने स्थिति हुन्थ्यो । हाम्रो कमजोरी भनौँ वा आँट नभएको, मुख्य नेतृत्वमा कसैले दाबी गरेनौँ । बरु, हामी तल्लो तहमा जान खोज्यौँ । तल्ला पदहरूमा ‘सेट’ हुने भएपछि कहाँ सजिलो हुन्छ भन्नेतिर हेर्‍यौँ । यहाँ धेरै ढाँट्ने कुरै छैन । हामीले मुख्य पदमा दाबी गर्ने वा त्यसमा दाबी गरेर परिणाम प्राप्त गर्न सक्ने स्थिति छैन भन्ने हामीलाई लाग्यो र तलतिर ‘एड्जस्ट’ हुने बाटोतिर गयौँ ।

त्यसो भए यहाँहरूले उठाउँदै आउनुभएको कांग्रेस रूपान्तरणको एजेन्डा एडजस्टमेन्टकै लागि मात्र हो ? 
होइन । चौधौँ महाधिवेशनमा हामीले खोजेजस्तो पुस्तान्तरण हुने देखिँदैन । मेरो विचारमा त पुस्तान्तरण प्रधान विषय होइन । पुस्तान्तरणभन्दा वैचारिक रूपान्तरण महत्वपूर्ण पाटो हो । पहिलो पुस्ताले कांग्रेसलाई पूर्ण रूपमा रूपान्तरण गर्ने गरी विचारहरू बोकेर आयो भने त्यो जतिसुकै वर्षको होस्, उसले नेतृत्व गर्न पाउनुपर्छ । विचारसँग सापेक्षता नै छैन । तर, व्यक्ति अग्लो वा होचो, कालो वा गोरो अथवा महाधिवेशनको मैदानमा कतिवटा ब्यानर टाँगेको छ, कति धेरै प्रचार गरेको छ भन्ने आधारमा नेतृत्व चयन गर्ने विषय स्वाभाविक होइन । त्यसले बोकेर ल्याएको दस्तावेज कस्तो छ ? त्यो दस्तावेजभित्र सबै पुस्ताका मान्छेहरू जोडिएका छन्, छैनन् ?, समग्र नेपालीको मुद्दा त्यहाँभित्र अटाएको छ, छैन ?, हरेक विषयलाई सही ढंगले सम्बोधन गर्ने गरी त्यो दस्तावेज आएको छ, छैन ?, यी प्रश्नलाई हेर्नुपर्छ । अधिवेशनमा दस्तावेजको प्रतिस्पर्धा हुनुपर्ने हो । त्यसमा हामी चुकेका हौँ । यो महाधिवेशनमा गर्न नसके पनि यसपछिका अधिवेशनमा हामीले अभ्यासलाई बदल्न जरुरी छ । गुट निर्माणको यो प्रक्रियालाई बदल्न जरुरी छ । गुटहरू हुन्छन्, तर गुट निर्माणको जमिन विचार, दस्तावेज र कार्यशैली हुनुपर्छ । त्यस कारण हाम्रा गुट निर्माण प्रक्रिया पनि स्वाभाविक छैनन् । अधिवेशनमा प्रतिस्पर्धा गर्ने अभ्यास पनि स्वाभाविक छैनन् । यसलाई बदल्ने विषय यो अधिवेशनमा व्यापक रूपमा खड्किएको छ । तर पनि हामीले परम्परागत शैलीमा नै प्रतिस्पर्धा गरिरहेका छौँ । त्यस कारण पुस्तान्तरणको विषयमा भन्दा पनि वैचारिक रूपान्तरणको विषय प्रधान हो ।

यहाँले अहिले भन्दै गरेका एजेन्डा अघि बढाउने गरी कांग्रेसले आगामी नेतृत्व पाउँछ भन्नेमा यहाँ कति विश्वस्त हुनुहुन्छ ?
म यो भन्न सक्छु कि यो महाधिवेशनपछि बन्ने कांग्रेसले बहसलाई बढी खुला गर्नेछ । किनकि, पुस्तान्तरण नै नभए पनि पुस्ताहरूको समीकरण वा समायोजन हुने स्थिति बन्छ । विभिन्न पुस्ता एकै ठाउँमा जम्मा हुने स्थिति बन्दै छ । दृष्टिकोणहरू फरक–फरक आउँदै छन् । त्यसले पार्टीभित्र बहसलाई निम्त्याउँछ । पार्टीलाई रूपान्तरण गर्न चाहने थुप्रै व्यक्तिको उपस्थिति पार्टीमा हुनेछ । अब बन्ने केन्द्रीय समिति पार्टीलाई सही ठाउँमा ल्याउने गरी गठन हुनेछ भन्ने मेरो विश्वास छ । विभिन्न पुस्ताले केन्द्रीय समितिमा उपस्थिति पाए भने तमाम नयाँ विषयहरू तल्लो तहमा पुग्नेछन् । आकार ठूलो हुने भएकाले सबैको प्रतिनिधित्व हुन स्थिति बन्छ । कांग्रेस तहगत संरचनामा समावेशी हुने र केन्द्रीय समिति पनि त्यहीअनुसार बन्ने स्थिति बन्छ । त्यसैले पूर्ण रूपमा हामीले अपेक्षा गरेजस्तो उत्साह नभए पनि निराश बन्ने स्थिति आउँदैन ।

राजनीतिमा विचार स्खलित हुँदै गएको सत्य हो । त्यसको प्रभाव हाम्रो पार्टीमा पनि परिरहेको छ । पार्टीको दार्शनिकी एक किसिमको हुन्छ, तर त्यो पार्टीका नेताहरूले गर्ने निर्णयहरूको सन्देश अर्कै हुन्छ । त्यसैले विचारसँग नजोडिएर पार्टी सञ्चालन गर्ने कुरा स्वाभाविक हुन सक्दैन । यद्यपि, यो अभ्यासलाई हामीले १४औँ महाधिवेशनमै बदल्न सक्ने स्थिति छैन ।

यहाँहरूको पुस्ताले आँट नगरे पनि लामो समय खर्च गरेका अरू धेरै नेता कांग्रेसमा छन् । तर, मूल नेतृत्वमा तिनले पनि दाबी गर्ने आँट किन नगरेका होलान् ?

नेपाली कांग्रेस पुरानो पार्टी हो । यो पार्टी जन्माउने र विभिन्न आन्दोलनमा असाध्यै दुःख गरेका नेताहरू यहीँ हुनुहुन्छ र ०४७ सालले जन्माएका हामी पनि यहीँ छौँ । त्यसैले निरन्तरताका आधारमा कसैलाई विस्थापन गर्ने स्थिति छैन । विचार र कार्यशैलीका आधारमा नेतृत्वमा पुग्नुपर्ने अवस्था छ । मूल नेतृत्वको चाहना राख्नेले सिंगो पार्टीलाई तरंगित बनाउन सक्नुपथ्र्यो । हाम्रा नेताहरूले आन्दोलनका सन्दर्भमा नेतृत्व गर्नुभयो । आन्दोलनपछाडि त्यसलाई संस्थागत गर्ने वा देशमा समृद्धि ल्याउने सवालमा नेतृत्व सही ढंगले कामयाव हुँदैन भन्ने जान्दाजान्दै पनि विचार, योजना र कार्यक्रममा विकल्प आएन । आफैँमा रूपान्तरण गर्न सकेनन् । तल्लो तहका कार्यकर्तालाई विचार धारिलो बनाउँछौँ भनेर विश्वास दिलाउन सकेनौँ । हो, अघिल्लो नेतृत्वलाई आन्दोलन, त्याग, तपस्याका हिसाबले उछिन्न सकिन्नथ्यो । तर, विचार र कार्यशैलीले त उछिन्न सकिन्थ्यो नि । चेतनाको विकासका दृष्टिले सकिन्थ्यो नि । सबै त्यहाँ पनि चुके । जसका कारण यो महाधिवेशनमा नेतृत्व तहमा हस्तक्षेप हुन सकेन ।

कांग्रेसको मूल नेतृत्व चयनमा ‘बाह्य शक्ति’को पनि सरोकार रहेको सुनिन्छ । किन त्यस्तो भनिएको होला ?
कांग्रेसको नेतृत्व चयनमा बाह्य शक्तिको रुचिले काम गर्नै सक्दैन । किनभने, हाम्रा विभिन्न तहका अधिवेशनबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिले नेतृत्व रोज्ने हो । हामीले प्रक्रियागत ढंगले अधिवेशनलाई अगाडि बढाएकाले कसैको चाहनाले वा हस्तक्षेपले असर पर्ने देखिन्न । कुनै अमूक नेताले ‘तँ प्रतिनिधि हो, तँ होइन’ भनेर छानेको होइन । प्रक्रियाबाटै कसैले जितेर आएको छ भने त्यसलाई हस्तक्षेप भन्न मिल्दैन । 

१३औँ महाधिवेशनमा सिटौला समूह निर्णायक बनेको थियो । यसपटक तल्ला तहका अधिवेशन सकिएपछि तपाईंहरूले आफ्नो मूल्यांकन अवश्य गर्नुभएको होला । कति निर्णायक हुन सकिन्छ भन्ने लागेको छ ?
त्यो महाधिवेशनबाट आउने नतिजापछि थाहा हुन्छ । हामीले दाबी गरेर मात्रै हुँदैन । हामी स्वयं नेतृत्वमा पुग्न पनि सकिन्छ, निर्णायक हुन पनि सकिन्छ । तल्ला तहका अधिवेशनका आधारमा अनुमान मात्रै गर्न सकिन्छ । महाधिवेशनमा त देशैभरका साथीहरूको भेटघाट र छलफल हुन्छ । त्यसले फरक अवस्था सिर्जना हुन सक्छ । तलका तहको भन्दा फरक नतिजा पनि आउन सक्छ ।

महामन्त्री पदमा दाबी गरिरहनुभएको छ । दाबी मात्रै हो वा जित्ने आधार पनि छन् ?
म उमेर र विचारका हिसाबले अहिलेको पुस्तासँगै र अनुभवका हिसाबले अगाडि छु । अहिलेको युवापुस्ताले गरेको अपेक्षा म पूरा गर्न सक्छु । किनभने, म युवा संगठनकै नेतृत्व गरेर यहाँसम्म आइपुगेको हुँ । तिनै युवा साथीहरूले विश्वास गरेर मैले यो उचाइ बनाएको हुँ । युवाका कार्यशैलीसँग मिल्दोजुल्दो छु । युवाका विषयवस्तुको प्रतिनिधित्व गरेर उठाउन सक्छु । नीति निर्माण तहमा पुगेर योगदान गर्न सक्छु । अब पार्टीमा वैचारिक रूपान्तरण हुनुपर्छ । व्यवहार र कार्यशैली बदलिनुपर्छ । पार्टी संस्थागत ढंगबाट अघि बढ्नुपर्छ । विधि–विधान नै प्रधान हुनुपर्छ ।

राष्ट्रिय मुद्दामा पार्टी प्रस्ट हुनुपर्छ । यी तमाम विषयहरू पछिल्लो समय मैले प्राप्त गरेका पार्टीका जिम्मेवारीहरू पूरा गर्ने क्रममा अनुभूत गरेको छु । पार्टीका विभिन्न तहमा रहेका समस्याहरू के हुन् र तिनको समाधान के हुन सक्छ भन्नेमा म स्पष्ट हुने अवसर पाएको छु । अहिले नै पनि ती समस्या समाधान गर्न मेरो भूमिका के–कस्तो रह्यो भन्ने विषयमा आम प्रतिनिधि साथीहरू स्पष्ट नै हुनुहुन्छ । त्यसैले मैले वैचारिक रूपान्तरणका लागि मेरो उम्मेदवारी हो भनेको छु । नेपाली कांग्रेस कुनै पनि विषयमा अस्पष्ट हुनुहुँदैन । अहिले कांग्रेस पार्टी विचार नै नमिल्नेसँग एलायन्स बनाएर निर्वाचन जित्न सकिएला ।

जससँग कुनै तादात्म्य नै मिल्दैन, उसैसँग मिलेर चुनाव लड्ने, जित्नेले केही तात्विक  भिन्नता राख्दैन । निर्वाचनमा विचार बोकेर प्रतिस्पर्धा गर्ने हो । चुनाव जितिन्छ भनेर फरक विचार भएकासँग एलायन्स गर्ने होइन । त्यसैले आज भइरहेको प्रतिस्पर्धामा हामी साम्यवादी विचार भएकासँग पराजित भइरहेका छौँ । त्यो सन्दर्भमा हामीले हाम्रा विषय जनताका बीचमा राख्न सकेको अवस्था छैन । विगतमा भएका त्रुटिलाई सच्याएर अगाडि बढ्न खोजेको सन्देश दिन सकिरहेका छैनौँ । भविष्यका बारेमा आशावादी हुने गरी हामीले मुद्दाको उठान गर्न सकेका छैनौँ । यी सबै कमजोरीको अन्त्य गरी चुस्त, दुरुस्त र सशक्त कांग्रेस निर्माणका लागि मेरो उम्मेदवारी हो । मेरो जितको आधार यिनै एजेन्डा हुन् ।

 

ad
ad